पञ्चकन्याको प्राथमिकता पूर्वाधार

साविकका ५ वटा गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडा मिलेर हालको पञ्चकन्या गाउँपालिका बनेको हो । यसको पूर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिका छन् । प्रशस्त मात्रामा खेतीयोग्य भूमि रहेको यस गाउँपालिकामा जनजातिको बाहुल्यता रहेको छ । धार्मिक, सांस्कृतिक एवं प्राकृतिक मनोरम वातावरणका कारण पर्यटकीय दृष्टिकोणले यो गाउँपालिका अत्यन्तै महत्वपूर्ण छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पञ्चकन्या, सप्तकन्या, कपिलेश्वर, कात्तिकेश्वर लगायत मठमन्दिर तथा प्रसिद्ध गुम्बाहरु, कालीकाकोट, गोठवोएश्वर, नाट्येश्ष्री, घ्याङश्वारा पर्यटकीय पार्क, टोड्के भञ्ज्याङ तथा चमेरे गुफा जस्ता ठाउँहरु यहाँ छन् । सिन्धुपाल्चोकको चिसापानी बुढिसेरा छहरे हुँदै विदुरदेखि धादिङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग यस गाउँपालिकालाई बीचबाट निर्माण गरिएकाले छिमेकी जिल्लामात्र नभई भू–मार्ग मार्फत राष्ट्रिय राजमार्गमा समेत पहुँच राख्दछ । काठमाडौंको टोखा छहरे हुँदै घलेभञ्याङ करिब ४१ किमी डक र नुवाकोट सदरमुकामबाट १२ कोस पूर्वमा रहेको यस गाउँपालिकाको नाम ऐतिहासिक पञ्चकन्या मन्दिरको नामबाट राखिएको हो ।
पञ्चकन्या गाउँपालिकालाई पूर्वाधारमा नमुना बनाउन लागिपरेका छौं । श्रीलंकाको टापुजस्तो गाउँपालिका हो पञ्चकन्या । दायाँबायाँ लिखु र तादी बग्छन् । काठमाडौंबाट नजिक रहेर पनि पर्याप्त विकासका पूर्वाधार निर्माण भएको छैन । त्यही भएर अहिले हाम्रो ध्यान विकासका पूर्वाधार निर्माणमा केन्द्रित भएको छ । अहिले सुनखानी–स्यालपिङ खोला–शिवालय–कुण्डला मावि–घलेभन्ज्याङ–कुलकुले–आरुखर्क हुँदै दुप्चेश्वर गाउँपालिका जाने सडक कालोपत्रे गरिरहेका छौं । अर्को सडक छहरे–राष्ट्रिय मावि–२ नं. वडा कार्यालय–लप्टानडाँडा–मिलडाँडा हुँदै घरले भञ्ज्याङ सडक वहुवर्षे योजनामा कालोपत्रे गरिरहेका छौं । साथै स्थानीय सडकाहरुको स्तरोन्नति गरी बाह्रै महिना चल्ने बनाउने गरी काम गरिरहेका छौं ।
एक हजार आठ सय परिवारमा एक घर एक धारा निर्माण गरी मिटर जडान गरेर खानेपानी वितण गरेका छौं । पानीको मुहान नभएको पालिका कार्यालय आसपास डिप बोरिङ गरेर पनि पानी वितरण गरेका छौं । २ नं. वडामा पनि डिप बोरिङ गरिसकेका छौं । विद्युत प्राधिकरणले विद्युत विस्तार गरि नसकेका कारण खानेपानी वितरण गर्न सकिएको छैन । हाम्रो कार्यकालमै सबै घरमा एक घर एक धारा मार्फत पानी वितरण गर्ने गरी काम गरिरहेका छौं । एक हजार नौ सय मिटर उचाइमा रहेको स्याल स्वाँरालाई पर्यटक हब बनाउन डीपीआर गरेर काम गरिरहेका छौं ।
डीपीआर अनुसार ४६ करोड लागत लाग्छ । अहिले गरिएका कामहरु संघीय सरकारले सही भनेर राजपत्रमा निकालेका कारण यस पालिकाका १४ जना शहिदको अर्धकदको शालिक निर्माण सम्पन्न गरेका छौं । आन्तरिक तथा बाह्य पर्यटकलाई पार्क स्थलमै बस्न मिल्ने गरी २५ जनाका लागि आवास बनाएका छौं । पार्क आसपासमा ३३ हजार चियाका बिरुवा सारेका छौं । चिया बगानमात्र हेर्न इलाम जान नपर्ने योजना ल्याएका छौं । पार्क आसपासमा रहेका तामाङ र मगरका १६ घरपरिवारमा अब होमस्टे बनाउने योजना रहेको छ । जसले गर्दा पर्यटकलाई अझ सहजता होस् र स्थानीयलाई पनि रोजगारी तथा आम्दानीको बाटो बनोस् ।
१० शैयाको पञ्चकन्या अस्पताल सञ्चालन गरेका छौं । साउनबाट नयाँ भवनबाट सेवा सुचारु गर्ने योजना रहेको छ । पाँच वटा आधारभूत स्वास्थ्य संस्था र ३ वटा स्वास्थ्य इकाइबाट आधारभूत सेवा प्रवाह भइरहेको छ । स्वीकृत दरबन्दीअनुसार स्वास्थ्यकर्मी त छैनन्, तर पनि करार सेवामा कर्मचारी राखेर आधारभूत सेवामा जनताको पहुँच पु¥याएका छांै । जेष्ठ नागरिकहरुलाई घरदैलोमै पुगी स्वास्थ्य सेवा दिएका छांै ।
कृषि तथा पशुपालन आधारभूत जीविकोपार्जनको आधार हो । यस क्षेत्रमा किसानको तहबाट हुँदै आएका अभ्यासमा केही नयाँपन दिने कोशिस गरेका छौं । यस पालिको मुख्य उत्पादन धान र आलु हो । यसका अलावा मकै र गहुँ पनि उत्पादन हुन्छ । किसानले आलु र धान बिक्रीबाट आम्दानी गर्ने गर्दछन् । कृषिलाई आधुनिकिकरण गर्न प्रविधि हस्तान्तरण कार्यक्रम भइरहेका छन् । मिनी टिलर लगायतका कृषि औजार वितरण भएका छन् । माटो परिक्षण गरी नगदे बालीका रुपमा अदुवा, अलैंची, सुन्तला, किवी लगाउने काम भइरहेका छन् ।
जीविकोपार्जनको अर्को आधार पशुपालन हो । यस पालिकाका वडा नं. २, ३, ४ र ५ का प्रत्येक किसानको गोठमा २० वटाभन्दा बढी खसीबाख्रा छन् । यसलाई बाख्रा पकेट क्षेत्र नै भन्न मिल्ने छ । पशुपालन गर्दा किसानलाई दोहोरो फाइदा भएको छ । खसीबोका बिक्रीबाट नगद आम्दानी र मल खेतबारीमा हालेर उत्पादन बढेको छ । त्यसकारण पनि पशुपालनतर्फ किसानको लगाव छ । गोरु पाल्दा मल र जोत्न काम लाग्ने भएकाले गोरु पाल्ने किसानलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं । पशुवस्तुको तथ्यांक लिने काम गरिरहेका छौं ।
हाम्रो पालिकामा ३१ वटा माध्यमिक विद्यालय रहेका छन् । तीन वटामा कक्षा १२ सम्म पढाइ हुन्छ । इन्द्रायणी माविमा प्राविधिक धार कृषि कक्षा ८–१२ को पढाइ हुन्छ । २१ वटा आधारभूत विद्यालय मध्ये तीनवटामा कक्षा ८ सम्म पढाइ हुन्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कम्तीमा एक सय दिनको रोजगारी दिएका छौं । सूचीकृत भएका बेरोजगारलाई निर्माण व्यवसायीहरुसँग समन्वय गरेर रोजगारी दिन प्रयास गरिरहेका छौं । पालिकाबाट हुने विकास निर्माणका काममा पनि सूचीकृत बेरोजगारलाई प्राथमिकता दिएका छौं । हाम्रो पालिकाको कुल क्षेत्रफलको ४४ प्रतिशत वन क्षेत्र रहेको छ । तर पनि हामीले वृक्षरोपणलाई प्राथमिकता दिइरहेका छौं । सडकका छेउ कान्लामा अम्रिसो लगाउने कार्यक्रम तय गरेका छौं । यसबाट माटो संरक्षण, वातावरण प्रवद्र्धन र आम्दानी समेत हुनेछ ।
सुशासन कायम गरी प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी एकसाथ छौं । जनप्रतिनिधिका कारण यो योजना वा कार्यक्रम रोकियो भन्ने अवस्था छैन । कर्मचारीको असहयोगका कारण योजना रोकियो, कार्यक्रममा असहयोग गरे भन्ने अवस्था पनि आएको छैन । अध्यक्षको सचिवालय भनेकै कार्यपालिका सदस्य र कर्मचारी हुन् । अध्यक्षको हैसियतमा छुट्टै व्यक्ति वा सहयोगी राखेको छैन । स्थानीय अवस्था र चासोबारे मलाई थाहा हुन्छ । प्रशासनिक तथा कानुनी व्यवस्था प्रमुख प्रशासकीय अधिकृतलाई थाहा हुन्छ । बाँकी विषयगत प्राविधिक कुराको ज्ञान सम्बन्धित शाखाका कर्मचारीलाई हुन्छ । हामी सबैको चासो पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्ने हो ।
प्रदेशः बागमती
जिल्लाः नुवाकोट
पालिकाः पञ्चकन्या गाउँपालिका
वडा संख्याः ५
उपाध्यक्षः विमला केसी
प्रमुख प्रशासकीय अधिकृत: कृष्णहरि पौडेल
कार्यालयः लाँकुरीभन्ञ्याङ
जनसंख्याः २२१५८
परिवार संख्याः ४७५१
क्षेत्रफलः ५३.४७ वर्गकिमी