‘नोर्डिक आकस्मिक कोष’ स्थापना गरिने

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको पहलमा नोर्डिक आकस्मिक कोष स्थापना गरिने भएको छ । नेपालमा दैवी प्रकोपबाट भएको मानविय तथा भौतिक क्षतिका लागि तत्काल राहत उपलब्ध गराउने उद्देश्यका साथ कोष स्थापना गर्न लागिएको हो ।
फिण्डल्याण्डमा सम्पन्न डेनमार्क, स्विडेन, फिनल्याण्ड, नर्वेस्थित गैरआवसिय नेपाली संघ (एनआरएन) लगायतका नोर्डिक एनआरएनको भेलाको अवसरमा एनआरएनए नर्वेले कोष स्थापना गर्ने घोषणा गरेको हो । डेनमार्क र स्विडेनको प्रतिनिधित्व हुने गरी गठन गरिएको एनआरएन नोर्डिक क्षेत्रको तेश्रो भेला फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा सम्पन्न भएको हो
नोर्डिकमा बसोबास गर्ने नेपालीहरुको साझा धारणा बनाउनका लागि सुरु गरिएकोे भेला यसअघि डेनमार्क र स्विडेनमा सम्पन्न भैसकेको छ । आयोजक मुलुक फिन्ल्याण्डका अध्यक्ष वसन्त गौतमले भेलाको उद्घाटन गर्दैै आकस्मिक कोष स्थापना हुँदा आवश्यक परेको बेलामा आर्थिक सहयोग गर्न सकिने बताए ।
अन्तर्राष्ट्रिय समन्वय संयोजक बालकृष्ण श्रेष्ठले एसअघिका दुईवटा भेलाहरुको समीक्षा गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा नर्वेका तर्फबाट अध्यक्ष सञ्जिव थापाले आफ्नो देशमा प्रवासी नेपालीहरुको अवस्थामाथि प्रकाश पार्दै एनआरएनले गर्ने गतिविधिका साथै आकस्मिक कोषको स्थापन गर्न लागिएको बताए । स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठले दुर्गम क्षेत्रका शिक्षाबाट बञ्चित बालबालिकाको शिक्षाका लागि प्रवासी नेपाली मूलका दोस्रो पुस्ताका बालबालिकाहरुको खाजा खर्च कटाउने बताए ।