तातोपानीका नमुना कार्यक्रमः गोठालादेखि एकल पुरुषसम्मलाई भत्ता
जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि यहाँका अन्य सात पालिकाभन्दा केही नयाँ कार्यक्रम ल्याएको छ ।
तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले रोजगारी सिर्जना, उद्यमशिलता, पर्यटन प्रवद्र्धन, उत्पादन वृद्धि, उच्च शिक्षा, व्यवसायलगायत क्षेत्रमा नयाँ कार्यक्रम ल्याएका हुन् । यी कार्यक्रम कार्यान्वयनमा लैजान पालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समिति संयोजक रेवती रावलले आवश्यक बजेट पनि विनियोजन गरेकी छन् । तातोपानीका कार्यक्रमहरुमा डाक्टर पढाउनेदेखि एकल पुरुषलाई भत्ता दिनेसम्म छन् ।
तातोपानीको बजेटमा आफ्नै पालिकामा डाक्टर उत्पादन गर्न एमबीबीएस पढाउने उल्लेख छ । विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गरिने बजेटमा भनिएको छ । वर्षमा एक जनालाई ५० प्रतिशत अनुदान उपलब्ध गराएर एमबीबीएस पढाउन १५ लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए । पढाइ सकेपछि कम्तीमा पाँच वर्ष पालिकामै सेवा गर्नु पर्नेछ ।
यसैगरी पालिकाभित्र भेडापालनको सम्भावना र अवसरलाई मध्यनजर गर्दै यसमा किसानलाई आकर्षित गर्न गोठालो भत्ता कार्यक्रम ल्याइएको उपाध्यक्ष रावलले बताइन् । उनले भनिन्, ‘हाम्रो पालिकाले भेडापालनमा निकै सम्भावना बोकेको छ । किसानलाई व्यावसायिक भेडापालनमा हौस्याउन गोठालो भत्ता कार्यक्रम ल्याएका छौं । एक सयभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक ५ सय रुपैयाँ भत्ता दिइनेछ ।’ कर्णालीमा प्रदेश सरकारले पनि गोठालो भत्ता कार्यक्रम ल्याएको छ तर यसले निरन्तरता पाउन सकेको छैन ।
यसैगरी तातोपानीले विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यो कार्यक्रमका लागि १० लाख विनियोजन भएको छ । अब तातोपानीका विपन्न परिवारका छोराछोरीले निःशुल्क लोकसेवा तयारी कक्षा पढ्न पाउनेछन् । यसैगरी सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि जिल्लामै पहिलोपटक शैक्षिक कचहरी कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रम सञ्चालन गर्न ५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाई स्थानीय उत्पादनलाई बढावा दिन दिवा खाजालाई अनिवार्य अर्गानिक बनाइने नीति पालिकाले लिएको छ । पालिकाका २९ वटै सामुदायिक विद्यालयमा अर्गानिक खाजा खुवाउने नीति लिइएको अध्यक्ष चौलागाईंले उल्लेख गरे । उनले भने, ‘विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा सञ्चालित स्थानीय कृषि उपजमा आधारित अर्गानिक दिवा खाजा कार्यक्रम सबै विद्यालयमा लागु गरिनेछ । यसका लागि एक करोड विनियोजन भएको छ ।’
दिवा खाजा अनिवार्य अर्गानिक गरिने नीतिले उत्पादन बढ्ने र विद्यालयमा विद्यार्थी पनि बढ्ने अपेक्षा पालिकाको छ । स्थानीय कृषि उपजमा आधारित अर्गानिक दिवा खाजा कार्यक्रमका लागि विश्व खाद्य कार्यक्रमले ५३ लाखभन्दा बढीको कार्यक्रम सञ्चालन गर्दैछ ।
पछिल्लो समय बाढी, पहिरो तथा भूकम्पीय जोखिमका कारण बढ्दो भौतिक क्षतिलाई मध्यनजर गर्दै पालिकाभरका ३३ सय घरधुरीकै निःशुल्क घर बीमा गर्ने नीति ल्याइएको छ । सबै पालिकाबासीको घर बीमा गर्न २० लाख विनियोजन गरिएको छ ।
आर्थिक अभावका कारण सामान्य उपचार गराउन विपन्न समुदायका नागरिक वञ्चित छन् । विपन्न समुदायलाई विशेषज्ञ उपचारको पहुँचमा पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको अध्यक्ष चौलागाईंले उल्लेख गरे । यो कार्यक्रमका लागि १६ लाख बजेट छुट्याइएको छ । निःशुल्क बीमापछि विपन्न नागरिक स्वास्थ्य उपचारको पहुँचमा पुग्ने आशा छ ।
अन्तरजातीय बिहे गरेका जोडीलाई प्रोत्साहन गर्ने र जातीय विभेदलाई नित्साहित गर्ने मनसायले दलित उत्थान कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रमका लागि ५ लाख छुट्याइएको छ । त्यसका साथै आर्थिक रुपमा विपन्न सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित बाहेक अन्य एकल पुरुषलाई तातोपानीले एकल पुरुष भत्ता कार्यक्रममार्फत भत्ता दिने भएको छ । यसका लागि ४ लाख विनियोजन गरिएको छ ।
बेरोजगारका रुपमा सूचीकृत र तर कामविहीन युवाको सीप र क्षमतालाई मध्यनजर गरी स्वरोजगार उत्पादनसँग जोडेर युवा व्यावसायिक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । यसले युवालाई रोजगारीसँगै गाउँको विकासले गति लिने अपेक्षा छ ।
यसबाहेक तातोपानीले श्रमदान कार्यक्रमको निरन्तरता, योजना बीमा, सांस्कृतिक महोत्सव, गाउँ–गाउँमा स्वास्थ्य घुम्ती शिविर, उपभोक्ता समितिको क्षमता विकासलगायत कार्यक्रम ल्याएको छ ।