सबै स्थानीय तहका विद्यालयमा प्राविधिक शिक्षा

सरकारले चालू आर्थिक वर्षमा प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी १६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने भएको छ । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु-याउने कार्ययोजना अनुरूप प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहमा सो संख्याका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्न १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले ती विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षा शुरु गर्न सो रकम विनियोजन गरेको हो । सरकारले चालू आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको समतामूलक पहुँच विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नीति निर्माण तथा निर्धारण योजना महाशाखाका निर्देशक प्रमोद आचार्यले जानकारी दिए । परिषद् बैठकको यो निर्णयसँगै अब प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयको संख्या ५ सय ५९ पुगेको छ । परिषद्ले चालू आवमा २१२ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षाका कार्यक्रम डिप्लोमा र टिएसएलसी सञ्चालनको स्वीकृति दिएको निर्देशक आचार्यले जानकारी दिए ।
यसैगरी पहँुच नपुगेका थप १० वटा स्थानीय तहमा आंगिक प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन, जग्गा प्राप्तिको काम भइरहेको छ । नयाँ पोलिटेक्निकलहरुमा कार्यक्रम संचालन गर्न निर्माणाधिन रहेका र नयाँ गरी १४ बहुप्राविधिक शिक्षालयहरुमा डिप्लोमा तहको कार्यक्रम संचालन भएको छ ।
सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेट पनि वृद्धि गर्दै लगेको सीटीईभीटीका निर्देशक आचार्यले जानकारी दिए । सरकारले आन्तरिक श्रम बजारको माग पूरा गर्ने र रोजगारी दर वृद्धि गर्ने जनाउँदै चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
सिटीईभिटीले गत आवमा विभिन्न तहमा गरेर ५१ हजार २९२ जनालाई प्रशिक्षण दिएको थियो । यसमध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा २३ हजार ४९८ र प्राविधिक एसएलसिमा २७ हजार ७९८ जनालाई प्रशिक्षण दिएको निर्देशक आचार्यले जानकारी दिए ।
महिलाका लागि पोलिटेक्निक इन्ष्टिच्युट
सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच विस्तार गर्न सबै महानगरपालिकामा महिला पोलिटेक्निक इन्ष्टिच्युट निर्माण गर्ने योजनालाई अघि बढाएको छ । हालसम्म महानगरपालिकासँगको साझेदारीमा विराटनगर, भरतपुर र पोखरामा महिला पोलिटेक्निक इन्ष्टिच्युट स्थापना गरी कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । परिषदले व्यावसायिक तालिम संचालन अन्तर्गत सरकारको स्रोतबाट हरेक प्रदेशमा ६ हजारका दरले जम्मा ४२ हजारलाई तालिम दिनुपर्नेमा प्रदेश कार्यलय मार्पmत ४० हजार ८१८ जनालाई तालिम दिएको छ । यसमध्ये प्रदेश १ मा ५ हजार ९८२, प्रदेश २ मा ६ हजार, प्रदेश ३ मा ५ हजार ९६०, गण्डकी प्रदेश ४ हजार ९ सय, प्रदेश ५ मा ६ हजार र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः ४ हजार ९ सय र ६ हजार र ५ हजार ९७६ जनाले तालिम प्राप्त गरिसकेको सिटिईभिटीले जनाएको छ ।
एशियाली विकास बैंकको सहयोगमा संचालित सीप विकास परियोजना मार्पmत चालू आवमा ४ हजार ३९४ जनालाई तालिम प्रदान गरिएको जनाएको छ । स्वीस सरकारको सहयोगमा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (ईनसियोर) अन्तर्गत औद्योगिक प्रशिक्षार्थी २०० जना, कार्यगत तालिम सहितको तालिम अन्तर्गत ३ हजार ९७ जना, कामदारको लागि तालिम अन्तर्गत २ सय र वृत्ति परामर्श अन्तर्गत २०० जनाले तालिम लिएका छन् ।
सीप प्रमाणिकरण
अयन्त्र विभिन्न क्षेत्रमा काम गरेर प्रमाणपत्र नभएकाहरुले सीप प्रमाणीकरण गरी सीपको प्रमाणपत्र लिन चाहनेका लागि सिटिईभिटीले संचालन गरेको सिप परीक्षण कार्यक्रम अन्तर्गत ७४ हजार ९७९ जनाले आवेदन दिएकोमा सहभागी ३८ हजार २३७ जनाले सहभागिता जनाएका छन् । यसमध्ये २५ हजार ३१३ को सीप प्रमाणीकरण भइसकेको छ । गत वर्षसम्म तह १, २ र ३ मा ३ लाख ४७ हजार ९६४ जनाको सीप प्रमाणिकरण भइसकेको सिटिईभिटीले जनाएको छ ।
यसैगरी वैदेशिक रोजगार बोर्डको सहकार्यका विदेशबाट फर्केका युवालाई सिपको प्रमाणपत्र दिएर योग्यता बढाउने लक्ष्य सहितको सीप प्रमाणिकरण कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत १९ वटा पेशा तथा व्यवसायमा सीप परीक्षण गर्ने कार्य अन्तर्गत ४४६ जनाले आवेदन दिएकोमा १६६ जना सिप परीक्षणमा सहभागी भएका छन् । जस मध्ये १४६ जना ७२ प्रतिशत अंक ल्याएर सीप परिक्षणमा सफल भएका छन् ।
सीटीईभीटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक–फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्तिमध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सीटीईभीटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसईई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।