प्रतिपक्षीको असहमतिकाबीच बजेट पारित
हेटौंडा– विपक्षी दलहरुको असहमतिकाबीच बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिएको छ । बिहीबार राति प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित गरिएको हो । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सदनमा पेश गरेको अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेस गरेकोमा नेपाली कांग्रेस, राप्रपा र नेमकिपाका गरी ५३ सांसदले बजेट पारित गर्न असहमति राखेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका गरी ५६ जना बहुमत सांसदहरुले बजेटको पक्षमा रहेर बहुमतले पारित गरेका थिए ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखेकोमा सो प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो । बैठकमा कांग्रेस सांसद प्रभात तामाङ, कृष्णकुमार तामाङ, छिरिङदोर्जे लामा, रामकृष्ण चित्रकार, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सैजुले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
गत असार १ गते प्रदेश सरकारले चालु वर्षको तुलनामा एक अर्ब ८४ करोड बढी आम्दानी र खर्च अनुमानसहित आगामी वर्षकोलागि ६४ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेको थियो । प्रदेशले कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
बजेटमाथि केहीदिनअघिदेखि निरन्तर छलफल गरिएको थियो । बिहीबार करिब ९ घण्टासम्म पटकपटक प्रदेशसभाको बैठक राखी छलफल गरिएको थियो । छलफलमा उठेका विषयमा सबै मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट निर्णायार्थ प्रस्तुत गरिएको थियो ।