Logo

१७ वर्षदेखि थन्किएको रक्तचन्दन भारतले फिर्ता लैजाने

बिर्तामोड– झापाको डिभिजन वन कार्यालयमा विगत १७ वर्षदेखि थन्किएको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले झापासहित देशभर राखिएका रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारत फिर्ता लिन तयार भएको हो ।

मन्त्रीपरिषद् बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेका एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि भारत सरकारले त्यस सम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए ।

सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था भएको बताउँदै उनले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएलगत्तै मन्त्रालयलाई पत्र प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाएको जानकारी दिए । मन्त्रीपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको र भारतले रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएको उनले बताए ।

भारतले इमेलमार्फत रक्तचन्दन लिने आशयको पत्र पठाएको र पत्रमा असार ६ देखि असार १६ सम्म रक्तचन्दन लिन्छौँ भन्ने उल्लेख भएको बताउँदै उनले यसपटक भारत रक्तचन्दन फिर्ता लिन गम्भीर भएको बताए । वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुंगानाले भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको बताए ।
आफूहरुले यो ठाउँमा यति परिमाणमा रक्तचन्दन छ भनेर जानकारी दिने र नेपालका विभिन्न १८ जिल्लामा भएको रक्तचन्दन भारतले आफ्नै खर्चमा स्वदेश लैजाने बताउँदै उनले नेपालले त्यसको सहजीकरण गर्ने जनाए ।

२०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउन लागेको बताउँदै उनले नेपाल सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारतले रक्तचन्दन फिर्ता लिन तयार भएको जनाए । २०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको र त्यसमा ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसैगरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो ।

२०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन नसकेको वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता ढुंगानाले बताए । यसपटकको निर्णयले २०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउने देखिएको उनको भनाइ छ ।

यस्तै वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले यस पटक भारतले रक्तचन्दन फिर्ता लिने विश्वास व्यक्त गरे । झापा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, संखुवासभा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा रक्तचन्दन थन्किएर राखिएको र बरामद गरेर राखिएका रक्तचन्दनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको उनले बताए ।

भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको बताउँदै उनले धार्मिक प्रयोजनसँगै औषधीमा रक्तचन्दन प्रयोग हुने भन्दै चीनलगायत तेस्रो मुलुक रक्तचन्दन निर्यात हुने गरेको जानकारी दिए ।

विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता डिभिजन वन कार्यालय झापामा थन्किएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । डिभिजन वन कार्यालय झापामा भण्डारणमा रहेको रक्तचन्दनलाई चौबिसैघण्टा पहरा दिएर सुरक्षित राखिएको उनले बताए ।

खुला ठाउँमा रक्तचन्दन राख्दा हराउने जोखिम रहने भएकाले डिभिजन वन कार्यालय झापाको कोठामै भण्डारण गरिएको र त्यसलाई पालोपालो गरेर कोठा बाहिर वन रक्षकले अटुट पहरा दिइरहेको राईको भनाइ छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को प्रावधान अनुसार संकटापन्न वनस्पतिको रूपमा सूचीकृत रक्तचन्दन तस्करी भएर जुन देशमा पुगे पनि सम्बन्धित देशमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । महासन्धिको प्रावधान बमोजिम नेपाल सरकारले बरामद रक्तचन्दनको बिक्री–वितरण गर्न नपाउने र उत्पत्ति भएको देशलाई नै फिर्ता गर्नुपर्ने डिभिजन वन कार्यालय झापाका प्रमुख राईले बताए ।

सरकारले बरामद भई मुलुकभित्र भण्डारण गरिएको रक्तचन्दन भारतलाई फिर्ता पठाउने सरकरले हालै निर्णय गरेको जनाउँदै उनले झापामा रहेको रक्तचन्दन फिर्ता हुनेमा विश्वास गरे । नेपालले विभिन्न अवधिमा दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन बरामद गरेको वन विभागको भनाइ छ । रक्तचन्दन औषधी र धार्मिक कार्यमा प्रयोग हुने रातो रङको सुगन्धित काठ हो । दक्षिण भारतको आन्ध्र प्रदेश, कर्णाटक र तामिलनाडुका घना जंगलमा रक्तचन्दन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्