Logo

देवघाटमा १४२ योजना सम्पन्न

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा एक वर्षको अवधिमा १४२ वटा योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ११६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएको देवघाट गाउँपालिकाले जनाएको छ ।

त्यसमध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक योजना रहेको गाउँपालिकाका इन्जिनियर तीर्थ ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार वडा नम्बर २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नम्बर १ गाउँपालिका प्रशासकीय भवन सम्पन्न हुने अन्तिम चरणमा छ । ढुंगानाले १० शैयाको देवघाट आधारभूत अस्पताल पहिलो ढलान सम्पन्न भई थप कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएको छ । गाउँपालिका अन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्य चौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मत कार्य सम्पन्न गरिएको उनले बताए । त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र २३० किलोमिटर सडक मर्मत सम्भार गरी यातायात सञ्चालन गरिएको उनको भनाइ छ ।

गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्यांकी निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उनका अनुसार रिस्ती खोला, देउतीखोला र चाँपखोलामा तीन वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डीपीआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षण कार्य भइरहेको जनाइएको छ ।

सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् । गाउँपालिका अन्तर्गत थप पाँच वटा विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको छ भने घिनाटारदेखि टाउनचोकसम्म मोटरबाटो कालोपत्रेको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै पिपलटारदेखि मधुवन चोकसम्म र भुवनटारमा सडक कालोपत्रे गर्ने कार्य अगाडि बढेको ढुंगानाले बताए ।

यस आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगममा ९९ वटा योजनाको अनुगमन गरी ६ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुमन समितिका संयोजक भुवनसिंह गुरुङले जानकारी दिए । सिचाइँतर्फ वडा नम्बर १ मा एउटा, वडा नम्बर २ को खाल्टेफाँटमा तीनवटा, वडा नम्बर ३ मा एउटा र वडा नम्बर ५ मा चार वटा गरी नौवटा सिचाइँ योजना सम्पन्न भएको जनाइएको छ । त्यसबाट करिब दुई हजार पाँच सय मिटर पक्की सिचाइँ कुलो निर्माण भएको छ ।

सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुई वटा लिफ्टिङ खानेपानी योजनामा समस्या आएका कारण उक्त लिफ्टिङ योजनालाई विद्युतीय माध्यमबाट एसी प्रणालीबाट जडान गरी सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ मा तीन वटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेको र वडा नम्बर ५ को झारखानीमा लिफ्टिङ सिचाइँ निर्माणाधीन अवस्थामा रहेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आम नागरिकको विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्