Logo

मर्चीगाउँका ६७ घरमा एक घर, एक धारा

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासलाई विशेष प्राथमिकता दिँदै आएको छ । वर्षौदेखि खोला नदीको दुषित पानी पिउन बाध्य हिमाबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन हिमाले खानेपानीको विकास र सरसफाइ क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको हो ।

पाँच वर्षमा हिमालाई पूर्ण रूपमा शुद्ध खानेपानीयुक्त पालिका बनाउने अभियानसहित गाउँ गाउँमा लाखौं खर्चिएर एक घर एक धारा निर्माणको अभियान चलिरहेको छ । जसअन्तर्गत हिमा गाउँपालिका–७ को मर्चीगाउँमा ६७ घरमा स्वच्छ खानेपानी धारा निर्माण भएका छन् ।

नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियन र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित दिगो खानेपानी सरसफाइ तथा स्वछता (सुस्वा) परियोजनाअन्तर्गत हिमा–७ मर्चीगाउँका ७६ घरमा एक घर एक धारा निर्माण गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । बार्खेडाडा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएपछि शनिबार एक कार्यक्रमका बीच उक्त आयोजना समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष शाहीको भनाइ छ ।

सरकारी लगानीमा निर्माण भएका अधिकांश संरचना दिगो समयसम्म नटिक्ने र एउटै योजनामा दोहोर्‍याएर लगानी गर्नुपर्ने बाध्यता रहेकाले गाउँमा बनेका विकास संरचनालाई जोगउन अध्यक्ष शाहीले स्थानीयलाई अपिल गरे । स्थानीयमा गाउँमा बनेका संरचनाप्रति अपनत्व विकास नभएसम्म लगानीको दीर्घकालीन उपलब्धि नदेखिने भएकोले सामाजिक रूपान्तरण र विकासमा एकजुट हुनुपर्ने उपाध्यक्ष सुर्पना शाहीको भनाइ छ । पाँच वर्षको अवधिमा हिमाका ७ वटै वडामा खानेपानी पुर्‍याइने पालिकाले लक्ष्य लिएको छ ।

आँगनमै स्वच्छ खानेपानी धारा पुगेपछि मर्चीबासी उत्साहित भएका छन् । वर्षौदेखि खोला नदीको दुषित पानी पिउन बाध्य स्थानीय आँगनमै धारा छर्किएपछि उत्साहित भएका हुन् । जिल्लाका आठ पालिकामध्ये हिमा गाउँपालिकाले खानेपानी विकास तथा सरसफाइ क्षेत्रमा जिल्लामै उदाहरणीय काम गरेको छ । आधारभूत आवश्यकताभित्र पर्ने खानेपानी विकास प्रायः स्थानीय सरकारको प्राथमिकतामा छैन ।

सुस्वा परियोजना संयोजक सुमिता शाहीले पालिकाको साझेदारी र सुस्वा परियोजनाको लगानीमा हिमाका घरघरमा स्वच्छ खानेपानी पुर्‍याई अभियान थालिएको बताइन् । उनले भनिन्, ‘खानेपानी विकाससँगै मर्यादित तथा स्वच्छ महिनावारी, किशोरी तथा महिलाको क्षमता विकास, उपभोक्ता तथा मिस्त्रीको क्षमता विकासमा समेत लगानी गरेका छौं । आगामी दिनमा खानेपानी पूर्वाधार विकाससंँगै व्यवहार परिवर्तनका समेत कार्यक्रम गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्