Logo

म्याग्दी ६ स्थानीय तहको बजेट ३ अर्ब

म्याग्दी– म्याग्दीको ६ स्थानीय तहले बजेट तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । स्थानीय स्रोतसाधनलाई उत्खनन् गरेर आयस्रोत बढाउने भन्दा पूर्वाधार केन्द्रित बजेट विनियोजन गर्दै सार्वजनिक गरेका हुन् ।

स्थानीय तहले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । म्याग्दीका पालिकाले तीन अर्ब १४ करोड ६४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाकाको आन्तरिक आम्दानीको अनुमानको आधार बजेट आकार निर्धारण गरी सार्वजनिक गरेका छन् ।

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रघुगंगा गाउँपालिकाले १७औँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४८ करोड ५० लाख बराबरको बजेट ल्याएको छ । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ५३ करोड २४ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४९ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ । धवलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४३ करोड २७ लाख रुपैयाँ बराबरको बजेट सर्वसम्मत रुपमा पािरत गरेको छ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधिको सुविधा ठूलो आकारमा खर्च हुनेछ भने विकासतर्फ कम बजेट हुने गर्छ । स्थानीय तहभित्रका स्रोतसाधनलाई प्रयोगान ल्याउने गरी उद्योग स्थापना गर्ने नीति लिए पनि रोजगार सिर्जना गर्ने उद्योग स्थापना गर्नेतर्फ बजेट विनियोजन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्