Logo

वैदेशिक रोजगारी

मृतकका परिवारले पाउने सहयोग रकम बढाउने तयारी

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहयोग रकम ७ लाखबाट बढाएर १० लाख बनाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आइतबार आफ्नो १०० दिनको कार्य प्रगति सार्वजनिक गर्दै क्षतिपूर्ति रकम बढाउन लागिएको जानकारी दिएका हुन् ।

उपचार खर्च र आर्थिक सहयोगको अन्तिम निर्णय भने वैदेशिक रोजगार बोर्डले गर्नुपर्छ । मन्त्री अर्यालका अनुसार रोजगारीका क्रममा विदेशमा बिरामी भई उपचार गर्न रकम लिएका श्रमिकको मृत्यु भए आर्थिक सहयोगसमेत दिने तयारी सरकारको छ । यसअघि उपचार खर्च लिएका श्रमिकको मृत्यु भए आर्थिक सहयोग पाउनेबारे कानुनी प्रष्टता थिएन । अब उपचार खर्च लिएर उपचारकै क्रममा मृत्यु भए पनि अर्को आर्थिक सहयोगबापतको रकम दिइने छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी तथा मृतकका सन्ततिको शिक्षालगायतमा गत वर्ष ८५ करोड रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । गत वर्ष एक हजार २ सय ८ नेपालीले विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाएका थिए । उनीहरुका आफन्तलाई वैदेशिक रोजगार बोर्डले ६५ करोड ५१ लाख आर्थिक सहयोग गरेको थियो । वर्षेनि अर्बौं रुपैयाँ रेमिटेन्स पठाउने श्रमिकको सामाजिक सुरक्षा राम्रो बनाउने लक्ष्यसहित सरकारले विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्दै आएको छ ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को रिपोर्टअनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४५ महिलासहित कुल १ हजार २ सय ८ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको छ । त्यसअघिको वर्ष विदेशमा मृत्यु भएर परिवारले बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार ४ सय ७९ थियो । बोर्डका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या केही घटे पनि आर्थिक सहायता रकमको दायित्व बढेको छ ।

विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोड्दा विदेशमा मृत्यु हुनेको संख्या अझ बढी हुन्छ । गत वर्ष अंगभंग, बिरामी भएका श्रमिकको संख्या ३८० थियो । यस्ता श्रमिकका लागि लगभग १० करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिएको थियो ।

बोर्डले गत वर्ष ११२ जना कामदारका परिवारलाई औषधी उपचार सहयोगका लागि ५६ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । यसैगरी विभिन्न श्रम गन्तव्यमा अलपत्र परेका श्रमिकको उद्धारका लागि नियोगसँग समन्वय गरी १६७ श्रमिकको उद्धारका लागि ४३ लाख रुपैयाँ सहयोग गरेको थियो । यसैगरी विदेशमा मृत्यु भएका मध्ये ८१८ श्रमिकको शव गृह जिल्ला ढुवानी गर्न २ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो । यसरी नै विदेशबाट ३१२ श्रमिकको शव झिकाउन २ करोड ८५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । सबैभन्दा कम मृत्युदर यूएईमा ०.२१ प्रतिशत, कतारमा ०.२४ प्रतिशत, साउदी अरबमा ०.३९ प्रतिशत र सबैभन्दा बढी मलेसियामा ०.८३ प्रतिशत छ ।

विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता पाउने श्रमिकका परिवार बढ्दै गइरहेको बोर्डले सार्वजनिक गरेका वार्षिक प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिइँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै खर्चसमेत वृद्धि हुँदै आएको छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइन गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको हो ।

यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोेधन भएर श्रमस्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि क्षतिपूर्ति पाउनेको संख्या वृद्धि भएको बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्