पञ्चकन्याले गर्यो १ हजार योजनामा बजेट विनियोजन
नुवाकोट– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र योजना तथा बजेट स्वीकृत गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते नै नीति तथा कार्यक्रम र योजना तथा बजेट पेस गरेको हो । यस पालिकाको कुल ४७ करोड ३६ लाख बजेटमा ९५२ योजना सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका उपाध्यक्ष विमला केसीले प्रस्तुत गरेको बजेटको प्राथमिकतामा गाउँपालिकाको सवलीकरण र सार्वजनिक सेवा प्रवाहमा सुधार, गुणस्तरीय भौतिक पूर्वाधार, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, कृषि र पर्यटक क्षेत्रको विकास र प्रवर्द्धन, औद्योगिक विकास र नीति क्षेत्रको प्रवर्द्धन, वातावरण संरक्षण र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना रहेका छन् ।
यस गाँउपालिकाले हरेक क्षेत्रमा श्लोगान तथा नारा नै तयार पारी जनआर्कषण बढाउने प्रयास गरेको छ । ‘जग्गा बाँझौ नराखाैं, कृषि कर्मलाई सम्मान गरौं’ ‘न्यूनतम जग्गा समर्थन’ ‘मूल्य बेजरोजगारीलाई माटो उपहार’ जस्ता नारा तय गरेको छ । यसैगरी ‘खेतीपातीमा प्रविधि सेवा, उत्पादनमा टेवा’ ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ ‘धर्म र पर्व, हाम्रो गर्व’ ‘महिलासँग जनप्रतिनिधि’ ‘गुणस्तरीय स्वास्थ्य उपधारः जनताको अधिकार’ ‘स्वच्छ र सफा पिउने पानी, स्वस्थ जिन्दगानी’ ‘घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ ‘खेल खेलाडीको लागि, खेलाडी राष्ट्रका लागि’ नारा तय गरेको छ ।
कृषि विकासमार्फत रोजगारी सिर्जना र गरिवी निवारण गर्ने लक्ष्य प्राप्तिका लागि ७० लाख बजेट विनियोजन गरिएको छ । जग्गामा सिँंचाइ सुविधा पुर्याई कृषि उत्पादन वृद्धि गर्नका लागि ४२ लाख बजेट विनियोजन गरिएको छ । सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर तीन रुपैयाँ अनुदानका लागि १० लाख विनियोजन गरिएको छ । पशु स्वास्थ्य परामर्श, आधारभूत औषधी वितरण, पशु विमा कार्यक्रम र पशु पंक्षी प्रवर्द्धन कार्यक्रमका लागि २१ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी उद्योग व्यवसाय प्रवर्द्धन गर्न, सार्वजनिक निजी साझेदारी कार्यक्रम गर्न उद्योग वाणिज्यतर्फ २३ लाख बजेट विनियोजन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि ११ लाख र भाषा संस्कृतितर्फ एक करोड ५६ लाख विनियोजन गरिएको छ । सहकारी क्षेत्रका लागि १४ लाख, सहिद स्मारक पर्यटकीय पार्क निर्माण, खेल मैदान स्तरोन्नतिका लागि १५ लाख, श्रम तथा रोजगार क्षेत्रमा ९७ लाख बजेट विनियोजन गरिएको छ ।
महिला स्वयंसेविका प्रोत्साहन भत्ता र सम्मानजनक बिदाइका लागि २६ लाख, जनस्वास्थ्य तथा पोषण क्षेत्रमा तीन कारोड ६३ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा तथा सीप विकास तालिम र पारिश्रमिका लागि १४ करोड १७ लाख, खानेपानी योजनातर्फ एक करोड २२ लाख बजेट विनियोजन गरिएको छ ।
सौर्य ऊर्जा उत्पादन प्रोहत्सानका लागि १३ लाख, पेपरलेस पालिका बनाउने कार्यक्रमका लागि ४८ लाख, प्रकृति प्रकोप न्यून गर्न ४० लाख, प्रारम्भिक वातावरणीय परिक्षणका लागि १० लाख, सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षणका लागि पाँच लाख, न्यायायिक समितिलाई १० लाख, सूचनाको हकसम्बन्धी कानुनको पूर्ण सम्मान र पालिकाका लागि एक करोड ६ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये २८ करोड ९३ लाख चालुतर्फ र १८ करोड ४३ लाख पुँजीगतर्फ विनियोजन गरिएको छ ।
आव २०८१/०८२ को आयतर्फ पालिकाको आन्तरिक राजस्वबाट ८० लाख, स्थानीय राजस्व बाँडफाँटबाट ३७ लाख, संघीय वित्तीय हस्तान्तरणबाट ३७ करोड ४३ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट सात करोड ३५ लाख अन्य स्रोतबाट दुई करोड ५२ लाख बेहोर्ने अनुमान गरिएको छ ।