Logo

२० करोडको लगानीमा खुल्दै पोखरा इभेन्ट सेन्टर

पोखरा– २० करोड रुपैयाँको लगानीमा पोखरा इभेन्ट सेन्टर खुल्ने भएको छ । पोखराका पाँच जना विभिन्न पेशा व्यवसायीमा आबद्ध भएका व्यक्तिहरुको लगानीमा करिब ३२ रोपनी क्षेत्रफलमा उक्त सेन्टर सञ्चालनमा आउन लागेको हो । विगत ४ वर्षअघि निर्माण कार्य सुरु भएको उक्त सेन्टर हाल निर्माणको अन्तिम चरणमा पुगेको सेन्टरका प्रबन्ध निर्देशक शिवराज आचार्यले बताए ।

उनका अनुसार बोर्ड बैठकका लागि १५ जनादेखि ठूलो पार्टी एवं सभा सम्मेलनको लागि २ हजार क्षमताका ८ वटा सभाहलहरु रहेका छन् । सेन्टरमा करिब ३ सय सवारी साधनको पार्किङको व्यवस्थापन गर्न सकिने आचार्यले दाबी गरे । स्टार लेवलकै सेवा सुविधा रहेको सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा बैठकहरु आयोजनालाई लक्षित गरिएको उनले जानकारी दिए ।

सेन्टरमा आचार्यसहित टिकादेवी अर्याल, राजेन्द्रकुमार वाटाजु, रामचन्द्र पोखरेल र लक्ष्मण अधिकारीको करिब २० करोडको सयुक्त लगानी रहेको छ । उक्त सभाहलमा एक दिनमा १० हजारसम्म क्षमतामा आफूहरुले सेवा सुविधा उपलब्ध गराउन सकिने दाबी आचार्यको छ । उक्त सभा सञ्चालन गर्दा ३ लाख रुपैयाँसम्म एक दिनको शुल्क लाग्छ । सेन्टरले हाल प्रत्यक्ष रूपमा २५ जनालाई रोजगार उपलब्ध गराएको छ ।

उक्त सेन्टरको केही फिनिसिङको काम बाँकी रहेको उल्लेख गर्दै आचार्यले अबको केही महिनापछि औपचारिक रूपमा उद्घाटन गरी सेवा सञ्चालन गर्ने बताए । उक्त सेन्टरले पोखरामा कला संस्कृति तथा भेसभुसाको समेत संरक्षण गर्ने गरी हरेक साँझ गण्डकी प्रदेशको कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छ ।

पोखरामा निजी क्षेत्रको लगानीमा यो सबैभन्दा ठूलो सभाहलसहितको इभेण्ट सेन्टर भएको दाबी पोखरेलले गरे । प्रकृति र संस्कृतिको धनि पोखरामा उक्त इभेण्ट सेन्टर स्थापना हुनुले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्