बाढीले बन्द माथिल्लो तामाकोसी १७ घण्टापछि सुचारु
दोलखा– नदीमा बाढी आएका कारण बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन १७ घण्टापछि पूर्ण क्षमतामा सुचारु भएको छ । राती साढे १ बजेदेखि बन्द गरेको आयोजनाको प्लान्ट नदीमा बाढी घटेसँगै शनिबार साँझ ८ बजेदेखि पूर्णरूपमा सुचारु भएको हो ।
शुक्रबाट साँझदेखि अविरल वर्षापछि नदीमा ठूलो बाढीपछि विद्युतगृह नै बन्द गर्नु परेको माथिल्लो तामाकोसी विद्युत उत्पादन गृह प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । आयोजनाको बाँध क्षेत्रमा २८५ घनमिटरसम्म पानी मापन भएको थियो । आयोजनाको २५० घनमिटरभन्दा बढी भएमा खतराको संकेतको रूपमा लिने गरिन्छ ।
बाढी अत्यधिक आउँदा माथिल्लो तामाकोसीको बाँधमा रहेका सबै ढोका खुलेका थिए । यस्तो बेला आयोजनाको विद्युतगृह सञ्चालन गर्दा पानीमा बालुवाको मात्रा मिसिनाले टर्बाइनमा क्षति पुर्याउन सक्ने भएकाले पनि आयोजना बन्द गरेको हो । नदीमा जलस्तर २५० घनमिटरभन्दा कम भएपछि विद्युत उत्पादन सुचारु गरेको हो । तामाकोसी नदीको सहायक नदी लप्ची खोला र जुम खोलाका कुनै ठाउँमा पहिरोले खोला थुनिएर ताल बनेर फुटेर बाढी आएको पनि हुनसक्ने अनुमान छ ।
लामाबगरदेखि लप्ची जाने सडक निर्माणका क्रममा निस्किएको ढुंगा, माटो खोलामा झरेको छ । त्यसले पनि नदी थुनिने र खुल्ने क्रम हुँदै आएको छ । माथिबाट आएको बाढीले ल्याएका गेग्रानले पनि माथिल्लो तामाकोसीको बाँध भरिँदै आएको छ । एक महिनाअघि पनि बाँधभन्दा तीन किलोमिटर माथि पनि पहिरोले नदी चार घण्टा थुनिएको थियो । त्यस्तै जुम खोलाभन्दा केही माथि तिब्बतियन भूगोलमा रोङसी खोलामा पहिरोले तीन दिन नदी थुनिएर पनि तीन वर्षअघि बाढी आएको थियो ।
रोल्वालिङ खोलाली पदमार्गको ३ होटेल र एक जना मान्छे बगायो
अविरल वर्षात्का कारण गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ खोलामा बाढी आउँदा रोल्वालिङ पदमार्गमा रहेको डोङाङ भन्ने ठाउँको तीन होटल बगाउँदा एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६४ वर्षीय जाङमु शेर्पा रहेको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिए ।
रोल्वालिङ पदमार्गमा पर्ने डोङाङमा खोला फर्किएर होटलसहित मान्छेसमेत बगाएको हो । निरन्तर वर्षात् र गाउँदेखि टाढा भएकाले खोजीकार्य पनि कठिन भएको वडाध्यक्ष शेर्पाले बताए । तामाकोसीमा बाढी आएका कारण गोंगरदेखि तल्लो तटीय क्षेत्रमा नदीले कटान पनि गरिरहेको छ । नदीले माथिल्लो तामाकोसीको टेलरेस क्षेत्रमा पनि कटान गरेको छ ।
सिस्नेरीमा नदीले कटान गर्दा विद्युतका पोल ढलेका कारण उत्तरी क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएको थियो । नदीले कटान गर्दा तामाकोसी पाँचौ जलविद्युत आयोजनाले मजदुर बस्ने शिविरसमेत जोखिममा पारेको छ । माथिल्लो तामाकोसीको टेलरेस सुरुङबाटै तामाकोसी पाँचौंको मुख्य सुरुङको संरचना बनेकोमा त्यसलाई पनि क्षति पुर्यायो कि भन्ने आशंका छ ।
अन्यत्र पनि समस्या
बाढीका कारण शनिबार बिहानदेखि एक दर्जन बढी आयोजना नचल्दा एक हजार मेगावाट बिजुली उत्पादन प्रभावित भयो । ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, १० मेगावाटको सुनकोशी आयोजना बन्द नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मिडिल मोदी, ४० मेगावाटको अपर चमेलिया गरी निजी क्षेत्रबाट ११४ मेगावाट बिजुली आपूर्ति भयो । नदीमा बाढी आउने घटेसँगै आयोजनाले विद्युत उत्पादन सुचारु गरेका छन् । बाढीका कारण बिजुली उत्पादन घटेपछि भारतमा हुने निर्यातसमेत घटेको छ । प्राधिकरणले बढी भएको ६ सय मेगावाट बिजुली भारतमा निर्यात गरिरहेको छ ।