डीपीएलका लागि ६ टिमले किने ७२ खेलाडी «

डीपीएलका लागि ६ टिमले किने ७२ खेलाडी

दोस्रो चरणको रुस्लान धनगढी प्रिमियर लिगको बुधबार राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन् ।
प्रत्येक टिमले १२–१२ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्र्याएका छन् । प्रत्येक टिमलाई १२ खेलाडी आवद्ध गर्न दिइएको उच्चतम ११ लाख रुपैयाँ मूल्यमा विराटनगर किंग्सले सबैभन्दा बढी ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ भने सिवाइसी अत्तरियाले सबैभन्दा कम ७ लाख २० हजार खर्च गरेको छ ।
ए श्रेणीका १६ मध्ये १२ खेलाडी बिक्री भएका छन् भने ४ खेलाडी बिक्न सकेनन् । ए श्रेणीका ४ खेलाडी सबैभन्दा महँगा भएका छन् । महँगा खेलाडीमा अलराउन्डर सागर पुन, तीव्र गतिका बलर करण केसी, स्पिनर बसन्त रेग्मी र अलराउन्डर मोहम्मद आरिफ शेख छन् । 
आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर पुन सर्वाधिक महँगा खेलाडीका रूपमा अनुबन्धित भए । उनीहरू सबै नै १ लाख ५० हजार रुपैयाँमा अनुबन्धित भएका हुन् ।
वसन्तलाई विराटनगर किंग्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रुपेन्देही च्यालेन्जर्सले खरिद गरेको छ । यस्तै, पृथु बास्कोटालाई विराटनगरले र नरेश बुढाऐरलाई काठमाडौंले १ लाख २० हजारमा अनुबन्धित गरेको छ । यस्तै, विराटनगरले पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल तथा दीलिप नाथलाई १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने सुबोध ऐर २५ हजारमा तथा अविनाश बोहरा र पुरन बिकेलाई विराटनगरले ५० हजारमा अनुबन्ध गरेको छ ।
यस्तै, सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई १–१ लाखमा तथा सन्दीप जोरालाई ९० हजार, सुवास खकुरेललाई ८० हजार र प्रेम तामाङलाई ५५ हजारमा अनुबन्धित गरेको छ ।
काठमाडौं गोल्डेन्सले ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतोलाई १–१ लाखमा अनुबन्ध ग¥यो भने सन्तोष भट्टलाई ९५ हजार, रसिद खानलाई ५५ हजारमा टोलीमा समावेस गरेको छ ।
महेन्द्रनगर युनाइटेडले हरिशंकर साहलाई ९५ हजार, अविनाश कर्णलाई ८० हजार तथा प्रनित थापामगरले ६५ हजार भाउ लगाउँदै टोलीसँग अनुबन्ध गरेको छ भने रुपेन्देही च्यालेन्जर्सले विक्रम भुषाललाई १ लाख, जितेन्द्र मुखियालाई ९० हजार तथा प्रदिप ऐरीका लागि ८० हजारमा अनुबन्धित गरेको छ ।
टिम चौराहा धनगढीले ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की र सोनु तामाङलाई समान १ लाखमा, राजेश पुलामी मगरलाई ८० हजार तथा शंकर रानालाई ५५ हजार रुपैयाँमा आफ्नो टोलीसँग आवद्ध गरेको छ ।
विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था रहेकोमा अब विदेशी बाहेक अन्य खेलाडी टिममा आवद्ध भएका छन् ।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्