Logo

पालुङटारको बजेट ८३ करोड २८ लाख

गोरखा– पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८३ करोड २८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाको कार्यालयमा आइतबार भएको १५औं नगरसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरिएको हो । उपप्रमुख वन्दना पाण्डेले संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आम्दानी समेटेर ८३ करोड २८ लाख रुपैयाँको बजेट तयार पारेको बताइन् ।

उनका अनुसार विभिन्न अनुदान तथा राजस्व बाँडफाँटबाट संघ सरकारबाट ७१ करोड ७७ लाख रुपैयाँ र गण्डकी प्रदेशबाट चार करोड ५६ लाख रुपैयाँ प्राप्त हुने भएको छ । आन्तरिक आम्दानी ६ करोड ९५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।सार्वजनिक गरिएको बजेटअनुसार शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

‘शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर सुधारका लागि २८ करोड एक लाख रुपैयाँ विनियोजन गरेका छौं,’ उनले भनिन्, ‘यस बजेटबाट शैक्षिक संस्थाको भौतिक तथा सामाजिक र शिक्षाको गुणात्मक अवस्थामा विकास, प्राविधिक शिक्षा दिने विद्यालयलाई अनुदान, जोखिममा परेका र पर्नसक्ने विद्यार्थीको शैक्षिक अधिकार संरक्षण, शैक्षिक क्षमता अभिवृद्धि, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति, एक विद्यालय एक उत्पादन कार्यक्रम, शिक्षक तथा विद्यालय प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गर्नेछौं ।’

पालिकाले आर्थिक विकासअन्तर्गत कृषि बाली प्रवद्र्धन तथा खाद्य सुरक्षाको प्रत्याभूतिका लागि एक करोड ७१ लाख रुपैयाँ, पशुपंक्षी विकासका लागि ६० लाख, पशु विमा प्रिमियममा अनुदान तथा पशु स्वास्थ्य शिविर सञ्चालनका लागि ५३ लाख ४७ हजार, दूध उत्पादनमा अनुदानका लागि १५ लाख रुपैयाँ विनियोजन गरेकोे छ । सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारअन्तर्गत १३ लाख ६१ हजार, उद्योग रोजगार तथा ब्यवसायका लागि एक करोड ४४ लाख रुपैयाँ, पर्यटन विकासका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ ।

आधारभूत स्वाथ्यतर्फ सात करोड पाँच लाख रुपैयाँ, खानेपानी तथा सरसफाइतर्फ ८३ लाख रुपैयाँ, महिला बालबालिका, ज्येष्ठ नागरिक लक्षित वर्ग तथा सामाजिक समावेशीकरणतर्फ एक करोड ३२ लाख रुपैयाँ, युवा, खेलकुद, कला, साहित्य संस्कृतितर्फ २० लाख रुपैयाँ र बैंक तथा वित्तिय संस्था सहकारी शीर्षकमा पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।

भौतिक पूर्वाधारतर्फ सडक तथा यातायातमा सात करोड ७६ लाख, सिँचाइतर्फ एक करोड १० लाख, आवास तथा सहरी विकासतर्फ एक करोड ५० लाख, विद्युत तथा वैकल्पिक ऊर्जातर्फ ३० लाख र सूचना तथा सञ्चारतर्फ ५० लाख रुपैयाँ छुट्याइएको छ । वन तथा जैविक विविधतातर्फ १० लाख, भूमि तथा जलाधार ब्यवस्थापनका लागि तीन करोड, वातावरण तथा स्वच्छतातर्फ पाँच लाख, विपद तथा महामारी नियन्त्रण र विपद ब्यवस्थापन मर्मत सम्भारतर्फ ८५ लाख रुपैयाँ विनियोजन भएको छ ।

पालिकाले सुशासन तथा संस्थागत क्षमता विकासमा २२ करोड ६४ लाख र सह लगानी तथा समपूरक योजनातर्फ एक करोड ५० लाख रुपैयाँ राखेको छ । नगरसभामा प्रस्तुत बजेटमाथि छलफल सकेर असार २५ गते पारित गर्ने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्