Logo

मनसुन केन्द्रित विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल

काठमाडौं– एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाको द्रुतगतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ ।

एनसेलले विपद् पूर्वतयारी र प्रतिकार्यको तयारीका रूपमा मनसुन सम्बन्धी प्रकोपका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) गठन गरेको छ । यी टोलीलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ ।

विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ । विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्य नजर गरेर एनसेलले आफ्ना टावरमा ब्याट्री ब्याकअपको व्यवस्था गरेको छ । यी ब्याट्रीले लगातार विद्युतको आपूर्तिमा समस्या आएमा ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा सञ्चालन गरी आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरूले धेरै ठूलो महत्व राख्दछ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्