बूढीगंगाका ग्रामीण सडक कालोपत्रे हुँदै
बाजुरा– बाजुराको बूढीगंगा नगरपालिकाले गाउँगाउँ जोड्ने तीनवटा सडक कालोपत्रे गर्न सुरु गरेको छ । नगरपालिकामा रहेका साविकका तीनवटा गाविस जोडने सडक पक्की बनाउने काम सुरु भइरहेको नगरप्रमुख रामबहादुर बानियाँले बताए । साँफे–मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीनवटा सडकको काम आर्थिक वर्ष २०८०/०८१ बाट कालोपत्रे गर्न सुरु गरिएको छ ।
ताँप्रिसेरा ब्रहम्तोला सडक, बेतालमाण्डौं त्रिशक्ती सडक र बाम्का नगरपालिका सडक आरसीसी छन् । यो आर्थिक वर्षमा तीनवटै सडकको काम ३७ प्रतिशत भएको नगरपालिकाले जनाएको छ । बूढीगंगा नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम अनुरुप पहिलो चरणमा तीनवटा ग्रामीण सडक कालोपत्रे गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।
त्यसपछि गाउँ बस्तीसम्मैका सडक कालोपत्रे गर्ने योजनाअनुसार काम थालनी भएको बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । अहिले ६ किलोमिटरजति कालोपत्रे गर्न लागेको भए पनि विस्तारै नगरपालिकाभरि ३० किलोमिटर कालोपत्रे गर्ने योजना रहेको उनले बताए । ३० किलोमिटर कालोपत्रे गरेमा नगरपालिकाभरि पक्की सडक हुने पालिकाले जनाएको छ ।
तीनवटा सडक आर्थिक २०८०/०८१ मा कामको सम्झौता भएर आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न हुने गरी काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत नाथले बताए । बेतालमाण्डौं त्रिशक्ती सडक कालोपत्रे दुई किलोमिटरका लागि नौ करोड १३ लाखमा बंगलामुखी/वागेश्वरी जेभीले काम गर्ने गरी सम्झौता गरेको छ । त्यस्तै बाम्कादेखि नगरपालिका सडक आरसीसी १६ सय मिटरका लागि आठ करोड ५५ लाख मा महागौरी/ह्याण्डिक/दिप जेभीले काम गर्ने गरी ठेक्का लिएको अधिकृत नाथले बताए ।
ताप्रिसेरा ब्रहम्तोला सडक कालोपत्रे २२ सय मिटरका लागि ११ करोड ३२ लाखमा बंगलामुखी/बागेश्वरी जेभीले सम्झौता गरेर काम अघि बढाएको छ । तीनवटा सडक पक्कीका लागि बूढीगंगा नगरपालिकाको आफ्नै लगानीमा काम सुरु गरेको छ । बजेटका लागि संघ र प्रदेश सरकारसँग पहल भइरहेको भए पनि कतैबाट रकम व्यवस्थापन नहुँदा पालिकाले आफै कालोपत्रे गर्ने गरी काम भइरहेको छ ।
संघ र प्रदेशबाट सहयोग हुने आश त मारेका छैनौ, पहल पनि भइरहेको नगरप्रमुख बानियाँले बताए । पहाडतिर एक किलोमिटर कालोपत्रे गर्ने करिब पाँच करोड लाग्ने रहेछ । ६ किलोमिटर कालोपत्रे गर्ने करिब १८ करोड लाग्ने रहेछ । काम भइरहेको तीनवटा सडकमा संघ र प्रदेशबाट सहयोग नभए सबै पालिकाले खर्च गर्ने गरी काम भइरहेको नगरप्रमुख बानियाँले बताए । ग्रामीण सडक कालोपत्रे हुन लागेपछि नगरपालिकाका गाउँमा १२ महिना यातायात सञ्चालन हुनेछ ।