नेपालगन्जमा जग्गा माफियाको बिगबिगी «

नेपालगन्जमा जग्गा माफियाको बिगबिगी

भूमिसुधार कार्यालय बाँकेका कर्मचारीको मिलोमतोमा मोही नभएको महंगो जग्गामा कर्मचारी र जग्गा माफियाले थाहै नदिई मोही कायम गरेको खुलासा भएको छ ।
नेपालगन्ज–१८ बस्ने नाबालक शिवकुमार कुर्मी, सुरजकुमार बर्मा र ३५ वर्षीया विन्दु कुर्मीको नाममा संयुक्त दर्ता रहेको मनिकापुर–८ क साविक कित्ता नं. ९० बाट कायम कित्ता नं. ३८६ र हाल कायम कित्ता नं. ३९० को क्षेत्रफल २५६.२५ जग्गामा कर्मचारीले भवनियापुर–८ हाल नेपालगन्ज २४ बस्ने नारायण कुर्मीको नाममा मोही कायम गरेका हुन् ।
मोही नै नभएको जग्गामा अचानक जोतभोग गरी बाली बुझाएको विषयमा नारायण कुर्मीले जग्गा बाँडफाँड गरी पाउँ भन्दै भूमिसुधार कार्यालयमा मुद्दा दायर गरेपछि जग्गाधनी विन्दु कुर्मी न्याय खोज्न उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा उत्प्रेषणयुक्त परमादेशको रिट दायर गरेकी हुन् । विन्दु कुर्मीले नक्कली मोही भनिएका नारायण कुर्मी, भूमिसुधार कार्यालय बाँके, कार्यालय प्रमुख, मालपोत कार्यालय बाँके, कार्यालय प्रमुख, नापी कार्यालय बाँके र कार्यालय प्रमुखलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।
रामनारायण कुर्मीले उल्लेखित कित्ता जग्गामध्ये पूर्वतर्फबाट १२८.१२ वर्गमिटर जग्गा बाँडफाँड गरी पाउँ भनि भूमि सुधार कार्यालय बाँकेमा मुद्दा दायर गरेका थिए । राम नारायणले जोतगोड नै नगरेको र श्रेस्तामा मोहीको महलमा पनि रामनाराण कुर्मी वा निजको तीन पुस्ताभित्रको कुनै व्यक्तिको नाम नभएको अवस्थामा पनि कर्मचारीले जग्गामा मोही कायम गरेका हुन् ।
मुद्दामा गाउँ सर्जमिन बुझ्ने आदेश भई बाली बुझाएको नबुझाएको सम्बन्धमा समेत कुनै विवरण पेश नभएको जग्गाधनी विन्दु कुर्मीले बताइन् । “बाटो कुलोले छोएको छैन, खेतीयोग्य जग्गा हो,” विन्दुले भनिन्, “मोही र जग्गाधनीबीच जग्गा बाँडफाँड गर्दा माग बमोजिम छुट्याई दिएमा फरक पर्ने छैन भनि केही व्यक्तिले सर्जमीनसमेत गरेका छन् ।”
सोही सर्जमिनका आधारमा कित्ता नं.३९० को २५६.२५ वर्गमीटर जग्गा मध्ये पूर्वतर्फबाट १२८.१२ वर्गमीटर मोही हिस्सा छुट्याई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (घ) बमोजिम बाँडफाँडसमेत हुने ठहर्छ भनि असार ३० गते भूमि सुधार कार्यालय बाँकेले निर्णय गरेपछि विवाद बल्झिएको हो ।
जग्गाको विस्तृत विवरणमा साविक फिल्डबुक हेर्दा उक्त जग्गा बाँके मनिकापुर–८ क कित्ता नं. ९० को १८ कठ्ठा १५ धुर छ । कित्ता नं. ९० को जग्गा कित्ताकाट हुँदा कित्ता नं. ३८५ को १५ कठ्ठा ८ धुर जग्गा नयाँ विमानस्थल आयोजना नेपालगन्जको नाममा र कित्ता नं. ३८६ को ३ कठ्ठा ७ धुर जग्गा ससुरा जुगनु कुर्मीको नामबाट बिन्दु कुर्मीलगायतको नाममा श्रेस्ता कायम भएको थियो ।
“जग्गा सर्भे नापी बमोजिम साविक कित्ता नं. ९०, नयाँ नापीबाट कायम भएको कित्ता नं. ९२ र केही जग्गा कित्ता नं. ७९ समावेश भइ नापी भएको जग्गा हो,” विन्दु कुर्मीले भनिन् ।
“कार्यालयले नियम प्रक्रिया नपुगेका ब्यक्तिलाई मोही हक दिने कुरा हुँदैन,” बाँकेका भूमि सुधार अधिकारी प्रेमबहादुर दौल्यालले भने, “मोही प्रमाणित गर्ने काम मोही आफैंको हो ।” उनले सुरु नापी फिल्डबुक, भूमिसुधारको १ नं. लगत, २ नं. र १६ नं. मोही दर्ता किताबबाट पनि कुन ब्यक्ति मोही हो होइन भन्ने प्रमाणित गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्