वायुसेवा र पर्यटनको अन्तरसम्बन्ध
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारण पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रमा यातायातका स्थल साधन विकट पहाडी क्षेत्रहरूमा पुर्याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्छ । तर, हवाई साधनको व्यवस्था गर्न पनि महँगो पर्छ ।
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातलाई पर्यटन–प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाईसेवाको कर्तव्य हो ।
अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पुर्याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थान यातायातको सुविधाबाट वञ्चित छन् । धेरैजसो जिल्लामा त सडकले छोएको समेत छैन । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन विकासमा यातायातका यस्ता पक्षहरूले अहम् भूमिका खेल्न सक्छन् ।
हाम्रो जस्तो पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटक भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाईसेवा हो । पर्यटन उद्योग नै देश विकासको मेरुदण्ड भएकाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ ।
अहिले प्रत्येक वर्ष लाखौं व्यक्तिले आन्तरिक हवाईयात्रा गरिरहेका छन् । हवाईसेवाकै कारण पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेको छ भने चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादन दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् । विश्व पर्यटन बजारको आम्दानीमा वृद्धि भई १ हजार अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको नेपालले १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्य जृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि हवाईसेवाबाट आय आर्जन गर्न त गरिरहेको छ, तर नेपालमा कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावका कारण अपेक्षित लाभ लिन सकिरहेको छैन ।
विश्वभरका करिब १.७ अर्ब पर्यटकले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्त क्षेत्रका हवाईसेवाहरूले आफ्नो परिवहन क्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासक्रमसँगै हवाई यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनमा हवाईसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकाले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो । नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजी स्तरका हवाई कम्पनी तथा विभिन्न ट्राभल एजेन्सी, टेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, यातायात व्यवसाय र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न संघ–संस्थाको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर, सम्बन्धित सम्पूर्ण निकायका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाका कारण आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाईसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धनतर्फ ध्यान नपुर्याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र राम्रो वित्तीय नीति लिएर द्वेष र दम्भ हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।
सरकारी नीतिनिर्धारण गर्नेहरू, चालक दल, हवाई कम्पनीमा काम गर्ने कर्मचारी, हवाई कम्पनीका मालिक, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्ति र उड्डयनसँग सम्बन्धित व्यक्तिका दृष्टिकोणहरूमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटन एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।
नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र अन्य ३५ वटा कच्ची विमानस्थल छन् । रातिको समयमा पनि उडान भर्न सक्ने ७ वटा विमानस्थल छन् । ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटनक्षेत्रलाई धेरै फाइदा पुर्याउनेछ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकको संख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थललाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
नेपालमा पूर्ण रूपले व्यवस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुनु अत्यन्त आवश्यक भइसकेको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नुपर्छ । अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटक बढी हुने मुलुकसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
नेपालका बारेमा समाचार सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी छन् भने तिनलाई सुधार गरेर ती कार्यालयमार्फत निगमले पर्याप्त मात्रामा प्रचारप्रसार गर्ने र नेपालका विषयमा उचित र जानकारीमूलक समाचार सम्प्रेषण गर्न पनि सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । नेपालभित्र आउने अन्य विदेशी एयरलाईन्सबाट करिब १ सय अर्ब रकमको कारोबार गर्छ भने नेपाल वायुसेवा निगमले ४–५ अर्ब मात्र कारोबार गर्छ ।
नेपालले कमाउने रकम सबै अन्य एयरलाइन्सले कमाउने गर्छन् । यसमा सरकारले ध्यान दिएको देखिँदैन । कुर्सी र आफ्नो स्वार्थका लागि यो देश ओरालो लागिसक्यो । राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूको एकचोटि देश बनाउनेतिर लाग्नु, सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।
नेपालभित्र रहेका गन्तव्य स्थलमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पुर्याउनेछ । पर्यटन–प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदम चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।
आन्तरिक हवाई उडानमा यात्रुको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने तर यसका लगि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघ–संस्थाको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न पर्यटन बोर्ड गर्नु र नेपाल पर्यटन बोर्डसँग त्यसले सामञ्जस्य राखी काम गर्नु पनि आवश्यक छ ।