Logo

विदेशी कलेजका सबै कोर्स नेपालमा तर विद्यार्थी रोकिएनन्

काठमाडौं- विदेशमा पढाइ हुने कोर्स नेपालमा उपलब्ध छन् तर नेपाली विद्यार्थी लाखौं खर्च गरेर त्यही कोर्स पढनका लागि विदेश गइरहेका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरको विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भइसकेका छन् । बेलायत र अमेरिकाका प्रसिद्ध कलेजले कोर्समा राखेका शैक्षिक कार्यक्रम नेपालमा पनि उपलब्ध छन् ।

कतिपय कलेजले त शिक्षकसमेत विदेशकै कलेजबाट ल्याएका छन् । तिनै कोर्स र तिनै शिक्षकले पढाउने विषयका लागि वर्षेनी नेपाली विद्यार्थी लाखौं खर्च गरेर विदेश गइरहेका छन् । उच्च शिक्षाका लागि विदेश जाने मोह विद्यार्थीमा घटेको छैन । निजीस्तरमा खुलेका अधिकांश कलेजले अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान लगायतका देशमा सञ्चालनमा रहेका विषय नेपालका कलेजले नै उपलब्ध गराउन थालेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार २०७१/२०७२ मा ३० हजार ७९६ विद्यार्थीले वैदेशिक शिक्षाका लागि नो अब्जेक्सन लेटर लिएको देखिन्छ भने आव २०७९/०८० यो संख्या एक लाख १० हजार पुगेको छ । तर प्लस टुपछिको शिक्षाका लागि विदेशी कलेज सरह शिक्षा नेपालमा नै उपलब्ध हुन थालेको छ । शिक्षा क्षेत्रका विज्ञहरू उच्च शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नरहेको र नेपालमा बसेर विदेशी विश्वविद्यालय सरहको गुणस्तरीय शिक्षा हासिल गर्न सकिने दाबी गरिरहेका छन् ।

नेपालमा हाल खुला विश्वविद्यालयसहित ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् । ती सञ्चालनमा रहेका विश्वविद्यालय र तिनीहरूबाट एफिलेसनमा विभिन्न कलेजले विदेशी कोर्स नेपालमा नै पढाइ रहेका छन् । यसरी स्थापना भएका विश्वविद्यालयले लगभग चार दर्जन विषयमा अध्ययन अध्यापन गराउँदै आइरहेका छन् । शिक्षाविद्, कलेज सञ्चालक र व्यवस्थापक साइन्स संकायका विभिन्न कोर्स विदेशी कलेजको स्तरमा नेपालमा नै उपलब्ध भइसकेको बताउँछन् ।

नेपालमै बसेर बेलायती विश्वविद्यालयको डिग्री चाहने विद्यार्थीका लागि ब्रिटिश कलेजले नेपालमा नै बेलायती वातावरणमा शिक्षा प्रदान गरेको छ । विद्यार्थीले बेलायतमा अध्ययन/अध्यापन हुने शिक्षा नेपालमा नै पाउने गरी व्यवस्था मिलाएको छ । बेलायतमा ५० लाख रुपैयाँभन्दा बढी अध्ययन खर्च लाग्ने बिएससी (हन्स) कम्प्युटिङ कोर्स यहाँ १२ लाख रुपैयाँकै हाराहारीमा पढ्न सकिनेछ ।

विद्यार्थीले अध्ययन गरेको अनुभव, एकेडेमिक स्ट्यान्डर्ड र प्रोग्राम डेलिभरि युके क्वालिटी असुरेन्स एजेन्सीको क्वालिटी कोडमा आधारित भएर गुणस्तर मापन गरिन्छ । विद्यार्थीले चाहेमा कुनै सेमेस्टरमा अध्ययन क्रेडिट ट्रान्सफर गरेर युकेमा नै आफ्नो डिग्री पूरा गर्ने मौका पनि प्राप्त गर्छन् । विभिन्न शैक्षिक संस्थामा आबद्ध युके तथा नेपालका ठूला कम्पनीबाट रेगुलर गेस्ट लेक्चरर तथा स्पिकरले पनि कक्षा लिइरहने भएकाले विद्यार्थीको ज्ञानको क्षितिज फराकिलो हुने कलेजको भनाइ छ ।

शिक्षाविद् विद्यानाथ कोइराला नेपालमा रहेका कलेज अन्तर्राष्ट्रियस्तरको शैक्षिक गुणस्तर प्रदान गर्न सक्षम भए पनि विभिन्न कारण नेपाली विद्यार्थी विदेश गइरहेको बताउँछन् । सन् २०११ मा स्थापना भएको पे्रसिडेन्टल कलेज अमेरिककाको वेस्टक्लिफ युनिर्भसिटिको एफिलेसनमा नेपालमा बिबिए र एमबिए सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट पढाइका साथसाथै व्यावहारिक शिक्षासमेत लिने कलेजको दाबी छ ।

स्वदेशमा नै अमेरिकनभन्दा पनि सस्तो मूल्यमा अमेरिकन डिग्रि लिन चाहनेका लागि प्रेसिडेन्टल कलेज उपयुक्त भएको कलेजको भनाइ छ । कलेजले अमेरिकन एमबिए र बिबिएको कम्प्युटर बेसमा पढाइ हुनुका साथै जब खोज्दिनसमेत सहयोग गर्छ । नेपाली कलेजले देशबाहिर पढ्न जान लाग्ने शुल्कभन्दा १० गुणा सस्तोमा पढाएको जनाएको छ । तर पनि बढिसकेर नेपाली विद्यार्थी विदेश नै जाने गरेको पाइन्छ । हाल निजीस्तरबाट सञ्चालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउन प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन थालिएको छ ।

नेपालमा रहेका विश्वविद्यालयबाट नभई विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रका कलेजले कोर्स सञ्चालन गरिरहेका छन् । निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ । सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन सबै कलेज अहिले प्रतिस्पधाकै रूपमा लागेका छन् । राजनीति र अन्य दबाबमा नभएका कारण र नियमित पठनपाठन गरिने हुँदा हाल निजी कलेज विद्यार्थीमा विद्यार्थीको आकर्षण बढेको छ तर पनि विद्यार्थी नेपालमा बस्न सकेका छैनन् ।

निजी कलेज सरकारी कलेजको तुलनामा महँंगा हुने भएका कारण पनि केही पैसा थपेर विद्यार्थी विदेश जान थालेका छन् । अभिभावकमा पनि जसरी भए पनि छोराछोरीलाई निजी कलेज नै पढाउन चाहान्छन् । हुन त निजीमात्र नभएर इन्जिनियरिङ, मेडिसिन, वन, कृषिजस्ता विषय महगा विषय अध्ययनका लागि विद्यार्थीले सरकारी क्याम्पस पनि रोज्ने गर्दछन् । निजी कलेज महँगो हुने भए पनि सरकारले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा समेत सुरू नगरेको ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) सञ्चालन अनुमति निजी कलेजलाई दिइएको छ ।

त्यस्तै धेरैको रोजाइमा पर्ने बीबीए त्रिविका दुई आङ्गिक क्याम्पसमा सञ्चालित छन् भने निजी १५ कलेजमा सञ्चालन भइरहेको छ । नेपालमा हाल स्नातक तहमा बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), हस्पिटालिटि (बिएच), हेन्थ केयर (बीएचसी), साइन्स इन इन्फरमेसन टेक्नोलाजी (बीएसआईटी), टेक्नोलोजी (बीटेक), ट्राभल एन्ड टुरिजम (बीआइटीटी) र मेनेजमेन्टतर्फ धेरै विषय विद्यार्थीको रोजाइमा परेका छन् ।

यसरी नै कर्पाेरेट क्षेत्रलाई आफ्नो करियर बनाउनेका लागि व्यवस्थापन संकायमा स्नातक तहमा विदेशी विश्वविद्यालयको कोर्सअनुसार बीबीए, बीबीएम, हस्पिटालिटि मेनेजमेन्ट, इन्फरमेसन मेनेजमेन्ट लगायतका विषयमा पढाइ भइरहेका छन् । नेपाल सञ्चालनमा रहेका कलेजले अमेरिका, बेलायत, मलेसिया र स्विजरलैन्ड लगायतका देशमा अध्ययन भइरहेका कोर्स नेपालमा अध्ययापन गराइरहेका छन् ।

नेपालमा अधिकांश विदेशी कलेजका कोर्स उपलब्ध भए पनि अध्ययनका लागि विदेश जानेको संख्या बढ्दो छ । नेपालबाट अध्ययनका लागि विदेश जानेमध्ये ८० प्रतिशत विद्यार्थी अध्ययन भिसाको बहानामा काम गर्न जाने गरेको विज्ञको भनाइ छ । अध्ययनका लागि विदेश जाने अधिकांश विद्यार्थीले बीचमा नै अध्ययन छोडर काम गर्ने गरेको पाइन्छ । कतिपय विद्यार्थी कमाउँदै पढने योजनासहित विदेश जाने गरेका कारण काम नपाउँदा अलपत्रसमेत हुने गरेका छन् ।

केही देशबाहेक आधिकांश देशमा निश्चित समय अध्ययन नगरी काम गर्न पाइँदैन । काम गर्ने अनुमति पाए पनि हप्तामा निश्चित समयमात्र काम गर्न पाउने कानुनी व्यवस्था छ । हाल क्यानडा गएका अधिकांश विद्यार्थी काम नपाएर अलपत्र परेको त्यहाँ रहेको दूतावासले जनाएको छ । पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि लागू गरेका नियममा केही कडाई गरेका कारण समस्या उत्पन्न भएको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले पनि विद्यार्थी विदेशिने संख्या उच्च रहेको देखाउँछ । अहिले स्नातकोत्तर पढ्ने ६० र स्नातक पढ्ने ४० प्रतिशतसम्म घटेको छ । केही कार्यक्रम यही अवस्थामा रहे भने कटौती गर्दै जानुपर्ने नेपाली कलेजको अवस्था रहेको देखिन्छ । अभिभावक र विद्यार्थीको बुझाइको लेभल बढ्दै गएको छ । विद्यार्थीले पढिसकेपछि उसको क्षमताअनुसारको रोजगारको सुनिश्चितता भएमात्र विदेश जाने क्रम केही घटने देखिएको छ ।

पढेपछि नेपालमा नै उसले खोजेको रोजगारी प्राप्त हुने सुनिश्चितता भयो भनेमात्र ऊ यहाँ अडिन्छ । त्यो नेपालले कति दिन सकिरहेका छ त । नेपालबाट विदेश उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७६/०७७ र आव २०७७/०७८ बाहेक वर्षेनी वैदेशिक अध्ययन अनुमति लिने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ ।

आव २०८०/०८१ को फागुनसम्म जारी भएका कुल ८० हजार १६९ वैदेशिक अध्ययन अनुमतिपत्रको संख्याका आधारमा १० प्रमुख देशका लागि मात्र ९४.१ प्रतिशत वैदेशिक अनुमतिपत्र जारी भएको छ । अनुमतिपत्र लिनेको आधारमा सबैभन्दा पहिला जापान ३३.१ प्रतिशत, क्यानडा १८.१ प्रतिशत, अष्ट्रेलिया १४.४ अमेरिका ७.५, दक्षिण कोरिया ४.९, भारत १ं९, यूएई १.९ र फ्रान्स, डेन्मार्क १ प्रतिशत र अन्य ५.९ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्