Logo

लमजुङ–मनाङ सडक कालोपत्रेसहित स्तरोन्नतिको तयारी

लमजुङ– हिमाली जिल्ला मनाङ प्रवेशका लागि एकमात्रै बेसीशहर–चामे सडक कालोपत्रेसहित स्तरोन्नति गर्ने तयारी भएको छ । हिउँदमा हिउँ र वर्षात्मा बाढी पहिरोका कारण वर्षेनी जोखिममा रहेको सडकलाई चालु आर्थिक वर्षदेखि नै स्तरोन्नति गर्ने तयारी भएको हो । मनाङ प्रवेश गर्ने एउटैमात्र सडक जोखिमपूर्ण हुँदा वर्षेनी स्थानीयले दुःख पाएको भन्दै सडक स्तरोन्नतिको कामलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले बताए ।

नेपाल सरकार र अन्य सरोकारवाला निकायसँगको साझेदारीमा सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि प्रक्रियाअघि बढेको सांसद गुरुङको भनाइ छ । पक्की सडक निर्माणका लागि बेसीसहर चामे सडक योजनासँगै मनाङमा निर्माणाधीन जलविद्युत आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । मनाङमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये सडक विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक सहकार्य गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङदी जलविद्युत आयोजना तयार भएको छ ।

आयोजना निर्माणका लागि पनि सडक स्तरोन्नति आवश्यक रहेको भन्दै सरकारको काममा आयोजनाको तर्फबाट सक्दो सहयोग गर्ने सो आयोजनाका उप महाप्रबन्धक प्रतिकमान सिंह प्रधानले बताए । ‘सडक विस्तार एवं स्तरोन्नतिका विषयमा केही कानुनी जटिलता छन्,’ प्रधानले भने, ‘नीतिगत रूपमा सहजीकरण भयो भने हामी सहकार्य गर्न तयार छौँ ।’

भौगोलिक विकटतासँगै सांँघुरो र पहिरोको जोखिममा रहेका सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम ठाउँमा ढलान र अन्य स्थानमा कालोपत्रे गर्ने तयारी छ । हिउँद र वर्षा सबै समयमा साना तथा ठूला सवारीसाधन सहजै दोहोरो आवतजावत गर्न सक्नेगरी सडक विस्तारको तयारी भएको बेसीशहर चामे सडक योजनाका निमित्त प्रमुख इन्जिनियर किरण पोख्रेलले बताए ।

सडक स्तरोन्नतिका लागि कार्यालयको तर्फबाट निरन्तर प्रयास हुँदै आएको र अन्य निकायले पनि सहकार्य गर्न तयार भएको अवस्थामा नितिगत व्यवस्थापनमा सहजीकरण गर्ने इन्जिनियर पोख्रेलको भनाइ छ । ‘हामीले सडक स्तरोन्नतिको काम सुरु गरिसकेका छौँ, सरकारको बजेट र भौगोलिक विकटताले हाम्रो मात्रै प्रयासले समय लाग्न सक्छ,’ पोख्रेलले भने, ‘सडक निर्माणका लागि जलविद्युत आयोजना सहकार्य गर्न आएमा हामी त्यसका लागि सहजिकरण गर्न तयार छौँ ।’

सडक स्तरोन्नतिका क्रममा भौगोलिक विकटतासँगै सडक खण्डअन्तर्गतका केही बस्तीमा पनि प्रभाव पर्ने देखिन्छ । खासगरी लमजुङ खण्डको स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङ खण्डमा धारापानी गाउँका केही बस्ती सडक विस्तारको क्रममा प्रभावित हुने देखिएको छ । स्थानीय तहको समन्वयमा धारापानीका बासिन्दाले भने सडक विस्तारका लागि अवरोध नगर्ने सहमति गरिसकेका छन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि सांसद गुरुङकै पहलमा सरोकारवाला निकायका प्रतिनिधिसँगै स्थलगत अनुगमन भएको छ ।

सांसद गुरुङको नेतृत्वमा गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजङ गुरुङ सडक डिभिजन कार्यालय दमौली, डुम्रे बेसीसहर चामे सडक योजनाका प्रमुख, मनाङमा निर्माणाधीन मस्र्याङदी जलविद्युत आयोजनाको प्रतिनिधि, मनाङका सुरक्षा निकाय, स्थानीय तह जनप्रतिनिधिसहित बेसीसहरदेखि मनाङको चामे गाउँपालिकाअन्तर्गत तिमाङ झरनासम्मको सडक निरिक्षण भएको हो । हिमालपारिको जिल्ला मनाङ प्रवेश गर्ने एकमात्र सडक जोखिमपूर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । हिँउदमा हिउँ र वर्षामा बाढीका कारण दर्जनौ स्थानमा सडक अवरुद्ध हुँदा मनाङका जनताले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

जिल्ला प्रवेशका लागि वैकल्पिक मार्गसमेत नभएको र एउटैमात्र लमजुङ–मनाङ सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरूले हैरानी भोग्नुपरेको हो । लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म पुग्नकै लागि पनि दर्जनौ स्थानमा जोखिम मोलेर सवारीसाधन आवातजावत हुँदै आएका छन् । चालु आर्थिक वर्षमा बेसीसहरदेखि खुदीसम्म करिब ८ किलोमिटर सडक कालोपत्रे भए पनि अझै सो सडक खण्डअन्तर्गत अधिकांश सडक जोखिमपूर्ण रहेको छ ।

मनाङको विकास र समृद्धिका लागि सडक अनिवार्यः सांसद गुरुङ
मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले मनाङको विकास, समृद्धि र मनाङे जनताको खुसीका लागि सडक अनिवार्य भएको बताएका छन् । वर्षेनी हुने सडक अवरोध र जोखिमका कारण मनाङे जनताले सास्ती पाएको भन्दै सांसद गुरुङले सडक नबन्दासम्म मनाङको थप विकास कल्पना गर्न नसकिने बताए ।

‘भौगोलिक विकटताको बाबजुद पनि मनाङ आफैमा प्रशस्त स्रोत र सम्भाव्यता भएको जिल्ला हो,’ सांसद गुरुङले भने, ‘जिल्लाको स्रोत र सम्भाव्यताको प्रयोग एवं परिचालनका निम्ति सडक मुख्य समस्या रहेको छ, यसलाई छिट्टै समाधान गरिनुपर्छ ।’ सांसद गुरुङले स्थलगत अवलोकनका क्रममा सडक विस्तार एवं मनाङको विकास निर्माणका सन्दर्भमा मनाङको ताल गाउँ, धारापानी गाउँलगायतका स्थानीयसँग छलफल एवं परामर्श पनि गरेका छन् ।

सडक प्रभावित क्षेत्रका स्थानियसँगै कुरा गर्दै सांसद गुरुङले निकट भविष्यमा ठोस परिणाम ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘पहिला सडक बन्नुपर्छ, जसरी पनि बन्नु पर्छ,’ सांसद गुरुङले भने, ‘सडक राम्रो भयो भने मनाङका स्थानीय मात्रै हैन मनाङमा हजारौँ पर्यटकको आगमन पनि बढ्ने छ ।’ मनाङको मुख्य पेशा पर्यटन र कृषि हो । सडक अवरोधकै कारण मनाङमा पर्यटन व्यवसाय पनि प्रभावित हुँदै आएको भन्दै मनाङे जनताको हितका निम्ति जसरी पनि सडक स्तरोन्नतिको कामलाई सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको सांसद गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्