Logo

सयभन्दा बढी स्थानमा सडक अवरुद्ध, अर्बौंको भौतिक क्षति, हजारौं विस्थापित, विद्युत उत्पादनमा समस्या

पछिल्लो २४ घण्टामा वर्षाबाट ८ को मृत्यु, ५ बेपत्ता

दाङको घोराही उपमहानगरपालिका–१७ मा वर्षाका कारण शनिबार भत्किएको सडक । तस्बिरः रासस

काठमाडौं- पछिल्लो चौबिस घण्टामा मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण देशभरमा दर्जनौं स्थानमा सडक यातायात अवरुद्ध भएका छन् । बाढी र पहिरोमा परेकाहरुको तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । कतिपय स्थानमा प्रदेश र स्थानीय तहका अधिकारीहरु र राजनीतिक दलका नेता–कार्यकर्ता पनि जुटेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । कतिपय क्षेत्रमा तीन दिनदेखि पानी रोकिएको छैन । ठूला–साना सबै नदीनालाको सतह उच्च स्तरमा आएको छ । राजधानी काठमाडौंका नदी र खोलाको सतहभन्दा माथि पानी आएकाले केही क्षेत्र डुबानमा परेका छन् । सुकुम्बासी बस्तीमा नदीको पानी छिर्दा समस्यामा छन् । भक्तपुरको हनुमन्ते खोला आसपासमा पनि बाढी पसेको छ । बल्खुस्थित तरकारी बजार पूर्ण रुपमा डुबानमा परेको छ ।

यस्तै, तराईका कतिपय स्थानमा खेतीयोग्य जमिन कटान भएको छ भने केही ठाउँमा सडकका कल्भर्ट बाढीले बगाएको छ । केही पुलमा क्षति पुगेको छ । यस्तै, बाढी र पहिरोका कारण केही स्थानका जलविद्युत केन्द्रहरुमा पनि क्षति पुगेको छ । गृह मन्त्रालयमा विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न बसेको आपतकालीन बैठकले तत्काल उद्धारमा खटिन सबै निकायलाई निर्देशन दिएको छ ।

बैठकमा गृहमन्त्री रलि लामिछानेले पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् । विपद्का घटना तुरुन्त सम्बोधन गर्न र सतर्कताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ता कपडालगायत सामग्रीको अभाव हुन नदिन उनले आग्रह गरे ।

‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौं भन्ने विषय महत्वपूर्ण हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।’ उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए ।

शनिबार बेलुका ६ बजेसम्मको विवरणअनुसार मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न १ सय ७१ स्थानमा सडक अवरुद्ध भएको छ । यसमध्ये कतिपय स्थानमा सडक खुलाइएको छ भने कतिपयमा अवरुद्ध नै छ । यातायात अवरुद्ध रहेको राजमार्गको संख्या १३ र यातायात अवरुद्ध भएको स्थान २७ छ । प्रारम्भिक क्षतिको अनुमान गर्दा ३६ करोड रुपैयाँभन्दा बढीको नोक्सान सडकमा भएको छ । सडकमा भएको क्षतिभन्दा पाँचदेखि ६ गुणा बढी रकम पुनर्निर्माणमा खर्च हुने गरेको छ ।

सडक अवरुद्ध भएको सूचना आउनेबित्तिकै खुलाउनका लागि आवश्यक जनशक्ति र मेसिन स्थानीय प्रशासनसँगको समन्वयमा परिचालन गर्ने गरिएको विभागले जनाएको छ ।

विद्युत उत्पादनमा समस्या
काठमाडौं– अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृह प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण शुक्रबार साँझदेखि बन्द छ । यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएका छन् । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाटमात्रै विद्युत उत्पादन भइरहेको छ ।

दोलखामा तीन घर बगे, एकजना बेपत्ता
दोलखा– गौरीशंकर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

दाङमा एकको मृत्यु, एक बेपत्ता
दाङ– बाढीमा परी दाङमा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौं घर डुबानमा परेका छन् ।
शनिबार बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उहाँले जानकारी दिए । अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौं घर डुबानमा परेका छन् ।

बागलुङमा ६ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
बागलुङ– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा ६ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।

सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशु चौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए । उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

‘पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौं, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्,’ वडाध्यक्ष कँडेलले भने, ‘मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौं ।’ यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उनले बताए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताए । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उनले जानकारी दिए । विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल पनि भत्किएको छ ।

मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए ।

पृथ्वी राजमार्गको कल्भर्ट बाढीले बगायो
तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा राजमार्ग भएर गुड्ने सयौं सवारीसाधान ठप्प भएका छन् । वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

अविरल वर्षासँगै तनहुँको म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्नेतथा स्थानीय विस्थापित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्