पूर्वाधार अभावमा बराह ताल ओझेलमा
म्याग्दी– हिउँले ढाकेको अग्ला पहाडको फेदीमा समथर भागमा एउटा सुन्दर बराह ताल पर्यटकको पर्खाइमा छ । रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पहेंली बराह ताल हिमालको फेदीमा गोलो आकारमा छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरा एकै ठाउँबाट अवलोकन गर्न सकिने पहेंली बराह तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ ।
पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेका छ । समुद्री सतहदेखि चार हजार ६ सय मिटरको उचाइमा अवस्थित पहेंली ताल करिब आठ सय मिटरभन्दा बढी लम्बाइ र चार सय मिटर चौडाइमा फैलिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि एक दिन सवारीसाधन र एक दिन पदमार्ग हुँदै पहेंली बराह पुगेका कमल खत्रीले तालको दृश्यले सबै पदमार्गको दुःख मेटाइदिएको बताए ।
उनले थपे, ‘यहाँ आउन जति गाह्रो भएको थियो त्यो यहाँको दृष्यले त्यो दुःख मेटाइदियो तर, यहाँसम्म आउने पदमार्ग नहुँदा निकै गाह्रो भयो ।’ ताल पुगेका म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्काले तालको सौन्दर्य र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिएको बताए । यहाँको प्राकृतिक सौन्दर्यले जति राम्रो छ त्यहाँ पुग्न त्यति मुस्किल भएको खड्काको भनाइ छ ।
भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन । अहिलेसम्म ताल वरपर भेडा पालन गर्ने गोठाला र यार्सागुम्बा टिप्न पुग्ने चिमखोले मात्र त्यस क्षेत्रमा पुग्ने गरेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका गमान गर्बुजाले बताए । यस क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको छ ।
बेनी–चिमखोला–कुईनेमंगले हुँदै धौलागिरि आधार शिविर जाने पदमार्ग हुँदै पुग्न सकिने उक्त तालमा जानका लागि कालीबराह खोलादेखि माथि जानुपर्दछ । खोलासम्म राम्रो पदमार्ग भए पनि खोलादेखि तालसम्म पुग्न जंगल, खोलाको किराना, भीर हुँदै मुस्किलले पुग्न सकिन्छ । चिमखोलाका कृष्ण पुर्जाले पदमार्ग र पर्यटक बस्न मिल्ने सत्तल, ठाटीलगायतका पूर्वधार निर्माण गर्नुपर्ने देखिएको बताए ।
बेनी–रुईसे भेडी ओडार–सोबाङ दुरी हुदै धवलागिरि आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुदै मुस्ताङको तेले निस्कने पर्यटक पदमार्गको डिपिआर गरी यस क्षेत्रको विकासमा पहल गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।