बेनी–जोमसोम–कोरला सडकको प्रगति ८० प्रतिशत
म्याग्दी– कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दी बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडक पूर्णतामा ढिलाइ भएको छ । विसं २०७३ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडक योजनाको हालसम्म भौतिक प्रगति ८० प्रतिशत छ ।
कोरला नाकालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने उद्देश्यले पहुँचमार्गलाई स्तरोन्नति र पुल निर्माणलाई छिटो सम्पन्न गर्ने गरी बेनी–जोमसोम–कोरला सडक योजना कार्यालय लागे पनि निर्माण व्यवसायीको काममा ढिलासुस्तीले पूर्णता हुन सकेको छैन ।
१० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि योजनाको अवधिलाई आर्थिक वर्ष २०८२/०८३ सम्म लम्ब्याइएको छ ।
सडक र पुल निर्माणका लागि सात अर्बको ठेक्का सम्झौता भएकोमा हालसम्म ६ अर्ब खर्च भएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयका योजना प्रमुख ध्रुव झाले बताए । ‘१०५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य भए पनि हालसम्म ४८ किलोमिटर कालोपत्रे र ८५ मिटर ग्राभेल भएको छ ।’ झाले बेनीमा भएको म्याग्दी, मुस्ताङ र पर्वतका सरोकारवालासँगको छलफलमा जानकारी गराए । ‘ २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेकोमा १० वटाको काम सकिएको छ, पाँचवटा निर्माणाधीन, चारवटाको ठेक्का तोडेको र पाँचवटा ठेक्का प्रक्रियामा बाँकी रहेको छ । मालढुंगादेखि कागबेनीसम्म आठवटा खण्डमा कालोपत्रे गर्ने सम्झौता भएको तीनवटा सकिएको छ भने पाँचवटा जारी छ ।’
सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्व स्वीकृति विना जथाभावी शाखा सडक, निर्माण गरिनु, कमजोर भू–बनोट, नदी कटान र बाढी, पहिरो र कालिगण्डकी नदीबाट ढुंगा, गिटी, बालुवा उत्खनन्मा रोक लगाउनुले निर्माणमा ढिलाइ भएको योजना प्रमुख झाले जानकारी गराए । सजिलो ठाउँमा निर्माण ब्यवसायीले काम गर्ने अप्ठेरो ठाउँमा सुरुवात गर्ने छोड्ने कामलाई समयमै पूर्णता नदिनाले सडकमा आवतजावत गर्ने पर्यटकलाई बर्खाको समयमा सास्ती बन्ने गरेको छ ।
सरोकारवालाको छलफलमा तीन जिल्लाका सरोकारवालाले नदीजन्य पदार्थको ब्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । भारतको सिमाना त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने कालिगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजनाको रूपमा सरकारले बनाएको छ । गण्डकी प्रदेशको भाग्यरेखाको रूपमा रहेको यो सडक पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत, पर्यटन, धार्मिक गन्तव्यको रूपमा विकासको आधारमा महत्वपूर्ण मानिन्छ ।