Logo

सुरक्षित पुँजीको असुरक्षित गन्तव्य

सुरक्षित पुँजीयोग्य वातावरणको विकास त्यस्तो व्यावहारिक पक्ष हो, जसमा निक्षेप सुरक्षाका अवधारणाहरू समाविष्ट रहनुका अतिरिक्त वित्तीय संघ–संस्थालगायतमा रहेका जिम्मेवार नेतृत्वदायी समूहले सम्बद्ध क्षेत्रमा रहेको पुँजी सुरक्षाका खातिर चालिएका प्रभावित प्रतिबद्धताहरू निश्चित रूपमा प्रतिविम्बित भएको पाइन्छ ।

सुरुवाती अवस्थामा वित्तीय समूहमा रहन आएको पुँजीलाई सुरक्षित रूपमा अभिवृद्धि गर्न ठूला लगानीकर्ताको सट्टा साना लगानीकर्तालाई मुख्य केन्द्रबिन्दुमा राखी तदनुरूपको उद्देश्य प्राप्तिका लागि सम्बन्धित संस्थाविशेषले विभिन्न प्रकारका आकर्षक कार्ययोजना विकासलाई विस्तार गर्दै गतिमय बनाएकै कारण निक्षेप सुरक्षाका अतिरिक्त व्यवसाय सुरक्षामा समेत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने सम्भावना विकासलाई पुँजी सुरक्षात्मक दृष्टिकोणबाट पृथक् राखेर अवश्य पनि हेर्न मिल्दैन ।

परिणामतः निक्षेप सुरक्षा केही हदसम्म ब्याज सुरक्षासँग सम्बन्धित रहेको हुन्छ । तसर्थ, ब्याजदर सीमाको अनुपातमा यस क्षेत्रमा सुरक्षित लगानीको प्रतिफल प्राप्त हुनेछ अथवा बहिर्गमनको अवस्थालार्ई आत्मसात् गर्दै अन्यत्र पलायनजन्य पृष्ठभूमि तयार हुने अवस्थालाई वित्तीय निक्षेपको असुरक्षित यात्रासमेत मान्दा त्यति फरक नपर्ला ।

हुन त सुरक्षित निक्षेपमा ब्याज प्रदान गरिनु हुँदैन भन्ने बुझाइ नरहेको पनि होइन । उपर्युक्त मान्यतालाई आत्मसात् गर्दै वित्तीय सुरक्षात्मक रणनीति नै तत्सम्बन्धी सुरक्षाको प्रत्याभूतिसमेत हो भन्ने तथ्य सम्बद्ध क्षेत्रमा कायम रहँदै आएको छ । यिनै तथ्यलाई आधार बनाएर ब्याजदरको सीमा बेलाबखत फेरबदल हुँदै आएको हो भन्न सकिन्छ । यद्यपि सामान्यतया तीन प्रकारका निक्षेपलाई वित्तीय समूहले आफ्नो मातहतमा राख्दै व्यवसाय विस्तार गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय सैद्धान्तिक धरातललाई हामीले कुनै पनि हालतमा बिर्सन मिल्दैन ।

यसै सन्दर्भमा पुँजी सुरक्षाको अर्को रूपमा व्यवसाय सुरक्षालाई पनि लिन सकिन्छ । व्यवसाय विस्तारको सन्दर्भमा कर्जाको महत्वलाई न्यून मूल्यांकन गर्न कदापि पनि मिल्दैन । बृहत्तर आकारको व्यवसाय विस्तारका लागि ठूलै पुँजीको आवश्यकता पर्छ भने अवस्था हेरी न्यून वा मध्यम स्तरको पुँजीका लागि सोही अनुपातमा कर्जाको लागतसमेत रहने तथ्यगत विशेषतासँग तत्सँग सम्बन्धित हरेक पक्ष निश्चित रूपमा नै चिरपरिचित रहँदै आएका छन् ।

कर्जा सुरक्षा पनि पुँजी सुरक्षाको विस्तारित रूप हो भन्दा त्यति अतिशयोक्ति नहोला । किनकि निर्धारित कर्जाको भविष्य धितोमा अन्तर्निहित रहेको हुन्छ । विशेषतः जमिन जायजातलाई सुरक्षित धितो पुँजीका रूपमा वित्तीय समूहले लिने गरे तापनि न्यून मूल्यांकन वा कमसल धितो नै कर्जा सुरक्षाको क्षेत्रमा समस्याका रूपमा रहँदै आएको देखिन्छ । धितोगत पुँजीका अन्य स्वरूपमा बहुमूल्य धातु सुन आफ्नो भिन्नै पहिचान बनाउन सक्षम छ ।

किनकि सुनमा तत्कालीन बजार मूल्यलाई समायोजन गर्न सक्ने वैकल्पिक क्रयशक्ति विद्यमान रहेकै कारण कर्जागत पुँजी सुरक्षामा सुनले नगदसरहको मान्यता हासिल गरेको हो भन्दा हामीहरू कसैको पनि भिन्न मत नरहला । तथापि अकल्पनीय अवस्थामा हुने गरेको सुनको बजार मूल्यको उतारचढावले पुँजीगत कर्जामा समेत आर्थिक भूकम्पीय कम्पनको अवस्था तयार नगर्ला भनेर सहजै अनुमान लगाउन अत्यन्त कठिन विषयसमेत हो । त्यसैले बजार मूल्यप्रति चनाखो रहँदै कर्जा प्रवाह गर्नु आर्थिक सैद्धान्तिक दृष्टिकोणबाट लाभप्रद हुने देखिन्छ । यसका अतिरिक्त कर्जागत पुँजीको जोखिम न्यूनीकरणमा प्रतीतपत्रलाई समेत समावेश गरिँदै आएको छ ।

जसले व्यवसायीहरूको बीचमा वित्तीय समूहलाई मध्यस्थकर्ताको रूपमा उभ्याउँदै व्यवसाय सुरक्षाको सुनिश्चितता प्रदान गर्नेछ । अब प्रश्न उठ्छ, किन पुँजीगत कर्जा तथा निक्षेप सुरक्षाको आवश्यकता पर्‍यो त ? पुँजीगत कर्जा तथा निक्षेप सुरक्षाको ग्यारेन्टी तयार नभएसम्म सम्बद्ध क्षेत्रमा सुरक्षाको अवस्था शून्यताउन्मुख रहन जाने तथ्यगत आर्थिक सूत्रधारले प्रतिविम्बित गर्दै आएको पाइन्छ । सैद्धान्तिक तवरबाट अध्ययन गर्दा पनि शून्यताको अवस्थामा व्यवसायको विस्तार तथा मुनाफाको अभिवृद्धि रहने हो, आर्थिक सिद्धान्तका हरेक विषयगत बुँदा असफल रहनेबाहेक अर्को कुनै अर्थपूर्ण आर्थिक लाभ हासिल हुन सक्दैन भन्दा त्यति अशोभनीय नहोला ।

अतः स्थिर पुँजीको तुलनामा चलायमान पुँजीले उचित प्रतिफल दिने हुँदा सुरक्षा जोखिमको मात्रा पनि चलायमान पुँजीमा नै अधिक रहने गर्छ । प्रस्तुत तथ्यलाई आधार मान्दै पुँजीको सुरक्षा नै व्यक्तिगत, वित्तीयगत तथा व्यवसायगत सुरक्षाको महत्वपूर्ण कडी हो भन्न सकिन्छ । तत्सम्बन्धी सुरक्षा संवेदनशीलताको महत्तालाई आत्मसात् गर्दै आवश्यकतानुसारको आर्थिक सुरक्षात्मक रणनीतिलाई राज्यव्यवस्थालगायत सरोकारवाला अन्य निकायले समयानुकूल सुरक्षाका विविध उपायलाई पुनर्ताजगीकरण, परिमार्जन तथा खारेजी आदि इत्यादिलाई आत्मसात् गर्दै व्यवहारतः लागू गर्ने प्रतिबद्धता जाहेर हुनु अत्यन्त जरुरी हुन्छ । विपरीत अवस्था तयार भई आर्थिक सरोकारको क्षेत्रमा प्रस्तुत अवस्था कायम रहन नसक्ने हो भने पुँजीगत सुरक्षाको जोखिम बढ्न गई सम्बद्ध क्षेत्रको असुरक्षित यात्राको बहिर्गनमलाई कुनै पक्षले चाहेर पनि रोक्न सक्नेछैनन् भन्दा फरक नपर्ला, जसबाट पार पाउनका लागि अनावश्यक खर्च लागतमा मितव्ययी रहँदै निक्षेप तथा कर्जालाई थप सुरक्षित बनाउनु समयको माग हो ।

लगानीजन्य कार्य गर्दा प्रतिफललाई आकलन गरेर मात्र लगानी विस्तार गर्दा कर्जाको भविष्य उज्ज्वल रहनुका साथै मुनाफायोग्य वातावरणको विकास गर्न सहयोग पुग्ने अपेक्षा राख्न सकिनेछ, जसका लागि खराब कर्जाको प्रभावलाई न्यून गर्दै प्रतिफलयुक्त पुँजीगत कर्जा विकासको अवधारणालाई आत्मसात् गर्दै व्यवसायमा प्रतिस्थापन गर्ने हो भने सुरक्षित पुँजीको असुरक्षित यात्रालाई स्थानान्तरण गर्दै व्यवसायको भविष्य अभिवृद्धि गर्ने अवस्था प्रारम्भ हुने देखिन्छ, जसले लगानीयोग्य पुँजीवृद्धिको दरलाई अंकगणितीय सैद्धान्तिक धरातलमा आधारित नभई गुणोत्तर वृद्धिदरको मापन विधि अपनाएर आशातीत आर्थिक सफलताको दरमा सर्वश्रेष्ठ नतिजा हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ, जसलाई पुँजीगत सुरक्षाको विधिशास्त्रीय आर्थिक नमुनाको अब्बल कसीसमेत मान्दा त्यति फरक नपर्ला ।

किनकि मुनाफायोग्य पुँजीको वृद्धिले लगानीको सुन्दर भविष्यका साथै समयमा नै कर्जा चुक्ता गर्ने संस्कृतिलाई बढावा दिने भएकाले पुँजीको असुरक्षालाई सुरक्षित गन्तव्यतर्फ अवतरण गराउन यस प्रकारका कार्यको निर्णायक भूमिका रहने तथ्यहरूले औंल्याउँदै आएको पाइन्छ, जसका लागि दीर्घकालीन वित्तीय स्थिरताको आवश्यकतालाई अन्यथा लिन मिल्दैन ।

स्थिरताको अभावमा आर्थिक अराजकतायुक्त वातावरणको विकासले पुँजीगत लगानीयोग्य सम्भावना विकासलाई बिथोल्ने भएकै कारण सुरक्षित पुँजीगत अवधारणाहरू सम्भावित असुरक्षाको भयावहतातर्फ अग्रसर रहने हुँदा प्रतिफल प्राप्तिको क्षेत्रमा समेत ऋणात्मक परिवेशको सिर्जना हुने यस क्षेत्रका जानकारहरूको बुझाइ रहँदै आएको पाइन्छ । तसर्थ व्यवसाय विस्तारको सन्दर्भमा तदनुरूपको पुँजी विकासको अवधारणाले मात्र व्यवसायलाई सफलताको मार्गमा पदार्पण गराउँदै मनग्य मुनाफा आर्जन गर्ने अवस्था तयार पार्नेछ, जसले चलायमान पुँजी अभिवृद्धि गर्दै प्राप्त विकास योजनालाई वास्तविक प्रतिफल हासिल गर्ने मार्गमा अगाडि बढ्न मद्दत पुर्‍याउने देखिन्छ ।

समयमा नै प्रतिफलयोग्य पुँजीको सही मूल्यांकन–आकलन नगरीकन व्यवसाय विस्तार गर्ने असक्षमताको प्रदर्शनले निर्धारित समयमा विकास निर्माणको कार्य पूरा गर्न अवरोध उत्पन्न भई जरिवाना तिर्नु–बुझाउनुपर्ने असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । जुन अपरिपक्वता तथा अदूरदर्शिताका कारण निम्तिएको गलत व्यावसायिक अभ्यासको परिणाम हो भनेमा त्यति फरक नपर्ला । तसर्थ सम्बद्ध क्षेत्रमा पूर्ण सफलता प्राप्तिका लागि अवसरहरूको प्रभावकारिता देख्नेबित्तिकै त्यसलाई यथार्थमा परिणत गर्न सक्ने सामथ्र्य जुन व्यवसाय वा व्यक्तिसँग रहन्छ सोही समूहले नै सुरक्षित पुँजीको जगेर्ना गर्दै अपार सफलता हासिल गर्न कुनै पनि प्रकारको कठिनाइको सामना गर्नुपर्नेछैन ।

तसर्थ, सुरक्षित पुँजीको सूत्रधारलाई पहिल्याउँदै मुनाफा एवं व्यवसाय बापत तिर्नु–बुझाउनुपर्ने राज्यगत राजस्वका दरलाई समेट्न सक्ने व्यावसायिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै तत्सम्बन्धी कार्ययोजनालाई व्यवहारमा उतार्ने प्रयास गरौं, जसमा केही हदसम्म बिक्रीको मात्रा एवं ग्राहक दरले पनि मुख्य भूमिका खेल्ने हुँदा समयमै हेक्का राखी कार्य गर्नु सुरक्षित गन्तव्यलाई पहिचान गरेसरहको अवस्था हो ।

जसका लागि परम्परागत व्यवसायको विस्तारलाई क्रमशः रूपान्तरण गर्दै स्मार्ट अवधारणागत व्यवसायलाई आत्मसात् गर्न सक्नुपर्छ, जुन आजको व्यावसायिक यात्रासमेत हो । स्मार्ट लगानी नै नयाँ सोचको उपजसमेत भएको हुँदा व्यावसायिक तथ्यांक एवं सो अन्तनिर्हित समयसूचीलाई कार्यतालिकाभित्र समाहित गर्दै सुरक्षित व्यावसायिकतातर्फ अग्रसर हुने प्रयासलाई सदैव जारी राखौ ।

परिणामतः सुरक्षित पुँजी निर्माणका लागि सबैभन्दा महत्वपूर्ण विषयगत बुँदाहरूमा व्यवसायप्रतिको ज्ञानलाई लिन सकिन्छ । किनकि अल्पज्ञानी महाज्ञानी भन्ने नेपाली उखानलाई आधार मान्दै व्यावसायिक यात्रा प्रारम्भ गर्दा सुरक्षित पुँजीको गन्तव्य असुरक्षाको गहिरो खाडलमा धसिन गई व्यापार घाटा उन्मुखतातर्फ अग्रसर रहनुका साथै पुँजीयोग्य कर्जाको अवधारणामा बाधा उत्पन्न भई वित्तीय समूहसँगको आपसी सम्बन्धमा कटुता उत्पन्न हुनेछ । तसर्थ सम्बद्ध क्षेत्रको औचित्य प्रमाणित गर्दै अनुमानमा भन्दा अनुसन्धानपश्चात् प्राप्त भएका नतिजामुखी तथ्यप्रमाणलाई व्यवहारतः आत्मसात् गर्दै अगाडि बढ्दा अझ बढी सफल रहँदै पुँजी सुरक्षाको क्षेत्रमा एक कदम अगाडि बढ्न मद्दत पुग्ने अवस्था प्रारम्भ हुनेछ भन्दा हामी कसैको पनि दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस्