दसैंतिहारमा घर गएका शिक्षक अझै फर्केनन्

मुगु जिल्लाको सोरु गाउँपालिका अन्तरगत रहेको भवानि माध्यमिक विद्यालय पुरुमुरुमा कार्यरत शिक्षकहरु दसैंतिहार मान्न गएकोमा अझै फर्केका छैनन् । यसले गर्दा पठनपाठनमा निकै समस्या भएको छ ।
दसैंतिहारको समयमा घर बिदामा गएका विद्यालयका प्रधानाध्यापक लगाएत आधा दर्जन शिक्षक विद्यालयमा नपुग्दा नियमित पठनपाठनमा निकै समस्या आएको बताइएको छ । विद्यालय सन्चालन कात्तिक १४ गतेबाट भए पनि शिक्षक आएका छैनन् । “हामी विद्यार्थीहरु नियमित विद्यालय आउँछौं तर शिक्षक नहुँदा घाम तापेर घर जाने गरेका छौं,” कक्षा नौमा अध्ययनरत एक छात्राले भनिन् ।
दसैंतिहारमा घर बिदामा गएका शिक्षक केही न केही बहाना बनाएर अहिलेसम्म नफर्केको बताइएको छ । गाउँपालिका भरिका विद्यालय कात्तिक दोस्रो साताबाट सञ्चालनमा आइसकेका छन् । विद्यालय १४ गतेबाट सन्चालन भएको भए पनि विद्यार्थीहरु कम आउने भएको हुँदा अलि पढाइमा ढिलो भएको निमित्त प्रधानध्यापक सुरिन्द्र शाहीले बताएका छन् ।
सोरु गाउँपालिका त उदाहरणमात्र हो । अन्य विद्यालयमा पनि दसैं तिहारमा जिल्ला बाहिर वा जिल्ला भित्र घर भएका धेरै शिक्षकहरु आएका छैनन् । प्रभावकारी अनुगमन नहुँदा विद्यार्थी मर्कामा परेको अभिभावकको गुनासो छ ।
दान बहादुर बुढा