Logo

चरिकोट–देउराली सडक ३० वर्षपछि कालोपत्रे

दोलखा– चरिकोटबाट कालिञ्चोक जाने चरिकोट–देउराली सडक ३० वर्षपछि कालोपत्रे भएको छ । यो सडकमा कालोपत्रे भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज भएको छ । सडक ट्रयाक खुलेको ३० वर्षपछि सडक विस्तार गरी कालोपत्रे गरिएको हो । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत् विस्तार भएको सडकको सम्पूर्ण काम पूरा भएको हो ।

सडकको बाल, नाली, कल्भर्टलगायतका पूर्वाधारका सम्पूर्ण संरचना पूरा एक महिनाअघि कालोपत्रे पूरा गरेको सडकको अहिले रङरोगन र ट्राफिक चिन्ह प्नि केही दिनअघि राखिएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर प्रतिक पौडेलले सडकको सम्पूर्ण काम पूरा भएको जानकारी दिए । ‘ठेकेदारले सम्झौता अनुसारको काम सबै पूरा गरेको छ,’ उनले भने, ‘अब अन्तिम बिल बनाउने र भुक्तानीको काममात्रै बाँकी हो । त्यो पनि केही दिनमा पूरा हनेछ ।’

देउरालीदेखि सुरु गरेको कालोपत्रे अघिल्लो जेठमै एक किलोमिटर पूरा भएको थियो । एक वर्षअघि लगातार पानी परेर रोकिएको काम यस वर्ष समयमै पूरा भएको हो । सडक कालोपत्रे साढे पाँच किलोमिटर छ । यसको चौडाइ साढे ६ मिटर छ । यसले दुईतर्फी सहजै गाडी आवतजावत गर्न सक्छ । १८ महिनामा पूरा गर्ने गरी २०७९ भदौ २ गते जय धनन्जय/गणेश कुण्ड/भुजेल जेभी ओखलढुंगाले लिएको ठेक्का २०८० फागुनमा पूरा गर्नु पथ्र्यो ।

निर्माण व्यवसायीका प्रतिनिधि सुदीप सुनुवारले समयमा साइट क्लियर २०८० साउनदेखि मंसिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए । ‘ठेक्का सम्झौताअनुसार १८ महिना भए तापनि दुई महिना ढिला गरी पूरा भएको बताए । ‘हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामको गति दिएका थियौं,’ निर्माण व्यवसायी सुनुवारले भने, ‘सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नु पर्‍यो, क्रसर बन्दले निर्माण सामग्री पाएनौं ।’

सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका–६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युतका पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम नै ढिला भएको निर्माण व्यवसायीले बताए । ढल विकासको कामले पनि सडकको सतह नै बिगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको १७ करोड ३५ लाखमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाख ४५ लाखमा सम्झौता गरेको छ ।

पूर्वनिर्धारित डिजाइनअनुसार काम थपिएपछि लागत पनि केही बढेको छ । सम्झौता अनुसारको समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको छ । चरिकोटदेखि देउराली सडक तत्कालीन जिल्ला विकास समितिले २०५०।५१ मा ट्रयाक खन्न सुरु गरेको थियो । जिविसले सडक निर्माणका लागि डोजर ल्याएपछि सबैभन्दा पहिला यही सडक खनेको हो । देउरालीदेखि कालिञ्चोक सडक भने २०६२ पछिमात्रै ट्रयाक खुलेको हो ।

भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान बनाउन महत्वपूर्ण हुने बताए । चरिकोटबाट कालिञ्चोक जाने सडक राम्रो नहुँदा मकैबारीबाटै पर्यटक कालिञ्चोक जाने गरेका छन् । चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनु पर्ने माग गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।

तर निर्माण व्यवसायीको ढिलासुस्तीको कारण ठेक्काको म्याद पटकपटक थप हुँदासमेत कालोपत्रे र ढलानको काम पूरा हुन सकेको छैन । नगरप्रमुख मानन्धरले अब आफ्नो ध्यान देउरालीदेखि कालिञ्चोकसम्मको सडक सुधारमा हुने बताए । कालिञ्चोक आउने पर्यटक १२ महिना सजिलै आउन सकून् भन्नेमा हाम्रो जोड रहेको उनले बताए । देउरालीदेखि कुरीसम्म १२ किलोमिटर सडक रहेको छ । त्यसमध्ये पाँच किलोमिटर कालोपत्रे र ढलानका लागि ठेक्का आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस्