पार्टी एकता घोषणालगत्तै दाहाल निवास पुगे चिनियाँ नेता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले भेटवार्ता गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि सात बुँदे सहमति भएको भोलिपल्टै मंगलबार बिहान दाहाल निवास खुमलटार पुगेर उपमन्त्री येझाऊले उक्त सात बुँदे सहमतिबारे अध्यक्ष दाहालसँग जिज्ञासा राखेका छन् ।
जवाफमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताए । एमाले र माओवादी एकता नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताएका दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने दाबी गरे ।
चिनियाँ उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए । सो भेटवार्ताको अवसरमा अध्यक्ष दाहाल र उपमन्त्री येझाऊबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगकाबारेमा पनि छलफल भएको दाहालको निजी सचिवालयले जानकारी दिएको छ ।
चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुराउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उपमन्त्री येझाऊको प्रतिबद्धता छ ।
उक्त भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती सी जिनपिङले लेखेको पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२’ हस्तान्तरण गरेका थिए ।