रत्ननगरको बजेट चालू आवको भन्दा करिब तीन करोड कम
चितवन– रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब ४३ करोड ५३ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक यादवप्रसाद पाठकले १५औं नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् । नगरपालिकाले चालु आवभन्दा दुई करोड ९६ लाख कम बजेट ल्याएको छ । चालु आवका लागि नगरले एक अर्ब ४६ करोड ४९ लाख २६ हजार संशोधित बजेट विनियोजन गरेको थियो ।
कुल विनियोजित रकममध्ये चालूतर्फ ९४ करोड ६७ लाख रहेकोमा ५९ करोड ३० लाख खर्च भएको छ । जसमा सामाजिक सुरक्षा र शिक्षक कर्मचारीको तलब समावेश गरिएको छैन । यस्तै, पुँजीगत खर्चतर्फ ६६ करोड २१ लाख विनियोजन भएकोमा ४० करोड ४५ लाख अर्थात् ८० प्रतिशत खर्च भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ६० करोड ८९ लाख प्रस्तावित बजेट अनुमान गरेकोमा १४ करोड ३९ लाख अर्थात् २६.४४ प्रतिशत बजेट कटौती भई राजस्व बाँडफाँटको रकम सिलिङबमोजिम प्राप्त नहुँदा संशोधित बजेट एक अर्ब ४६ करोड ४९ लाख २६ हजारमात्र विनियोजन भएको थियो । नगरपालिकाले आन्तरिक आयतर्फ पनि लक्ष्यअनुरुप रकम उठाउन नसक्दा विकास निर्माणलगायत वडा बजेटको सिलिङमा समेत प्रभावित भएको उपप्रमुख यादवले बताए ।
२०८१/०८२ का लागि आन्तरिक राजस्वबाट कुल आम्दानी १३ करोड २० लाख रुपैयाँ, आन्तरिक संचित कोष दुई करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ करोड ७८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी वित्तीय समानीकरण अनुदान १८ करोड ६६ लाख रुपैयाँ र सशर्त चालू तथा पुँजीगत अनुदान ३७ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदान दुई करोड २० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड २० लाख रुपैयाँ गरी संघीय सरकारबाट कुल ६१ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँटबापत ११ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबापत एक करोड ९५ लाख १९ हजार रुपैयाँ, सशर्त चालू तथा पुँजीगत अनुदानतर्फ ६ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड र विशेषतर्फ ६५ लाख गरी १२ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, सडक बोर्डतर्फ एक करोड र अन्य अनुदान तथा सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी हुने अनुमान गरिएको उपप्रमुख यादवले जानकारी दिए । वडागतरुपमा १५ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैबीच, रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि सेवा तथा कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकारका लागि विनियोजन विधेयेक–२०८१ सर्वसम्मतबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
सौराहालाई पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गरिने
रत्ननगर नगरपालिकाले ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ, सफा, हरियाली तथा घुम्न लायक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै नवीन पर्यटकीय सेवा र कार्यहरुको पहिचान कार्यान्वयन गर्ने बताए ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहालाई यथाशीघ्र पर्यटकीय क्षेत्र घोषणाका लागि पहल गर्ने, पर्यटन प्रवद्र्धनका लागि सौराहामा पर्यटन सूचना केन्द्र स्थापना गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको सहजीकरणका लागि नगर पर्यटक प्रहरीको व्यवस्था गरी आवश्यक सहयोग गरिने नगरप्रमुखले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको स्वीकृतिमा टिकौली चौरमा कृष्णसार व्यवस्थापन स्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले विभागकै सहमतिमा बर्दियाबाट कृष्णसार ल्याउने, सोही क्षेत्रमा निर्माणाधीन हरियाली पार्क, लौरीघौल ताल र पञ्चनदी संरक्षण क्षेत्रलाई नवीन पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सौराहामा पर्यटकको बसाइ अवधि लम्ब्याउन प्रयास गरिने नगरप्रमुख सापकोटाले बताए ।
नगरका प्राकृतिक जैविक एवं मानव निर्मित सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै सौराहा क्षेत्रलाई नेपालकै आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सौराहा क्षेत्रका होटल, रेस्टुरेन्ट, होमस्टेलगायत पर्यटन व्यवसायीलाई नगरको करको दायरामा आउन प्रोत्साहन गरी सो आम्दानी पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धनात्मक कार्यक्रममा लगाइने पनि उनले बताए ।
राप्तीमा ताला खुलेपछि मात्र नीति तथा कार्यक्रम र बजेट
चितवन– राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आफ्नो कार्यकक्षमा लगाएको ताला खोलेपछि मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने जनाएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले लगाएको ताला आत्मआलोचना सहित खोले मात्र बजेट ल्याउने उनको भनाइ छ ।
सोमबार विज्ञप्ति जारी गरी मेयर लामाले मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला र उच्च अदालतका हालेको रिटको सुनुवाइन नभएसम्म नगर सभा गर्ने वातावरण नभएको जनाएका छन् । नेपालको सविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐ्न, २०७४ को दफा २१ बमोजिम आर्थिक वर्षको असार १० गतेभित्र पालिकाको नीति तथा कार्यक्रम पारित गरी आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्नुपर्ने प्रावधान रहेको भएपछि प्रतिपक्ष तथा सरकारमै भएका दलका जनप्रतिनिधिका कारण अवरोध भएको विज्ञप्तिमा जनाइएको छ ।
फागुन ९ गतेबाट नगर प्रमुखको कार्यकक्ष लगायत अन्य कार्यकक्षमा एमाले र कांग्रेस निकट जनप्रतिनिधिले तालावन्दी गरी विकास निर्माणलाई ठप्प पार्ने प्रयास भइरहेको भन्दै मेयर लामाले विकासको काममा समेत प्रत्यक्ष असर पार्ने गरी गतिविधि भएको बताए ।