Logo

ग्रामीण सडक स्तरोन्नतिमा प्राथमिकता

म्याग्दी– म्याग्दीका ग्रामीण भेगका सडक स्तरोन्नति गर्ने कामले प्राथमिकता पाएको छ । स्थानीय तहले प्रदेश र संघीय सरकारका प्रतिनिधिसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नतिलाई प्राथमिकता दिएका हुन् । ग्रामीण भेगका सडकलाई बाह्रै महिना सञ्चालन गर्ने उद्देश्यसहित मुख्य सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अघि बढाएका छन् ।

प्रदेश सरकारमार्फत् म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रियाअघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका ग्रामीण बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।

बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्रे थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन भएको यो सडकका लागि २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो । हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने कार्य भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्रे र ढलान गरिने छ । यो बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो । यसैगरी, चालु आवमा बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा दुई करोड बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाललगायत काम सकेर कालोपत्रे र ढलानको तयारी गरिएको नगरप्रमुख सुरत केसीले बताए ।

बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्रे र ढलान गरेर स्तरोन्नति भइसकेको छ । बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । धवलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाडासम्मको सडक स्तरोन्नतिको तयारी भएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्र्तगत धवलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्रे र ग्राभेल गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड विनियोजन गरेको यस सडकका लागि २५ करोड बराबरको बहुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिस्पर्धामार्फत् आयोजना निर्माणका लागि छनोट भएको निर्माण कम्पनी रामसागर–बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउने काम थाल्ने तयारी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिए । चार किलोमिटर दूरीको यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले १४ करोड ६१ लाखमा गत जेठ २० गते ठेक्का सम्झौता गरेको छ । दुई वर्षको ठेक्का अवधि भएको आयोजना एकै वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिने निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । यो सडक आयोजनाअन्र्तगत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रेसहित स्तरोन्नति गर्न प्रदेश र संघीय सरकारको लागत साझेदारीमा एक अर्ब बजेटको आयोजना आगामी आर्थिक वर्षदेखि सुरु हुनेछ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सडक विस्तारका लागि धारापानीका जग्गाधनीले दिएको सहमतिले काम गर्न सजिलो हुने र छिटो सम्पन्न हुने अपेक्षा गरे । गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक हालै ग्राभेल भएको छ । झिनडाडादेखि मुना र दरवाङदेखि धारापानीसम्म कालोपत्रे गर्न संघीय र प्रदेश सरकारको एक अर्बको समपुरक योजनाका लागि यस वर्ष संघीय सरकारले १२ करोड र प्रदेश सरकारले १२ करोड विनियोजन गरेका छन् ।

संघीय सरकारले मरेनीदेखि जलजला ढोरपाटन जोड्ने सडकका लागि ६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन पश्चिम म्याग्दीका जनताको मागअनुसार कामले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्