रिकन्डिसन अटोलाई बैंकले ऋण दिन नमानेको गुनासो
काठमाडौं- रिकन्डिसन अटो व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले आफूहरूलाई ऋण दिन नमानेको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले फाइनान्स गर्न नमान्दा बजार विस्तार गर्न असहज भइरहेको बताएका हुन् ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कानुनी सल्लाहकार तथा अधिवक्ता रुद्र ढुंगेलले अहिले नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडीको खरिद बिक्री बढी भइरहेको बताए । ग्राहकहरूले एक/दुई महिना अगाडि मात्रै खरिद गरेको गाडीलाई विदेश वा कहीँ कतै जानु पर्ने कारण देखाएर बिक्री गर्ने गरेको उनले बताए ।
‘अहिले नयाँ गाडीभन्दा पुराना गाडीको व्यापार राम्रो छ, बैंकले फाइनान्स गर्न मानेको भए राम्रो हुन्थ्यो । तर, बैंकले हामीलाई पत्याएका छैनन्,’ उनले भने । कार्यक्रममा संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले यस व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए । बैंक तथा वित्तीय संस्थाले रिकन्डिसनका गाडी र विद्युतीय सवारी साधनमा फाइनान्स गर्न नमानेको उनको गुनासो थियो ।