Logo

वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं– नेपालले विश्व वातावरण दिवसको अवसर पारेर पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा सम्मेलन गरिएको थियो ।

डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दा समाधानका लागि सरकारी कर्मचारी, उद्योग व्यवसायी, वातावरणविद् र नागरिक अगुवालाई एकसाथ ल्याएको थियो । सम्मेलनमा वातावरण तथा वन मन्त्री माननीय नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि विभिन्न कदम चालेको बताए ।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले भने, ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।’

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीबीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बुढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरुको सहभागिता रहेको थियो । सम्मेलनले सर्कुलर अर्थ व्यवस्थालाई प्रवद्र्धन गर्न फोहोरलाई उपयोगी स्रोतमा परिणत गर्ने उपायबारे छलफल गरिएको थियो ।

छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथालगायत हिमालमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब एक हजार प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्