Logo

धार्चेको बजेटमा सामाजिक विकासलाई प्राथमिकता

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले सामाजिक विकासलाई प्राथमिकता दिँदै आगामी वर्षको बजेट पारित गरेको छ । सोमबार भएको १६औं गाउँसभामा पालिकाकी उपाध्यक्ष सुनीला गुरुङले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको ४५ करोड २१ लाख रुपैयाँको बजेट पारित भएको हो । प्रस्तुत बजेटअनुसार कृषि तथा पशु व्यवसायको आधुनिकीकरण, सडक स्तरोन्नति, गुणस्तरीय स्वास्थ्य तथा प्राविधिक शिक्षा, जनताको आयआर्जन वृद्धि लगायतलाई प्राथमिकता दिइएको छ ।

सामाजिक विकासतर्फ २३ करोड २१ लाख रुपैयाँ बजेट राखिएको उनले बताइन् । यसअन्तर्गत शिक्षा, भाषा तथा साहित्यतर्फ १४ करोड ३३ लाख रुपैयाँ, स्वास्थ्य तथा पोषणतर्फ पाँच करोड १० लाख रुपैयाँ, खानेपानी तथा सरसफाइतर्फ दुई करोड ९० लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरणमा ३४ लाख रुपैयाँ, युवा तथा खेलकुदतर्फ ३९ लाख रुपैयाँ र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणतर्फ १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

गाउँसभामा दिइएको जानकारीअनुसार आर्थिक विकासतर्फ दुई करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअनुसार कृषि तथा खाद्य सुरक्षामा ७२ लाख रुपैयाँ, सिँचाइमा नौ लाख, पशु सेवामा ५८ लाख रुपैयाँ, उद्योग व्यवसायतर्फ २५ लाख रुपैयाँ, पर्यटन तथा संस्कृतितर्फ ४४ लाख रुपैयाँ, भूमि व्यवस्था र सहकारीतर्फ पाँच लाख रुपैयाँ र श्रम रोजगार तथा गरिबी निवारणतर्फ ८२ लाख रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाले पूर्वाधार विकासतर्फ आठ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यसमा बस्ती विकास आवास तथा भवनमा तीन करोड ३० लाख रुपैयाँ, सडक, यातायात तथा पुलमा चार करोड ८५ लाख रुपैयाँ, जलस्रोत, विद्युत तथा वैकल्पिक ऊर्जातर्फ पाँच लाख र सूचना तथा सञ्चारमा १० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष गुरुङले बताइन् । वन तथा वातावरण क्षेत्रतर्फ एक करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ । जसमा वन भू संरक्षण र जैविक विविधतामा २३ लाख रुपैयाँ, जलवायु परिवर्तन अध्ययनका लागि १५ लाख रुपैयाँ, वातावरण तथा फोहोरमैला व्यवस्थापनमा ६६ लाख रुपैयाँ र विपद् व्यवस्थापन कोषका लागि ३२ लाख रुपैयाँ राखिएको छ ।

संस्थागत विकासतर्फ नौ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये नीति, कानुन, न्याय र सुशासनतर्फ १५ लाख रुपैयाँ, संगठन मानव संशोधन र क्षमता विकासमा नौ लाख १३ हजार रुपैयाँ, राजस्व तथा स्रोत परिचालनमा एक लाख र तथ्यांक, योजना तथा विकास परिचालनमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको गाउँसभामा जानकारी दिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक वर्षको बैंक मौज्दातलाई आधार मानेर बजेट तयार पारिएको उपाध्यक्ष गुरुङले बताइन् ।

पालिकाले आगामी वर्ष आन्तरिक आम्दानी ६० लाख रुपैयाँ हुने प्रक्षेपण गरेको छ । अनुदान तथा राजस्व बाँडफाँटमा संघ सरकारबाट ३७ करोड ५२ लाख रुपैयाँ र प्रदेश सरकारबाट तीन करोड नौ लाख रुपैयाँ प्राप्त हुने सभामा जानकारी दिइएको छ । बैंक मौज्दात चार करोड रुपैयाँलाई पनि बजेट निर्माणमा राखिएको उपाध्यक्ष गुरुङले बताइन् ।

चुमन्रुबीको बजेट ३८ करोड
गोरखाको चुमनुब्री गाउँपालिकाले ३८ करोड १५ लाख रुपैयाँको बजेट पारित गरेको छ । सोमबार भएको गाउँपालिकाको १६औं गाउँसभाले गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गरेको ३८ करोड १५ लाख रुपैयाँको बजेट पारित गरेको हो । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतका आधारमा आगामी वर्षको बजेट तयार पारेको उपाध्यक्ष गुरुङले बताइन् ।

पालिकाले आागमी वर्ष संघ सरकारबाट २८ करोड २० लाख रुपैयाँ, प्रदेश सरकारबाट दुई करोड ५६ लाख रुपैयाँ प्राप्त हुने र आन्तरिक आम्दानी २९ लाख ८२ हजार रुपैयाँ हुने अनुमान गरेको छ । यस्तै, चालु आर्थिक वर्षको बैंक मौज्दात ६ करोड ५० लाख रुपैयाँ पनि समेटेर आगामी वर्षको बजेट बनाइएको छ । प्रस्तुत बजेटअनुसार पाङसिङ छिहीदेखि रुक्जुङ हुँदै उदेजुङ नेल्डोमा पर्यटकीय पदमार्ग निर्माणका लागि नेपाल सरकारबाट ६० लाख रुपैयाँ प्राप्त भएकोमा पालिकाले पनि सोही बराबर रकम विनियोजन गरेको छ ।

वडामा सम्भाव्यताका आधारमा स्याउ, दाँते ओखर, लसुन, आलुलगायतका बीउ तथा बेर्ना उपलब्ध गराउन १८ लाख रुपैयाँ, प्रकोप व्यवस्थापन कोषका लागि २५ लाख रुपैयाँ, पालिकामा प्राकृतिक विपत्तिबाट आउने समस्या समाधानका लागि तत्काल राहत, उद्धार र पुनःस्थापना शीर्षकमा २० लाख रुपैयाँ विनयोजन गरिएको गाउँसभामा जानकारी दिइएको छ । उपाध्यक्ष महिला सशक्तीकरण कार्यक्रमका लागि १० लाख रुपैयाँ, अध्यक्षकप खेलकुद कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ, भर्खरै सडक सञ्जालमा जोडिएकोले पालिकाको सवारी साधन खरिदका लागि एक करोड ३० लाख रुपैयाँ र दुर्गम सो पालिकामा कर्मचारी आवास सुविधाका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, गाउँपालिकाभित्र कार्यरत कर्मचारी तथा पदाधिकारी कामका सिलसिलामा घाइते भएमा आपतकालीन उद्धारका लागि १० लाख रुपैयाँ, कर्मचारी र जनप्रतिनिधीको क्षमता अभिवृद्धि कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि १८ लाख रुपैयाँ र प्रोफाइल निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सिद्ध गणेश आधारभूत विद्यालय र सेराङगी गुम्बा आधारभूत विद्यालयमा छात्रावास सुविधाका लागि १० लाख रुपैयाँ, गाउँपालिकामा योगदान गर्ने व्यक्तिलाई सम्मानका लागि सात लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाको आन्तरिक आम्दानी बढाउन आन्तरिक राजस्व सुधार कार्ययोजना निर्माण गरी लागू गर्ने उपाध्यक्ष गुरुङले बताइन् । स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व संकलन, कर तथा गैरकर राजस्वको परिचालनलाई थप व्यवस्थित गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्