दमक नगरपालिकाको बजेट १ अर्ब ६२ करोड
बिर्तामोड– झापाको दोस्रो पुरानो नगरपालिकाका रुपमा रहेको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । दमक नगरपालिकाको सम्पन्न १५औं नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले वार्षिक नीति कार्यक्रमसहितको उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख रेगिना भट्टराई प्रसाईंले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँको बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी छ । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले १५औं नगरसभाको अध्यक्षता गर्दै नेपाल सरकारबाट दमक नगरलाई प्राप्त हुनुपर्ने अनुदान रकममा भएको कटौती, आन्तरिक स्रोतबाट समेत अपेक्षाकृत राजस्व संकलन गर्न नसकिएको बताए ।
नगर प्रमुख थापाले प्रविधिमैत्री शासनसहितको सुशासनको नीति अख्तियार गरिने बताउँदै पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । दमक नगरपालिकाको १५औं नगरसभामा उपप्रमुख प्रसाइैंले वार्षिक नीति कार्यक्रम प्रस्तुत गर्दै दमकको अस्तित्व, बढाउँछ सुरक्षित मातृत्व भन्ने नीति अंगीकार गर्दै सुरक्षित मातृत्व विकासको कार्यक्रम सञ्चालन गरिने र जसअन्तर्गत विपन्न, दलित, असहाय तथा अपागंता भएका व्यक्तिबाट नियमानुसार जन्मदर्ता गराइएका बालबालिकालाई एक पटकका लागि बैंक खाता खोल्न चार हजार रुपैयाँ एकमुष्ट रकम उपलब्ध गराइने बताइन् ।
त्यस्तै उपमेयर सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन गर्ने, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षित गराउन पिएनसी होम भिजिट कार्यक्रम सञ्चालन गरिने, मोतिया विन्दुको समस्या भएका बिरामीको उपचार निःशुल्क गर्ने कार्यक्रम पनि नगरले ल्याएको उनको भनाइ छ ।
‘दमकका जनता आधारभूत स्वास्थ्य सेवाका लागि जानुपर्दैन अन्त’ भन्ने नारासहित मानसिक रोगसहित अन्य नसर्ने रोगको रोकथामका लागि कार्यक्रम सञ्चालन गर्नेसहित विभिन्न १६ वटा कार्यक्रम अघि सारिएको छ । १० वर्ष सेवा गरी निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको ८० हजार रुपैयाँलाई बढाएर एक लाख बनाउने प्रस्ताव गरिएको उनले बताइन् ।
त्यस्तै विद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न हरेक विद्यालयमा एक जना स्वास्थ्य फोकल पर्सन तोक्ने, विद्यालय नर्सको उचित व्यवस्थापन गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, दमक अस्पतालको ल्याब सेवालाई थप विश्वसनीय बनाउन आईएसओ प्रमाणित प्रयोगशाला स्थापना गर्ने, सेवाग्राहीको चाप व्यवस्थापन गर्न टोकन सिस्टमलाई थप व्यवस्थित बनाउँदै लैजने नीति तथा कार्यक्रममा उललेख छ ।
यसैगरी पेपरलेस सिस्टम विस्तार गर्ने, दमक अस्पतालको सेवा विस्तार प्रयोजनका लागि दमक–१ स्थित नमुना बस्ती उत्तरमा रहेको सार्वजनिक जग्गालाई कम्पाउण्ड वाल गर्ने, नगरपालिकाको मातहतमा रहने गरी दमक अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न सम्बन्धित निकायमा समन्वय र पहल गर्ने भएको छ । ९० वर्षमाथिका वृद्धवृद्धा, प्रश्रव अवस्थाका गर्भवती, क वर्गका र अतिविपन्न सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि नगरपालिकाको योजना रहेको वार्षिक नीति कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी हरेक तीन महिनामा ९० वर्षमाथिका नगरबासीको घरदैलोमा पुगेर दिइने स्वास्थ्य जाँचलाई निरन्तरता दिइने पनि नगरपालिकाद्वारा प्रस्तुत नीति, कार्यक्रममा उल्लेख छ । नगर सभामा प्रचलित ऐन कानुनअनुसार तोकिएका नगर सभा सदस्यका अतिरिक्त प्रदेशसभा सदस्य, पूर्वमेयर, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।