राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्रीहरु काममा फर्किए
काठमाडौं- राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्रीहरु प्रधानमन्त्रीको सान्त्वनासँगै काममा फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट संघीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गरेको बताए ।
उनले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । “प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजिनामा स्थगन गरेका हौँ”, प्रमुख सचेतक परियारले भने ।
आफूहरुले चाँडोभन्दा चाँडो संसदको फेस गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको उनले बताए । रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् ।