७३७ म्याक्स–९ व्यापारिक सेवाका लागि प्रमाणित

अमेरिकी एरोस्पेस उत्पादक बोइङले आफ्नो नयाँ विमान ७३७ म्याक्स–९ लाई संघीय उड्डयन प्रशासनले व्यापारिक सेवाका लागि प्रमाणित गरेको जनाएको छ । बोइङको उक्त विमानले विमानको सञ्चालन, प्रणाली र समग्र भूमिका आवश्यक उड्डयन नियमसँग मिलेको पाइएको अमेरिकी उड्डयन नियामकले पुष्टि गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
“यो प्रमाणपत्रले २०१७ को मार्चमा सुरु भएको सफल उडान कार्यक्रमको संकेत गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
आगामी सातादेखि यो विमानको आपूर्ति सुरु हुने बोइङले जनाएको छ । यसले इन्डोनेसियाली विमान सेवा कम्पनी लाइन एयर ग्रुपलाई म्याक्स–९ को पहिलो आपूर्तिका लागि बाटो खुला भएको अर्थ लगाएको छ ।
७३७ म्याक्स–९ को यात्रु क्षमता २२० रहेको छ । यसको अधिकतम दूरी ३ हजार ५ सय ५० नउटिकल माइल अर्थात् ६ हजार ५ सय ७५ किलोमिटर छ ।
७३७ म्याक्स मोडल बोइङकै इतिहासमा सर्वाधिक तीव्र दरमा बिक्री हुने विमान हो । यसले विश्वका ९३ उपभोक्ताबाट ४ हजार ३ सय अर्डर पाइसकेको छ ।