सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।
सहकारी छानविन सम्बन्धि कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचिहरु पनि तय गरेको छ ।
संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूचि पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।
विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरुको तथ्यहरु संकलन गर्ने, जानकारीहरु लिने पनि उल्लेख गरिएको छ । विगतका सहकारी सम्बन्धि प्रतिवेदनहरु विशेष समितिमा अधिकांश आइसकेको र आउन बाँकि पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएकोको विशेष समितिका सभापति थापाले बताए ।