१८ वर्षकै उमेरमा प्रकाशले बनाए हेलिकोप्टर «

१८ वर्षकै उमेरमा प्रकाशले बनाए हेलिकोप्टर

प्रदेश नम्बर ७ दार्चुलाको विकट नौगाड गाउँपालिका–४ होपरीका १८ वर्षीय प्रकाश महता जस्तो नाम त्यस्तै प्रतिभाका छन् । वि.सं २०५६ सालमा सामान्य परिवारमा जन्मिएका प्रकाश २०६३ सालमा गाउँकै भैरवराज निम्न माविमा कक्षा १ मा भर्ना भए ।
कक्षा १ उत्र्तीण गरेका महतालाई घर परिवारले राम्रो अध्ययनका लागि आफन्तको तराई घरमा पठाए । महताको कैलालीको पहलमानपुरमा मामा घर थियो । उनी कटारीको मामा घरमै बसेर कक्षा २ देखि ७ सम्म पहवानपुरकै स्पिंग फिल्ड एकेडेमी अध्ययन गरे । त्यहाँबाट अध्ययन सकेर वेदकोट नगरपालिका–७ सुडाको बाल जागृति उच्च माविबाट वि.सं २०७३ सालमा एसएलसी उत्र्तीण गरेका प्रकाश अहिले हाइड्रो इलेक्ट्रिकल एन्ड टेक्निकल कलेज धनगढीमा इलेक्ट्रिकल ओभरसियर अध्ययन गर्दैछन् । प्रकाशले १६ वर्षमै खेलौनाजस्तै हेलिकोप्टर बनाएर साथीभाइ आफन्तलाई चकित पारेका थिए । सानैदेखि जिज्ञासु स्वभावका प्रकाश निकै मेहनति छन् । उनले घरबाट विद्यालयको शुल्क तिर्ने पैशाले आल्मुनियमको एक हेलिकोप्टर बनाएका छन् । चार महिना लगाएर उनले ५ फिट लम्बाइ, ३ फिट उचाइको हेलिकोप्टर बनाएका हुन् । “मैले घरमा कलेजको शुल्क तिर्नुछ भन्दै पैशा मागें, उनले भने, “त्यही पैशाले हेलिकोप्टर बनाएँ ।” विद्युत्बाट सञ्चालन हुने हेलिकोप्टरमा ३ इन्जिन जडान गरिएको छ भने पानीबाट शक्ति नियन्त्रण गरिएको छ । उक्त हेलिकोप्टर सञ्चालनका लागि रिमोट प्रयोग गरिएको छ ।
भारतीय बजार वनवासा, महेन्द्रनगर र धनगढीका स्थानीय बजारबाट कच्चा पदार्थ खरिद गरी हेलिकोप्टर बनाएको प्रकाशले बताए । उनका अनुसार हेलिकोप्टर बनाउका लागि झण्डै २ लाख १७ हजार रुपैयाँ खर्च गरिएको छ । “म सानो छँदा पहाडका आकाशमा हेलिकोप्टर उडेको देख्थें,” उनले भने, “सानैदेखि मलाई हेलिकोप्टर कसरी उड्छ, भन्ने कौतुहलता जाग्थ्यो, र म सोच्थेंकि एकदिन म पनि हेलिकोप्टर बनाउँछु ।” आफूले आमाबाबु, आफन्त र साथीभाइसँग हेलिकोप्टर बनाउने कुरा गर्दा सबैले जिस्क्याउने गरेको उनले सुनाए । कुनै पनि विषयमा भित्री मनदेखि गर्ने इच्छा प्रकट भए मेहनतका साथ उक्त काममा लागे सफलता मिल्ने उनको भनाइ छ । गत सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको क्षेत्रीयस्तरको औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा प्रकाशले हेलिकोप्टर प्रदर्शनका लागि ल्याएका छन् । महोत्सवको मुख्य आकर्षणको रूपमा हेलिकोप्टर छ । दैनिक सयौंले हेलिकोप्टर अवलोकन गरिरहेका छन् । हेलिकोप्टर अवलोकनका लागि २० रुपैयाँको टिकट काट्नु पर्छ । हेलिकोप्टर अवलोकनवापतको रकममध्ये आधा रकम आयोजक तिनुपर्ने सम्झौता छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले कलाको सम्मानका लागि प्रकाशलाई हेलिकोप्टर प्रदर्शनका लागि अनुरोध गरेको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवप्रसाद जोशीले ७ नम्बर प्रदेशमा रहेका कला, प्रतिभाको सम्मान र प्रचार प्रसारका लागि उनलाई स्टल दिइएको बताए । 

महादेव अवस्थी

प्रतिक्रिया दिनुहोस्