२ जिल्लाको संयुक्त पर्व न्वागी आजबाट सुरु «

२ जिल्लाको संयुक्त पर्व न्वागी आजबाट सुरु

गुल्मी-पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्व अर्थात् न्वागी मेला आज (आइतबार)बाट सुरु हुँदैछ । शनिबारसम्म सञ्चालन हुने महोत्वसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
पौदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा यस वर्ष पनि बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित खार बजारमा मेला लाग्ने भएको छ । मेलाको प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

नयाँ अन्न भित्र्याउँदाको खुसी
यस मेलालाई पौदीबासीहरूले यस क्षेत्रकै पर्वको रूपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गर्दछन् । खेत भएकाले खेत नभएकालाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । दशकांैदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
परापूर्व कालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेकोमा बूढापाकाले गुनासो गर्ने गरेका छन् ।

न्वागीको सुरुवात
नेपालको ऐतिहासिक अध्ययन क्रममा १२औं शताब्दीको तत्कालीन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५औं शताब्दीतिर उक्त राज्य टुक्रिएर स–साना टुक्रे राज्य हुँदै बागलुङको ग्वालीचौर ईस्मा राज्यअन्तर्गत पथ्र्याे । गुल्मीको नेटा, पौदीअमराई, ईस्मा र ग्वालीचौरमा ८० घर थिए । त्यसलाई ईस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको समितिका अध्यक्ष कलाधर घिमिरे बताउँछन् ।
बाईसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, ईस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट ईस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलितसमेत मिलेर न्वागी खाने गर्छन । कृषकहरूले उत्पादन गरेका नगदे, हिउँदे, खाद्यान्न, बेमौसमीलगायतका कृषि प्रदर्शनी गरेवापत कृषकहरूलाई सम्मान गरिने समितिका सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

दुई जिल्लाको पर्व
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रसिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, ईस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षेत्रकै महत्वपूर्ण पर्वको रूपमा स्थापित भएको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखालगायत देशका विभिन्न भागमा पनि मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्