भद्रपुरको बजेट ९९ करोड
पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता
बिर्तामोड– झापाको सदरमुकामको रूपमा रहेको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९९ करोड २ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भद्रपुर नगरपालिकाको १४औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले बजेट प्रस्तुत गरेकी थिइन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा ९८ करोड ३१ लाख बजेट रहेकोमा आगामी आर्थिक वर्ष ७ लाख ७३ हजार बढाएर अनुमानित बजेट ल्याएको उनले बताइन् । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आर्थिक विकासतर्फ ४ करोड ९० लाख, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५५ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १४ करोड ४७ लाख र पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख गरी ९९ करोड २ लाख १९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
अनुमानित बजेट खर्च बेहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ७ करोड, राजस्व बाँडफाँडतर्फ संघबाट १३ करोड १९ लाख, प्रदेशबाट ८५ लाख, स्थानीयबाट ३ करोड ७५ लाख गरी राजस्व बाँडफाँडबाट जम्मा १७ करोड ७९ लाख रहेको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १८ करोड ९४ लाख, शसर्त अनुदान चालुबाट २९ करोड ४९ लाख, सशर्त अनुदान पुँजीगतबाट ४ करोड ७६ लाख, समपूरक अनुदानबाट २ करोड १० लाख, विशेष अनुदानबाट ३ करोड गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ५८ करोड ३० लाख १५ हजार रहेको उनले बताइन् ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवद्र्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।