साग र निर्वाचनलाई लक्षित गरी पोखरामा थप सुरक्षा माग «

साग र निर्वाचनलाई लक्षित गरी पोखरामा थप सुरक्षा माग

पोखरा-यही मंसिर १४ गते हुने कस्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यकोे उपनिर्वाचन र मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद (साग) का केही खेल पोखरामा समेत आयोजना हुने भएकोले पोखरामा शान्ति सुरक्षालाई थप मजबुद पार्न थप सुरक्षाको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरामा हुने निर्वाचन र साग लक्षित हुने गरी थप सुरक्षाको माग गरिएको बताएका छन् । उनले भने, “यस पालीको निर्वाचन सबैको ध्यान पोखरामा केन्द्रित भएको छ, यसमा हाम्रो लागि शान्ति सुरक्षाको उत्तिकै चुनौती रहेको छ ।” सागमा नेपाल सहितका ७ देशका खेलाडीहरु पोखरामा आउने हुँदा उनीहरुलाई खेल मैदानदेखि आवासिय क्षेत्रसम्मको लागि निगरानी गर्ने भएको एसपी कार्कीले जनाए ।
पोखरामा एकै समयमा निर्वाचन र साग आयोजना हुने भएकोले जनशक्ति र सवारी साधनहरुको आवश्यक मात्रमा माग गरिएको उनले जनाए । निर्वाचनमा नकारात्मक गतिविधि गर्ने तत्वलाई आफूहरुले हाल निगरानी गरेको एसपी कार्कीले बताए । एसपी कार्कीले कास्की क्षेत्रमा हाल सेवाग्राहीले फोन गरेको करिब ५ मिनेट ८ सेकेण्डमा प्रहरी पुग्ने गरेको बताए । विभिन्न वडा प्रहरी कार्यालयमध्ये बैदाम वडा प्रहरी कार्यालय ४ मिनेट २९ सेकेण्डमा प्रहरीको उपस्थित रहेको उनले जनाए । त्यसै गरी ग्रामिण इलाकामा ३२ मिनेट ७ सेकेण्डमा प्रहरीको पहँुच पुग्ने भएको एसपी कार्कीले जनाए ।
यस चालू आर्थिक बर्षको साउन देखि कात्तिकसम्म २२ हजार ७ सय सवारी साधन कारबाहीमा पर्दा १ करोड ७४ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्