खोटाङका महिला वैदेशिक रोजगारीको तनाव व्यवस्थापनमा

वैदेशिक रोजगारीका कारण उत्पन्न झमेला तथा तनाव व्यवस्थापनका लागि खोटाङका महिलाहरू लागेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका हुन् ।
कामको सिलसिलामा पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रूपमा तनाव व्यवस्थापनमा लागेको बताइएको छ ।
आक्षेप र पारिवारिक समस्याका कारण अप्ठ्यारोमा परेका महिलाले मनोसामाजिक परामर्श लिएर तनाव व्यवस्थापनमा लागेको बताएका छन् । वैदेशिक रोजगारीका कारण निम्तिएको समस्याले अप्ठ्यारोमा परेका बेलामा परिवारकै साथ नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएका, कतिपय महिलाले ज्यान नै गुमाएको र परिवार विखण्डन भइरहेको तथ्यलाई ध्यानमा राखेर सुरक्षित आप्रवासन परियोजना (सामी) र बाल सेवा समाज नेपाल खोटाङले विभिन्न गाउँमा मनोसामाजिक परामर्श कक्षा चलाएका छन् ।
वैदेशिक रोजगारीमा संलग्न दिक्तेलबारीका १२ महिलालाई ७ सेसनसम्म सञ्चालन हुने मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको जनाइएको छ । वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव कम गर्दै सुखी र उत्साहपूर्ण जीवन जिउने वातावरण निर्माणका लागि मनोसामाजिक परामर्शको व्यवस्था गरिएको बाल सेवा समाजकी मनोसामाजिक परामर्शकर्ता गायत्री तामाङले जानकारी दिइन् ।
वैदेशिक रोजगारमा संलग्न परिवारका महिला सहभागीलाई मनोसामाजिक परामर्शका क्रममा अरुको कुरा काट्न नहुने, परिवारका सदस्यसँग मिलेर बस्ने, पतिले पठाएको पैसाको हिसाब पारदर्शी राख्ने, घरको काम बाँडफाँट गरेर गर्ने, तनाव हुँदा पानी पिउनेलगायतका विषयमा जानकारी दिइन्छ । यस्तै, सहभागीलाई तनाव व्यवस्थापनका लागि महिलालाई तनावरहित व्यायम गर्न समेत सिकाउने गरिएको मनोसामाजिक परामर्शकर्ता तामाङको भनाइ छ ।
मनोसामाजिक परामर्श प्राप्त भएपछि बालबच्चालाई कुटपिट गर्ने, गाली गर्ने, एकअर्काको कुरा काट्ने बानीमा सुधार आएको सहभागी महिला बताउँछन् । मनोसामाजिक परामर्शका क्रममा घरको काम बाँडेर गर्ने, सुखदुःख मिलेर साटासाट गर्ने, पतिलाई पोल सुनाउन नहुनेलगायतका विषयमा जानकारी हासिल गरेको स्थानीय सरिता आचार्यले बताइन् । “खुकुरीले काटे औषधि हुन्छ, तर कुराले काटे मान्छे मार्दो रहेछ,” आचार्यले भनिन्, “धेरै टेन्सन भएपछि मरौं कि के गरौं हुन्थ्यो । अहिले सोच फेरिएको छ । टेन्सन हटाउन सकिँदो रहेछ ।”
वैदेशिक रोजगारीका कारण अनावश्यक तनाव झेल्न बाध्य महिलाका लागि रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेलबारी, पाथेका, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारीका कारण तनाव खेपिरहेका नगरपालिकाभित्र १६ समूहमा आबद्ध महिलालाई तनाव व्यवस्थापनका विषयमा कार्यक्रम चलाइएको सामीले जनाएको छ ।
सम्पत्ति भित्र्याउने सपनामा पति ऋणको भारी बोकेर परिवार त्यागेर कतार, मलेसिया, दुबईलगायतका मुलुक पुग्छन् । यता, घर व्यवहार सम्हाल्न बसेकी पत्नीले मेलापात र अर्मपर्मका लागि वरपरका आफन्तकै साहरा लिनुपर्ने अवस्था हुन्छ । यो क्रम बढ्दै गएपछि महिलामाथि शंकालु नजरले हेर्न सुरु गरिन्छ, कुरा काट्न सुरु गरिन्छ । पति साथमा नभएकै आधारमा उठाइने प्रश्नको प्रतिरोध गर्न नसक्दा सुन्दर सपना बोकेका कतिपय परिवार विखण्डनको सिकार भइरहेका छन् ।
वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव बढ्दै जाँदा कतिपय महिलाले डिप्रेसनको औषधि सेवन गर्ने गरेको पाइएको छ । कतिपय महिला अनावश्यक तनाव झेल्न बाध्य छन् । त्यही तनावका बीचमा उनीहरूका परिवारका सदस्यसँग झगडा हुने, पतिसँग फोनमै बाझाबाझ चल्ने, बालबच्चालाई कुटपिट गर्ने, डिप्रेसन हुने र कतिपयले आत्महत्यासमेत गर्ने गरेका छन् ।