व्यावसायिक तरकारी खेतीमा किसान अग्रसर

र्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका छन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिका–२ पोखराथोक, वडा नम्बर ३ खिदिम र वडा नं. ७ अड्गुरीका कृषक व्यावसायीक तरकारी उत्पादन गर्न लागि परेका हुन् ।
निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्रले एक वडामा ६ वटाका दरले तीन वडामा १८ वटा समूह बनाएर काम गरिरहेको छ ।
१८ समूहमा आबद्ध बनाएर पाँच सय कृषकलाई व्यावसायिक तरकारी खेतीमा अग्रसर बनाउन बेमौसमी उत्पादनसम्बन्धी तीन दिनको तालिम तथा अर्गानिक तरकारीको उत्पादन गर्न भन्दै स्थानीय स्तरमा प्राङ्गारिक मल तथा जैविक बिषादी बनाउनेसम्बन्धी दुई दिने तालिम दिइएको छ ।
तालिमसँगै बर्से मौसममा लगाउने उन्नत जातका विउ वितरण गरेको लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले बताए । उनले कृषकका लागि उन्नत जातका गोलभेंडा, काँक्रो, घिरौंला, तोराये, लौका, सिमला मृच, करेला, फर्सी, मुला, बोडी, सिमी, भिण्डी, धनीयालगायतका तरकारीको विउ वितरण गरेको बताए ।
प्लास्टिकको घरभित्र गोलभेंडा खेती गर्न प्लास्टिकको टनेल बनाउने तालिम र १ सय ५० टनेल वितरण गरिएको छ । टनेलसँगै उत्पादन भएको गोलभेंडा बिक्री गर्न क्यारेटसमेत वितरण गरि कृषकलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गरिएको हो ।
तरकारीमा बढी विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्राे, पिरो, तितोलगायतका वस्तुको प्रयोग गरेर पाणिनी जैविक विषादी बनाउन सिकाइएको जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले बताए ।
पाणिनी गाउँपालिकालाई कृषि र पशुपालनमा नमुना बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । उनले उत्पादनमुखी र व्यवसायीकमुखी कृषकलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
–घनश्याम पौडेल