कफीको नयाँ मूल्य निर्धारण «

कफीको नयाँ मूल्य निर्धारण

गुल्मी-राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफीको नयाँ मूल्य निर्धारण गरेको छ । बैठककले चालु आर्थिक वर्ष २०७६-०७७ मा कफीको न्यूनतम उत्पादन मूल्य निर्धारण गरेको उप–निर्देशक लक्ष्मण पोख्रेलले बताए ।

नयाँ निर्धारित मूल्यसूची अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रति केजी ८५ रुपैयाँ र ग्रेड ‘बी’ को ७५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी पार्चमेण्ट कफीको हकमा ग्रेड ‘ए’ को ४ सय २५ रुपैयाँ र ग्रेड ‘बी’ को ३ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ । ड्राई चेरी कफीको हकमा ग्रेड ‘ए’ को १ सय ४० रुपैयाँ र ग्रेड ‘बी’ को ९० रुपैयाँ कायम गरिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ ।
यसैबीच गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस मनाइने भएको छ । ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपण अभियानमा हामी सबैको साथ’ भन्ने मुख्य नारासहित गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय कफी दिवस मनाउन लागिएको उप निर्देशक पोख्रेलले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्ड, जिल्ला समन्वय समिति, कफी सुपरजोन, जिल्ला सहकारी संघ, कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्र लगायत विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित सदरमुकाम तम्घासमा बसेको बैठककले यस पटक गुल्मीमा राष्ट्रिय कफी दिवस मनाउने निर्णय गरेको हो ।
वि सं १९९५ मा गुल्मी आँपचौरका स्थानीय हिरा गिरीले बर्माबाट नेपाल फर्कने क्रममा बिउ ल्याएसँगै कफी खेतीको सुरुवात गरेका थिए । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको तथ्यांक अनुसार हाल नेपालका २० जिल्लामा व्यावसायिक रुपमा कफी खेती गरिन्छ । विश्व बजार र आन्तरिक बजारमा यतिबेला १४ देखि १५ हजार मेट्रिकटनसम्म नेपालको अराविका जातको कफीको माग भए पनि नेपालमा हाल ५ सय ३० मेट्रिकटन मात्र कफी उत्पादन हुने गरेको छ ।
नेपालमा अराविका र अर्गानिक जातको कफी उत्पादन हुँदै आएको छ । कफी खेती नेपालमा १२ लाख हेक्टरमा रोपण गर्न सकिने भएपनि हाल करिव २८ सय हेक्टर क्षेत्रफलमा मात्र कफी रोपण र विस्तार गरिएको छ । विश्व बजारमा अराविका र अर्गानिक जातको कफीको माग र यसको मूल्य पनि बढी रहेको बताइएको छ । गुल्मीमा हाल मुसिकोट नगरपालिकासहित विभिन्न स्थानीय सरकारले कफीको विकास र विस्तारमा ठूलो मात्रामा बजेट विनियोजन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्