भिन्न सरकारलाई भिन्न चस्माले हेरियो’ «

भिन्न सरकारलाई भिन्न चस्माले हेरियो’

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्न सरकारलाई भिन्न भिन्न चश्माले हेरेको आरोप लगाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले राष्ट्रपति संविधानको मूल मर्म र भावनाविपरित गएको भन्दै असन्तुष्टि जनाएको हो ।
राष्ट्रियसभामा कांग्रेस सभापति शेरबहादुर दउवा प्रधानमन्त्री हुँदा गरिएका ३ जनाको सिफारिस फिर्ता लिँदै केपी ओली नेतृत्वकोे सरकारले गरेको सिफारिस सदर गरेपछि कांग्रेसले पत्रकार सम्मेलन गरेरै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
“यो सिफारिस संविधानको धारा ८६ को उपधारा २ को (ख) बमोजिम थियो । धारा ८६ को उपधारा २ को क सक्रिय भइसक्दा खुलाई सक्रिय तुल्याउन संविधानतः स्वभाविक प्रकृया थियो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रस्ट व्यवस्थाअनुरुप सो सिफारिस स्वीकृत गर्नैपथ्र्यो । भिन्न–भिन्न सरकारलाई भिन्न–भिन्न चश्माले हेरेर राष्ट्रपतिजस्तो संस्थाबाट व्यवहार प्रस्तुत हुनुलाई गम्भीर रुपमा लिँदै संविधानको मूल मर्म र भावना विपरित यो निर्णय रहेको ठहर नेपाली कांग्रेस गर्दछ ।”
सरकारले बिनातर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएको शर्माले बताए । उनले यसअघिका निर्णय उल्ट्याउँदै सरकारले गरेको निर्णयले आगामी दिनमा सत्ता र प्रतिपक्षबीच दूरी बढ्ने चिन्ता पनि व्यक्त गरे ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले डा. युवराज खतिवडा, रामनारायण बिँडारी र डा. विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । तीनैजना राष्ट्रपतिबाट मनोनितसमेत भइसकेका छन् । देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गरेपनि लामो समय राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्