मविरुद्ध भ्रम फैलाउन खोजियो : डा.केसी «

मविरुद्ध भ्रम फैलाउन खोजियो : डा.केसी

प्राध्यापक डा. गोविन्द केसीले आफूविरुद्ध भ्रम फैलाउन खोजिएको भन्दै आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजानिक गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्नो बारेमा आएको समाचार भ्रामक भएको पनि बताए ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रमा फरक फरक जन्म मिति रहेको भन्दै प्रश्न उठाउँदै आएका केसीको प्रमाणपत्रमा पनि जन्ममिति फरक फरक भएको समाचार बाहिर आएपछि उनले सोबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफूमाथि छानबिन गर्न आग्रह गर्दै सेवा दिन अयोग्य देखिए पदबाट राजिनामा दिने घोषणा गरे ।
पत्रकार सम्मेलनमा उनले आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ रहेको बताए । चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गतेको जन्ममिति रहेको भने उनले स्विकार गरे । “चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिले सेवा दिन असक्षम भए तत्काल राजीनामा दिन्छु । के अहिलेका विवादास्पद प्रधानन्यायाधीश पराजुलीले पद छाड्न सक्छन् ?” उनले प्रश्न गर्दै भने, “त्रिविमा मैले नागरिकता बुझाएको छु । आवश्यक कागजात सबै बुझाएको छु । नागरिकता बिना जागिर खान पाइन्छ र ? ” उनले आफूविरुद्ध भ्रम फैलाउन त्रिभुवन विश्वविद्यलयका उपकुलपति तीर्थ खनियाले नै डिजाइन गरेको आरोप पनि लगाए ।
“मेरो जन्ममिति २०१३ माघ २४ हुँदा सेवा अवधि बढ्न सक्थ्यो । तर, त्रिविको अन्तिम बढुवा प्रयोजनमा असोज २७ को मिति राखेको छु । यो अनुसार त मेरो सेवा अवधि घट्छ । त्यसैले मानवीय त्रुटि भएको प्रष्ट छ,” उनले भने । प्रधानन्यायाधीश पराजुलीलाई पनि आफंैजसरी खुला रुपमा प्रस्तुत हुन पनि केसीले चुनौति दिए ।

 

प्रतिक्रिया दिनुहोस्