Logo

राजश्री सहकारीबाट एउटाको धितोमा अर्कोलाई ऋण

विराटनगर– विराटनगर रंगेली रोडस्थित राजश्री सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटीले एउटाको धितोमा अर्कोलाई ऋण दिएको देखिएको छ । उक्त सहकारीले ऋणीलाई हस्ताक्षर गराउँदै अर्कोको नाममा पैसा ट्रान्सफर गराउने गरेको पछिल्लो समय खुलेको हो । २०७५ मा सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीकी दुखनी खातुनको चेकमा औंठा छापा गराएर अर्को व्यक्तिको नाममा पैसा जारी गरेको पनि खुलेको छ ।

त्यस्तै घटना पुनः दोस्रो पटक उही व्यक्तिमाथि गरेपछि सहकारीका सञ्चालकले बदमासी गरेको कुरा बाहिर आएको हो । दुखनीका चारजना छोराहरु फिरोज आलम, मोजाइल मियाँ, अप्रोज मियाँ र रोजित आलम छन् । उनीहरुको नाममा अढाई कठ्ठा जग्गा छ । २०७५ सालमा २ लाख ५० हजार रुपैयाँ ऋण चाहिएपछि जग्गा धितो राखिएको थियो । दुखनीको नाममा दुईवटा चेक बनाएर औंठा छाप गराएको खुलेको छ ।

सहकारीले खडा गरेको व्यक्तिमार्फत पैसा निकासा प्रक्रिया मिलाउँदा निरक्षर दुखनीलाई दुईवटा चेकमा औंठा छाप लगाएर थप ७ लाख ५० हजार रुपैयाँ निकासा गरिएको थियो । जसमा दुईलाख ५० हजार र ७ लाख ५० हजार रुपैयाँ रहेको थियो । दुईलाख ५० हजार ऋण दुखनीको परिवारले चलाए पनि सातलाख ५० हजार रुपैयाँ राजश्री भित्रैका कर्मचारीको मिलेमतोमा मधुवनका इन्द्रनारायण मण्डलले आफ्नो नाममा चेक जारी गराएको भेटिएको छ ।

मण्डल सहकारीका सञ्चालक बैजनाथ साहका नजिकका व्यक्ति हुन् । दुखनीको जग्गा धितोमा इन्द्रनारायण मण्डलले पैसा लगेपछि उनी फरार भएका थिए । त्यो कुरा जग्गा धितो राख्नेहरुले थाहा पाएपछि कुनै पनि ऋण तिर्न चाहेनन् । ‘हामीमाथि फल्ड भएको थाहा पाएपछि ऋण तिर्न छोड्यौं,’ पीडित परिवारका फिरोजले भने । पाँच वर्षसम्म खेपेर बस्दा जग्गा लिलामी प्रक्रियाका लागि सूचना निकालेको थियो ।

सोही क्रममा दुखनीको नाममा जग्गा राखेर राजश्रीले पैसा लगानी गरेका मण्डल फेला परेपछि उनलाई पैसा बुझाउन लगाइएको थियो । मण्डलले २०८० साल असार १ गते दशलाख ऋणको २३ लाख ५२ हजार ८८९ रुपैँया भुक्तानी गरे । दुखनीको नाममा भएको ऋण र सेयरको चुक्ता भएको भौचर राजश्रीले दियो । तर, उक्त सहकारी पुनः दुखनीको जग्गामा ऋण जारी गरेर चलाउन सकियोस् भन्ने मनसायले अभिप्रेरित रहेको देखिएको छ ।

मण्डल राजश्रीको अन्य शाखामा काम गरेर पाँचवर्षपछि गाउँ फर्केपछि पीडित परिवारले उनलाई भेटेपछि मण्डलले दश लाख रुपैयाँकै साँवा र ब्याज भुक्तानी गरेका थिए । तर, सहकारीले उक्त रकमको भौचर आफ्नै नाममा बनाएको देखिन्छ । तर, दुखनीका जेठा छोरा मियाँलाई २०८० असार १८ गते पुनः सहकारीले मण्डलले दशलाख मात्रै भुक्तानी गरेका भन्दै १३ लाख नबुझाए जग्गा लिलामी हुने बताएपछि उनले ३ लाख ७५ हजार रुपैयाँ सहकारीमा बुझाएको बताए ।

सहकारीले पुनः परिवारलाई फोन गरेर पुरानो ऋणलाई नयाँ बनाउने भन्दै ऋण जरी गरेकै दिन दुखनीको नामबाट ९ लाख ४४ हजार रुपैयाँ विष्णुकमार शर्माको नाममा ट्रान्सफर गरेको देखिएको छ । त्यसको भोलिपल्ट पुनः ३ लाख ७५ हजार रुपैयाँ धरौटी जम्मा गरिएको रकमसमेत शर्मालाई पठाइएको देखिएको छ ।

२०७५ सालमा दुखनीलाई २ लाख ५० हजार ऋण दशलाख जारी गरेर मण्डलले ७ लाख ५० हजार चलाएको, पाँचवर्षपछि मण्डलले २३ लाख ५२ हजार बुझाएको, १८ दिनपछि ३ लाख ७५ हजार रुपैयाँ जम्मा गराउने र त्यसको आठ दिनपछि बोलाएर दशलाख नयाँ ऋण जारी गराएको देखाएर शर्माको नाममा ट्रान्सफर गरिदिने काम राजश्रीले गरेको देखिन्छ । पीडित परिवारलाई ठगेर उनीहरुको जग्गा धितोमा दश लाख जारी गरेको ऋण शर्माको नाममा ट्रान्सफर गर्ने कार्यले अर्को आशंका जन्माएको छ ।

पीडितका अनुसार २०७५ सालमा मण्डल सहकारीले खडा गरेका व्यक्ति थिए । त्यसरी नै अहिले शर्मा सहकारीले खडा गरेका व्यक्ति हुन् । यसबीचमा २०८० साउन २५ गते १३ हजार, भदौ २२ र असोज २१ गते किस्ता वापतको रकम बुझाएको देखिन्छ । धितोमा राखेको जग्गा ऋण बुझाएपछि फुकुवा गर्नुको सट्टा सहकारीले नै राखेर बारम्बार मिटरब्याज सिस्टममा सर्वसाधारणबाट रकम ठग्ने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्