Logo

भियतनामबाट नेपालले सिक्नुपर्ने पाठ

यही ११ मे २०२४ मा मलाई आफूले काम गर्ने संस्थाबाट चार दिनको वैदेशिक तालिमका लागि भियतनामको हनोई जाने मौका मिलेको थियो । यसै क्रममा मेरा लागि यो तालिम तथा विदेश भ्रमण असाध्यै फलदायी रह्यो भन्नुपर्छ । म यसै सकारात्मक सोच भएको मान्छे, त्यसमा पनि भियतनाम तथा कम्बोडियाको भ्रमणले त्यहाँका मानिसमा भएको सोच र देशले गरेको विकासको लहरले म प्रभावित भएँ ।

तालिमका सिलसिलामा भियतनामको हनोईमा रहेका प्रतिष्ठित व्यक्तिहरू रिसोर्स पर्सनका रूपमा प्राप्त गर्ने अवसर मिल्यो । जसमा डा. शशि चौधरी, जो ब्रिटिस युनिभर्सिटी, भियतनामको प्राध्यापक हुनुहुन्छ, करिब १० वर्ष भियतनाममा प्राध्यापन गराउनुभएको उहाँको अनुभव साटासाट गर्ने मौका मिल्यो । यसैगरी डा. ले डाङ जोआन, जो भियतनामका लागि एक अनुभवी अर्थशास्त्री हुनुहुन्छ, उहाँले लामो समय सरकार तथा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा साथै युएन कमिटीमा रहेर सन् २०१६ देखि २०१८ सम्म कार्य गर्नुभएको रहेछ ।

त्यसैगरी चुङ आन सिनियर पोलिसी विज्ञ हुनुहुन्छ । उहाँ स्टेट बैंक अफ भियतनाममा डिपार्टमेन्ट अफ पेमेन्ट विज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले डिजिटल ट्रान्सफर्मेसनका लागि डिजिटल योजना, इकेवाइसी, फिनटेक रेगुलेसन गर्ने स्यान्डबक्स र डाटा साइन्सजस्ता विषयमा विशेष दक्खलका साथ कार्य गरी अगाडि बढाउनुभएको रहेछ । यसैगरी अर्का एक जना विशेषज्ञ थिए— डा. थि होआङ एन्ह फाम । उहाँ बैंकिङ रिसर्च इन्स्टिच्युटको डाइरेक्टरका रूपमा कार्यरत हुनुहुन्छ, जुन भियतनामको बैंकिङ एकेडेमीअन्तर्गत पर्छ । उहाँले सरकारका विभिन्न मन्त्रालयमा रही कार्य गर्नुका साथै एडिबी र आइएमएफमा समेत कार्य गरेको अनुभव रहेछ ।

समग्र विश्व मानचित्रमा अवस्थित देशहरू विगतका केही न केही आन्तरिक द्वन्द्व, गृहयुद्ध, विश्वयुद्ध वा दुई देशबीचको युद्धको चपेटामा परेर नै अगाडि बढिरहेको देखिन्छ । यिनै देशहरूमध्ये एक हो— भियतनाम, दक्षिण–पूर्वी एसियामा उदाउँदो राष्ट्रका रूपमा अगाडि बढेको देश । सन् १९५५ बाट द्वन्द्वग्रस्त बनेको देश सन् १९७५ अर्थात् करिब २० वर्षसम्म पूर्ण रूपमा आन्तरिक तथा बाह्य क्षेत्रबाट द्वन्द्वको चपेटामा परिरह्यो । खासगरी अहिले भियतनाम उत्तरी भियतनाम, मध्य भियतनाम र दक्षिणी भियतनाम गरी तीन क्षेत्रको हिसाबले चिनिने रहेछ ।

विगतमा यी क्षेत्रमा छुट्टाछुट्टै कम्युनिस्ट राज्य संरचना भएका कारण तिनीहरूमा आन्तरिक द्वन्द्व चलिरहन्थ्यो, जसको फाइदा उठाउँदै संयुक्त राज्य अमेरिकाले भियतनाममाथि आक्रमण गर्न थाल्यो । अमेरिका र सोभियत रूसबीचको शीतयुद्धको प्रभाव पनि यो देशमा उल्लेख्य रूपमा परेको देखिन्छ । गरिब देश भियतनाम र यहाँका गरिब जनता जेजस्तो अवस्थामा थिए सोही अवस्थामा युद्ध गरिरहे । तत्कालीन अवस्थाको सुविधासम्पन्न राज्यमा गनिएको अमेरिका अन्ततः भियतनामी युद्धबाट पछि हट्यो । भियतनाम स्वतन्त्र हुनु र आत्मनिर्भर हुनमा त्यहाँका कम्युनिस्ट नेता हो चि मिन्हको ठूलो योगदान रहेको देखियो । उनैको नामबाट देशको एक प्रख्यात सहरको नाम हो चि मिन्ह सिटी राखिएको छ ।

अहिले पनि देशका मुख्य–मुख्य सहरमा हो चि मिन्हको सालिक र शव राखिएको ठाउँलाई प्रचार–प्रसार गरी विश्वप्रख्यात बनाइएको छ । यो युद्धमा करिब ३० लाख भियतनामी र करिब ५० देखि ६० हजार अमेरिकी सेना मारिएको आशंका गरिएको रहेछ । क्षेत्रफलका हिसाबले करिब ३ लाख ३१ हजार २ सय १० वर्गकिलोमिटर क्षेत्रफल रहेको देश नेपालभन्दा करिब अढाई गुणा ठूलो छ भने जनसंख्याको हिसाबले करिब १० करोड जनसंख्या छ । यो पनि नेपालको भन्दा करिब तीन गुणाले बढी हो । जनसंख्याको करिब १३.७ प्रतिशतको हाराहारीमा विभिन्न धर्म मान्नेहरू छन् भने बाँकी धेरैजसो धर्म नमान्नेहरू पनि रहेछन् । समुद्र सतहदेखि ७५ मिटर उचाइमा रहेको देशको अति उच्च भूभाग करिब ३ हजार १ सय मिटर उचाइसम्म रहेको छ । करिब ४ हजार ससाना टापु रहेको देशमा कृषि, वनजंगल, सी फुड्स तथा पर्यटन र टेक्सटाइल उत्पादन तथा निर्यात आम्दानीको मुख्य स्रोतहरू हुन् ।

भियतनामको अर्थतन्त्र
३० अप्रिल १९७५ मा उत्तरी भियतनामले दक्षिणी भियतनामलाई एकीकृत गर्‍यो र भियतनामको नामले चिनिन थाल्यो । त्यसको केही समयपछि सन् १९८६ मा नयाँ पुनर्निर्माण नीति ‘डोई मोई’ लागू भई एकीकृत रूपमा कारोबार हुन थाल्यो र अर्थतन्त्रले गति लिन थाल्यो । सन् २०२३ सम्मको आर्थिक मन्दीका बीच पनि यो देशको आर्थिक वृद्धि ५.०५ प्रतिशतको हाराहारीमा रह्यो, जबकि उनीहरूको वार्षिक लक्ष्य नै ६.५ प्रतिशत थियो । हाल भियतनामको अर्थतन्त्र कुल गार्हस्थ्य उत्पादन करिब ४ सय ३४ बिलियन अमेरिकी डलर रहेको छ र यसलाई २०२५ सम्म करिब ५ सय ६ बिलियन अमेरिकी डलर पुर्‍याउने योजना छ ।

विश्व अर्थतन्त्रमा शिथिलता आइरहेको र विश्वको कुल गार्हस्थ्य उत्पादन करिब १.३ प्रतिशत रहेकोमा भियतनामको प्रगतिलाई सन्तोषजनक मान्न सकिन्छ । हाल भियतनामलाई न्यून मध्यम आय भएको देशमा गणना गर्ने गरिन्छ । भियतनाममा विगतमा भएको युद्धले भियतनामीहरूलाई धेरै ठूलो पाठ पढाएको रहेछ, जसले गर्दा त्यहाँको कला–संस्कृति र सामाजिक रहनसहनमा परिवर्तन आएको छ । लजाउने स्वभावका उनीहरू पाहुनाको स्वागत तथा सत्कार राम्रोसँग गर्ने गर्छन् । हरेक भियतनामीमा हामीले विगतमा दुःख पाएको हो, अब आफ्नो क्षमताले सकेको केही योगदान देशलाई दिनुपर्छ भन्ने भावनाको विकास भएको रहेछ ।

विकास तथा पूर्वाधार
विकासका लागि पूर्वसर्त भनेको सकारात्मक सोच, समतल जमिन र पानी रहेछ भन्ने अनुभूति भयो । पानी भन्नाले देशको यातायातको सुविधाका लागि समुद्र र ठूला–ठूला नदी, जसमा मालवाहक पानीजहाज र ससाना डुंगाहरू चल्ने गर्छन्, जसको मद्दतले सस्तो रूपमा ढुवानी गर्न तथा पर्यटनको विकास गर्न सकिने रहेछ । समतल जमिनका कारण चौडा–चौडा सडक सुविधा तुरुन्तै निर्माण गर्न सकिने र समुद्र या नदीका कारण उत्पादित सामान आयात तथा निर्यात गर्न सजिलो र सस्तो हुने रहेछ । उत्पादन लागत सस्तो हुने भएकाले भियतनाममा नाम चलेका बहुराष्ट्रिय विदेशी कम्पनीहरू आएर आफ्नो उत्पादन बढाएर विश्व बजारमा बेचिरहेका छन्; जसले गर्दा उत्पादन, रोजगारी र राजस्व संकलनमा ठूलो योगदान रहेको छ ।

समुद्रमा करिब ४ हजार ससाना थुम्का भएकाले पर्यटकका लागि तिनीहरूको अवलोकन र समुद्र सयर गर्ने गराउने गर्दा रहेछन् । तिनीहरूमध्ये हनोईबाट नजिक पर्ने हा लोङ बे भन्ने समुद्रमा रोमाञ्चकारी यात्रा गराउँदै पर्यटकको मन जित्ने पर्यटकीय क्षेत्र पहिलो प्राथमिकतामा पर्ने रहेछ । भियतनामले विश्व बैंकको सहकार्यमा दीर्घकालीन रणनीतिक योजना बनाएर अगाडि बढिरहेको देखिन्छ । भविष्य परिवर्तित छ, तसर्थ एकपटक बनाएका योजना केही वर्षपछि काम नलाग्न सक्छन् । तिनीहरूलाई समय–परिस्थितिअनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने मूल आशयसहितका योजनाहरू कार्यान्वयनमा आइरहेका देखिन्छन् ।

पर्यटन तथा विकास
खर्चका हिसाबले सस्तो रहेको भियतनाम बजेटेड पर्यटकहरूका लागि आकर्षक गन्तव्य रहन सक्छ । प्रशस्त रमणीय गन्तव्य तथा घुम्ने ठाउँहरू रहेकाले पनि यहाँ घुम्न जाने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ, जसले गर्दा रोजगारी तथा व्यवसाय वृद्धिसँगै विदेशी मुद्रा आर्जन गर्नका लागि सहयोग पुगिरहेको देखिन्छ । हनोई, डा नाङ तथा हो ची मिन्ह सहरहरू पर्यटकको पहिलो रोजाइमा पर्छन् । विकासका लागि बामे सर्दै गरेको भियतनाममा सहरी क्षेत्रहरूमा बाटो तथा पार्कहरूको विकास तथा निर्माण कार्यलगायत बाटाहरू चाक्लो बनाउने कार्य भइरहेको देखिन्छ ।

प्रशस्त जग्गा भएका कारण काम गर्न सजिलो हुने रहेछ । हालसम्म मोटरसाइकल तथा स्कुटरहरू सवारीका मुख्य साधन भएकाले चारपाङ्ग्रे सवारीमा वृद्धि हुँदै गएको देखिन्छ । विशेष गरी पर्यटकका लागि टुकटुक, ट्याक्सी नै बढी प्रयोगमा आउने, नेपालको ‘पठाओ’ जस्तै ‘ग्य्राब’ भन्ने सवारीको प्रमुख माध्यम रहेछ । पर्यटकीय हिसाबले घुम्दा मेरो मनमा के आयो भने नेपालमा यस्ता कैयौं प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरू छन्, जुन अरू देशका तुलनामा आकर्षक छन्, तर तिनमा पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसारको कमी देखिन्छ । सगरमाथाको देश, बुद्धको देश भन्दा जति गर्व लाग्छ, त्योभन्दा बढी नेपाली हुनुमा लाग्छ । तर दुःखद कुरा, देशभित्र सधैंको राजनीतिक अस्थिरता, अस्थिर सरकार, सकारात्मक सोचको अभाव, युवा जोस र जाँगर विदेश पलायन र कामभन्दा कुरा बढी गर्ने प्रवृत्तिले देशलाई उन्नतिको बाटोमा भन्दा अवनतिको बाटोमा देखिरहन परेजस्तो लाग्छ ।

मुख्य आयस्रोत
कृषि उत्पादन, वन पैदावार, माछा उत्पादन, उद्योग–कलकारखाना, निर्माण, व्यापार तथा सेवा क्षेत्रको विस्तार र पर्यटन नै आम्दानीका मुख्य स्रोत हुन् भियतनामको । हरेक गाउँ हरेक उत्पादनका साथ सबै कृषिक्षेत्रको विकासमा लागेका छन् । विश्वमा भारतपछि सबैभन्दा बढी धान निर्यात गर्ने देश भियतनाम हो । यसका साथै सी फुड्सको निर्यातले पनि देशलाई आयआर्जनको मुख्य स्रोत बनाएको छ । तरकारीमा आत्मनिर्भर छ भियतनाम, तरकारी आयात गर्न नै सरकारले रोक लगाएको छ ।

एक ठाउँमा उत्पादन भएका चिज अर्को ठाउँ पुर्‍याउने र बजारीकरणका लागि सहजीकरण गरिदिनाले कृषकहरू कृषि पेसातर्फ आकर्षित भएका रहेछन् । सन् १९७५ पछाडि कम उत्पादनशील क्षेत्रहरूलाई बृहत् रूपमा उत्पादनशील क्षेत्रमा परिणत गर्दै आएको छ । उत्पादनका हिसाबले कच्चा तेल, लत्ताकपडा, जुत्ताचप्पल, बहुराष्ट्रिय कम्पनीका उत्पादनदेखि लिएर सर्वसाधारणले उपभोग गर्न सक्नेसम्मका सामान देशमा उत्पादन हुँदो रहेछ । कृषि र उत्पादनका साथै सेवा क्षेत्र पनि भियतनामको मुख्य आयको स्रोत रहेछ ।

उत्पादन तथा वितरण
कृषि उत्पादन तथा वन पैदावार नै अर्थतन्त्रको मेरुदण्ड र उद्योग कलकारखानालाई चाहिने कच्चा पदार्थको मुख्य स्रोत रहेछ । सरकार कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकियो भने उत्पादन लागत कम पर्ने र यसका अतिरिक्त विभिन्न किसिमका रोजगारीको सृजना हुँदै ग्रामीण क्षेत्रका जनतासमेत कृषि उत्पादनमा लाग्न सक्ने प्रबल सम्भावनालाई क्याच गर्दै बहुराष्ट्रिय कम्पनीहरूलाई चाहिने कच्चा पदार्थ पनि सकेसम्म देशभित्रै उपलब्ध हुन सक्ने सम्भावनाको विकासतिर लम्केको देखिन्छ ।

स्वदेशमा उत्पादित सामान खासगरी फोन तथा प्रविधिका सामान, कम्प्युटर, विद्युतीय सामानका उत्पादन, मेसिन तथा उपकरण, लत्ताकपडा, जुत्ताचप्पलका साथै कृषि उत्पादन, फलफूल तथा सी फुड्सहरू नै निर्यातका प्रमुख स्रोत हुन् । खासगरी उल्लिखित सामानहरू चाइना, जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका, क्यानडा तथा विभिन्न युरोपियन बजारहरूमा जाने गर्छन् । समग्र रूपमा भियतनामका उत्पादन विश्व बजारमा प्राप्त गर्न सकिन्छ ।

डिजिटल ट्रान्सफर्मेसन
जनविनाशकारी युद्धपश्चात् सन् १९७५ मा भियतनाम एकीकरण भयो । तत्पश्चात् धेरै कुरामा परिवर्तन गर्नुपर्ने भयो । यसै क्रममा विभिन्न नीति निर्माण, बैंक तथा वित्तीय संस्थाहरूको सबलीकरण, डिजिटल साक्षरताको विकास तथा जनचेतनामा अभिवृद्धि, डिजिटल गभर्नमेन्ट, रेगुलेटरी स्यान्डबक्सलगायतका विभिन्न पक्षको विकासमा जोड दिन थाल्यो । खासगरी जनस्तरमा वित्तीय जनचेतना र डिजिटल प्रविधिको विकास गरी क्यास लेस कारोबारलाई जोड दिन सरकारले ‘डिजिटल ट्रान्सफर्मेसन डे’ तथा ‘नन क्यास पेमेन्ट डे’ को रूपमा मनाउँदै आएको छ ।

यसका साथै हरेक नेता तथा नेतृत्वले डिजिटल ट्रान्सफर्मेसनका बारेमा जानकार हुनुपर्ने जस्ता अवधारणाहरू कार्यान्वयनमा ल्याएको छ । सूचना तथा प्रविधिको विकाससँगै डाटाको ठूलो महत्व रहेको कुरालाई मध्यनजर गर्दै कम्तीमा स्वदेशमै एउटा डाटा ब्याकप सिस्टम रहनुपर्छ भन्ने अभिप्रायःका साथ सोको व्यवस्थापन गरिएको रहेछ । हरेक ग्राहकले गर्ने डिजिटल कारोबारमा शून्य फी तथा ठूला कारोबारहरू गर्दा फेसियल भेरिफिकेसनको अवधारणालाई पनि कार्यान्वयनमा ल्याइएको रहेछ । डिजिटल ट्रान्सफर्मेसन प्लानलाई हरेक उद्देश्यसँग जोड्दै अगाडि बढ्ने नीति पनि कार्यान्वयनमा आएको रहेछ । छिमेकी मुलुकहरू कम्बोडिया, लाओस, थाइल्यान्डसँग अनलाइन क्रस बोर्डर कारोबारको सुरुवात भइसकेको रहेछ ।

आखिर के छ त भियतनामको प्रगतिको कारण ?
हरेकको मैले केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र अठोट ।
राष्ट्रले आफूलाई पुग्ने गुणस्तरीय खाद्यान्न उत्पादन आफैं गर्ने र खाद्य संरक्षणलाई जोड दिनुपर्छ भन्ने सोच ।
विश्व बैंकको समन्वय र सहयोगमा दीर्घकालीन रणनीतिक योजनाको तर्जुमा र कार्यान्वयन ।
भविष्य परिवर्तनशील छ, रणनीतिक योजनाहरू दीर्घकालसम्म एउटै नहुन सक्छन्; तसर्थ तिनीहरूलाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्छ ।
हरेक सिकाइका दौरानमा पुँजी उपलब्धताको सुनिश्चित गर्न सकिन्छ भन्ने सोचको विकास ।
भियतनाममा पोलिसी बैंकको अवधारणा र अस्तित्व रहेछ, जसले गर्दा सबै पोलिसी निर्माण एकीकृत र कार्यान्वयन योग्य छन्, जसको कार्य केन्द्रीकृत रूपमा ‘भियतनाम बैंक फर सोसियल पोलिसी’ ले गर्छ ।
पाइलट स्टडीको व्यवस्था छ, जसले गर्दा पोलिसी निर्माण गर्न र कार्यान्वयन गर्न सजिलो हुने रहेछ ।
कृषि खेतीलाई आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्छ र सकेसम्म उत्पादन गर्नुपर्छ भन्ने सोच ।
भियतनाममा चारवटा सरकारी स्वामित्वका बैंकहरू रहेछन्, जसको एनपिए १ प्रतिशतको हाराहारीमा मात्र रहेछ ।
खराब कर्जा असुलीका लागि ‘भियतनाम एसेट म्यानेजमेन्ट कम्पनी’ रहेछ, जसले खराब कर्जा आफैंले किनेर व्यवस्थापन गरिदिने ।
राज्यमा भएका बैंक तथा वित्तीय संस्थाको नियन्त्रणका लागि रेगुलेटरी स्यान्डबक्सको व्यवस्था ।
सबै बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूका लागि अनिवार्य रूपमा डिजिटल अवेरनेससम्बन्धी तालिम तथा प्रोत्साहनका लागि निर्देशन ।
हरेकले छिमेकीलाई निगरानी गर र अरूलाई भन । यसको अर्थ नराम्रा कुराका बारेमा सम्बन्धित निकायलाई खबर गर, ताकि बेलैमा नराम्रा कुरा गर्नबाट रोक्न सकियोस् ।

अन्त्यमा नेपालले पनि भियतनामले अपनाएका केही कुरालाई नीतिगत रूपमा अंगीकार गर्दै पुनर्निर्माणका कार्यहरूलाई अगाडि बढाउँदै देश विकास र निर्माणमा अगाडि बढ्न सक्नुपर्छ । यसका लागि सरकार तथा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमार्फत केही परिवर्तन गर्ने र नीतिगत कुरालाई कटिबद्धताका साथ कार्यान्वयन गर्न कम्मर कस्नुका साथै सबैले त्यसको जवाफदेहिता र जिम्मेवारी लिने हो भने नेपाल पनि विकासोन्मुख देशबाट विकसित बन्नलाई समय लाग्दैन । वास्तवमै ज्ञान, सीप र क्षमता भएका व्यक्तिहरू विदेश पलायन हुने वातावरणले गर्दा देशमा ऊर्जाशील जनशक्तिको अभाव हुँदै गएको छ ।

खासगरी विभिन्न राजनीतिक दलले आफ्नो स्वार्थ मात्र नहेरेर देशको स्वार्थका लागि काम गर्न सक्ने इच्छाशक्तिको विकास गर्न सक्नुपर्छ । यसो भयो भने मात्र देशमा बहुमतको स्थायी सरकार बन्ने सम्भावना रहन्छ । यसका साथै देश निर्माणका लागि सबैले हातेमालो गर्ने र देशमा एउटा सिस्टमको विकास गर्न सकियो भने मात्र क्षमतावान् युवा जनशक्तिलाई देशमै रोकेर केही गर्न सक्ने इच्छाशक्तिको विकास गर्दै सबल अर्थतन्त्रको विकासमा योगदान दिन सकिन्छ । हरेकको सकारात्मक सोच र मैले गरे के हुन्न ? भन्ने सोचबाट नै एउटा अपेक्षित विकसित देश तथा सबल अर्थतन्त्र भएको बजारको कल्पना गर्न सकिन्छ ।

आयस्रोत बढाउन केही कुरालाई अगाडि बढाउन जरुरी छ, नेपाल प्रशस्त जलस्रोेत भएको देश हो, अन्य देशहरूले जस्तो जलको प्रयोग हामी गर्न सक्दैनौं, किनकि भूपरिवेष्ठित देश भएका कारण र भौगोलिक बनावटका कारण हामीलाई विकास निर्माणका कार्य गर्न र अन्तर्देशीय व्यापारलाई सहज बनाउन सक्ने सम्भावना कम छ । तसर्थ, हामीले प्रशस्त मात्रामा हाइड्रोपावरको निर्माण गरी विद्युत् निर्यात गर्न सक्छौं । त्यसैगरी पर्यटनको सम्भावना यथेष्ट भएका कारण पर्यटकलाई आकर्षित गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ ।

बहुराष्ट्रिय कम्पनी र एफडिआई आकर्षित गर्न लगानीयोग्य नीति नियमको निर्माण र सहजीकरण गर्नाले देशमा उत्पादन तथा रोजगारीमा वृद्धि हुन्छ । नेपाल वनजंगलले धनी देश, यसमा विभिन्न किसिमका जडिबुटी तथा बलिया काठकोे व्यावसायिक खेती तथा उत्पादनलाई प्रोत्साहन गर्ने खालको नीति र त्यसलाई निर्यात गर्ने खालको निर्यात नीति बनाउने हो भने त्यसबाट पनि प्रशस्त मात्रामा आय आर्जन गर्ने सम्भावना रहेको देखिन्छ । हालै मात्र नेपाल सरकारले आउँदो आर्थिक वर्षका लागि गाँजा खेतीका लागि नीति बनाउने र त्यसको उत्पादन र वितरणलाई के गर्न सकिन्छ, त्यसमा अध्ययन गरी कार्य अगाडि बढाउने भन्ने खालको बजेटको कार्यदिशा देखिएकाले यसलाई राम्रोसँग नियन्त्रण र कार्यान्वयन गर्न सकियो भने मात्र पनि विभिन्न किसिमको जैविक हावापानी भएको देशमा उत्पादित उच्च गुणस्तरीय गाँजालाई अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरी वैदेशिक मुद्रा आय आर्जन गर्न सकिन्छ ।

यसले गर्दा थप पर्यटक भित्र्याउन सक्ने सम्भावना पनि रहन्छ, जसले गर्दा स्वदेशमै रोजगारीमा वृद्धि, व्यवसाय वृद्धि र सरकारी राजस्वमा समेत उल्लेख्य रूपमा वृद्धि हुने सम्भावना रहन्छ । तर, यी कुरा कार्यान्वयन गर्न गतिशील, प्रणालीगत विकास र स्थिर सरकारको खाँचो पर्छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभागीय प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्