Logo

दुई वर्षमा ११७ किमि सडक कालोपत्रे

जुम्ला– कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको हो । गत आवमा सरकारले ७८.९५ किमि र चालु आवको जेठ १५ गतेसम्म ३८.१८ किमि कालोपत्रे गरेको तथ्यांक भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयका सूचना अधिकारीका अनुसार २३ महिनाको अवधिमा सरकारले ४८१.७५ किमि सडक ग्राभेल/खण्डस्मित गरेको छ । चालु आवको हालसम्म ४७.७४ किमि ग्राभेल/खण्डस्मित, ५७.१२ किमि स्तरोन्नति र नाला निर्माण, २०५.३७ किमि कच्ची कटान गरी सडक बनाइएको कार्कीले बताए । गत आवमा २१६.२८ किमि स्तरोन्नति र नाला निर्माण तथा दुई हजार ४२४.११ किमि कच्ची कटान गरेर सडक गरेको थियो ।

उनका अनुसार विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश सडक कालोपत्रे भइसकेका छन् । प्रदेशका १० जिल्लामध्ये सबैभन्दा प्रदेश राजधानी वीरेन्द्रनगरमै हुनुले विकास राजधानी केन्द्रित बढी भएको स्पष्ट हुन्छ । प्रदेश सरकारबाट काम भइरहेका दर्जनौं सडक कालोपत्रे भएसँगै राजधानीको पूर्वाधारको अवस्थामा निकै सुधार आएको सूचना अधिकारी कार्कीले उल्लेख गरे ।

उनका अनुसार सुर्खेतपछि दैलेख, रुकुम पश्चिम र सल्यानमा बढी कालोपत्रे भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा ५५ वटा झोलुंगे पुल निर्माण गरेको थियो । चालु आवको हालसम्म १६ वटा निर्माण भइसकेका छन् । ३० वटा सडक पुल, ११ सार्वजनिक भवन, जनता आवास कार्यक्रममार्फत संघ सरकारको बजेटबाट दुई अजार ५१५ घर निर्माण भएका छन् भने जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट हालसम्म ३४८ घर निर्माण भएको प्रगति विवरणमा उल्लेख छ । विपन्नको घर कार्यक्रममार्फत् २९१ घर निर्माण भएका छन् ।

यसैगरी चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । जसमध्ये जेठ दोस्रो सातासम्म कुल बजेटको २८.८१ प्रतिशत बजेटमात्रै कार्यान्वयनमा आएको छ । कर्णालीमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत गत वर्ष र चालु आवको हालसम्म ९९ सडक निर्माण भएको मन्त्रालयले जनाएको छ । यो कार्यक्रमअन्तर्गत १८२ भवन बनेका छन् भने विद्युतीय संरचना सात, तटबन्ध तथा बाँध निर्माण ३९, सिँचाइ आयोजना ६८ र खानेपानी आयोजना ४१ वटा बनेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्