Logo

सिँचाइका ९० योजना सम्पन्न

पर्वत– खेतबारीमा बाह्रैमास सिँचाइ योजना पुर्‍याउने उद्देश्यले पर्वतका सात पालिकामा निर्माणाधीन योजनामध्ये हालसम्म ९० वटा सिँचाइ योजनाको काम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार ९० योजनाको काम सम्पन्न भएको हो । अहिले पर्वत जिल्लामा सिँचाइका साना ठूला गरी ११७ वटा योजना छन् ।

तीमध्ये ९० वटा योजनाको काम सम्पन्न भएको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए । कार्यालय प्रमुख अधिकारीका अनुसार थप २० वटा योजना सम्पन्न हुने चरणमा छन् । असार मसान्तसम्म अधिकांश योजना पूरा हुने उनले जानकारी दिए । हरेक योजना पूर्ण रूपमा सम्पन्न हुने नभई चालु आर्थिक वर्षका लागि विनियोजन बजेटले गर्न सकिने काम सकिएको अधिकारीले बताए । जिल्लाका अधिकांश योजना बहुवर्षे रहेका छन् भने केही योजना छोटो अवधिका समेत छन् ।

छोटो अवधिका योजनामध्ये झण्डै एक दर्जन योजना सम्पन्न भई कृषकले सिँचाइको सुविधासमेत पाइसकेको अधिकारीले बताए । ती योजना मर्मत तथा स्तरोन्नति, लिफ्ट, बोरिङ्गलगायतका हुन् । जिल्लाको जलजला गाउँपालिका–७ मा रहेको पुर्जाखोला सिँचाइ योजना, फलेवास नगरपालिका–६ देविस्थानमा सञ्चालित लिफ्ट बोरिङ्ग सिँचाइ योजना र जलजला गाउँपालिकाकै वडा नं. ७ मा रहेको लुङ्दीखोला–भेडावारी सिँचाइ योजना र मोदी–३ मा रहेको टुहुरेखोल्सी–पूर्णगाउँ सिँचाइ योजना ठूला प्रकृतिका योजना हुन् ।

यिनीहरूको काम पनि धमाधम भइरहेको कार्यालयले जनाएको छ । जिल्लाभर रहेका सिंँचाइ योजनामध्ये स्तरोन्नति गर्नुपर्ने योजनाको काम पनि सकिएको छ । यस वर्ष स्तरोन्तिी, मर्मत र नयाँ सम्पन्न भएका योजनाबाट दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिंँचाइ सुविधा विस्तार भएको पनि कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । कार्यालयका अनुसार अहिले सञ्चालित योजना सम्पन्न गर्नका लागि झण्डै एक अर्ब बजेट आवश्यक पर्दछ ।

योजनाको लागत स्टिमेटअनुसार पर्याप्त बजेट विनियोजन नहुँदा समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले बताए । अधिकांश योजना एक करोडदेखि तीन करोडसम्मका छन् । कार्यालयमा चालु आर्थिक वर्षका लागि विनियोजित भएको कुल १८ करोड ९३ लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म १३ करोड २८ लाख रुपैया खर्च भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशमै उत्कृष्ट बनेको यो कार्यालयले चालु आर्थिक वर्षका जेठ अन्तिम सातासम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय प्रगति ७० प्रतिशत पुगेको जनाएको छ ।

सिञ्चाइका योजनाको संख्या उल्लेख्य भए पनि कतिपय पुराना र क्रमागत योजनामा नियमित बजेट विनियोजन नहुँदा भग्नावशेषमा परिणत भइसकेका छन् । नयाँ योजना थपिने तर पूरा योजना सम्पन्न गर्न बजेट विनियोजन नभएका कारण जिल्लाभर झण्डै ४० वटा पुराना योजना अधुरै रहेको कार्यालयले जनाएको छ । संघ र प्रदेश सरकारमा योजना माग गर्दा एकीकृत रूपमा नभई पहुँचको आधारमा माग गरिएका कारण पनि पुराना योजना अलपत्र बन्ने गरेका हुन् ।

अहिले पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टरमात्र रहेको कार्यालयले जनाएको छ । अहिले सञ्चालन भएका योजना सम्पन्न भएमा जिल्लाको अधिकांश भागको जमिन सिञ्चित हुने कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्